गलकोट (बागलुङ), साउन ७ गते । मनसुन सक्रिय नहुँदै बागलुङको जैमिनी नगरपालिका-९, पैयूथन्थापमा ठुलो बाढी आयो । गत असार २४ गते रातिको बाढीका कारण २५० रोपनी खेत, एक दर्जन खानेपानीका मुहान, सिँचाइ कुलो र केही घर गोठमा क्षति पुर्यायो ।
उक्त बाढीको मुख्य कारण अव्यवस्थित ग्रामीण सडक थियो । सडक खन्दा फालिएको माटोसहितको लेदोले खोला थुनिएका कारण बाढी आएर केही समयअघि कालुङखोला आसपासको क्षेत्रमा ठुलो क्षति पुर्याएको थियो । यस्ता अव्यवस्थित सडकका कारण बागलुङका अधिकांश खोलानालामा बाढीको जोखिम छ ।
हचुवाको भरमा खनिएका ग्रामीण सडकका कारण भू-क्षयका घटना बढिरहेका छन् । एक अध्ययनले जिल्लाबाट बर्सेनि ८ लाख २२ हजार ६२१ टन टन माटो भू-क्षयका कारण बगेर गएको तथ्याङ्क प्रस्तुत गरेको छ । भू-तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले जिल्लामा खेतीयोग्य जमिन, वन, खोलानाला जमिनको नक्सा तयार गरेर माटो बगेको अवस्था पत्ता लगाएको हो ।
संशोधित विश्वव्यापी माटो क्षति समीकरण (रिभाइज्ड युनिभर्सल सोइल लस इक्वेसन) विधिमार्फत माटो बग्ने मात्रा पत्ता लगाइन्छ । सोही विधि प्रयोग गरी सो तथ्याङ्क पत्ता लागेपछि भू-तथा जलाधार व्यवस्थापन कार्यालयले चिन्ता व्यक्त गरेको छ ।
कार्यालयले स्थानीय तहले नीतिगत रूपमै भू-क्षय नियन्त्रणको योजना बनाएर कार्यान्वयन गर्न नसके ठुलो दुर्घटना निम्तिन सक्ने जनाएको छ । धौलागिरिको चार र कास्कीका गरी पाँच जिल्ला कार्यक्षेत्र रहेको भू-तथा जलाधार व्यवस्थापन कार्यालयले भू-क्षय नियन्त्रणका लागि स्थानीय तहले नीतिगत रूपमै सुधार नगरे ठुलो विनाश ल्याउने जनाएको हो ।
कार्यालयका प्रमुख तथा वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शम्भुकुमार मिश्रका अनुसार भू-क्षय नियन्त्रणका लागि हाल भइरहेको विकास निर्माण मुख्य बाधक हो । उहाँले बायोइन्जिनियरिङमा ध्यान दिन स्थानीय तहसँग सहकार्य गर्दै अघि बढेको बताउनुभयो । स्थानीय तहले विकास निर्माणका लागि पूर्वाधारको लागत तयार गर्दा बायोइन्जिनियरिङ अर्थात हरित व्यवस्थापनमासमेत रकम छुट्याउन सकेमा भू-क्षय नियन्त्रण हुने मिश्रको भनाइ छ ।


















