विज्ञापन

विद्युत् काटेर उद्योग ठप्प पार्ने काम तत्काल रोक्न उद्योग वाणिज्य महासंघको माग

विज्ञापन
Image
विज्ञापन

४ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्रका उद्योगहरूको विद्युत लाइन काट्ने र उद्योगीलाई धरपकड गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता गतिविधि तत्काल रोक्न माग गरेको छ ।

महासंघले कानुनी प्रक्रियाको सम्मान गर्दै संवाद र सहमतिको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो । नेपाल सरकार अन्तर्गत औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडबाट सञ्चालित १० वटा औद्योगिक क्षेत्रहरूमा स्थापित करिब ७०० उद्योगहरूमाथि हालै प्रशासनिक बल प्रयोग गरी विद्युत काटिएको भन्दै महासंघले गम्भीर आपत्ति जनाएको छ ।

महासंघका अनुसार औद्योगिक क्षेत्रको जग्गा भाडा वृद्धिको विवादसम्बन्धी मुद्दा हाल अदालतमा विचाराधीन छ । सर्वोच्च तथा उच्च अदालतको फैसलाउपर लिमिटेड आफैले सञ्चालक समितिको निर्णयानुसार पुनरावलोकनको मुद्दा दायर गरिसकेको अवस्थामा अकस्मात लाइन काट्नु कानुनी राज्य र व्यावसायिक शिष्टाचार विपरीत भएको महासंघको ठहर छ ।

उद्योगीहरूले भाडा दरको स्पष्ट विवरण माग गर्दा उपलब्ध नगराइएको र अकस्मात् ७ दिनको छोटो अवधि दिएर बक्यौता तिर्न ताकेता गर्दै विद्युत काट्नुले उद्योग क्षेत्रमा अनावश्यक मानसिक दबाब सिर्जना गरिएको महासंघले जनाएको छ ।

वर्तमान समयमा शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन उत्पादनमूलक उद्योगहरूलाई प्रोत्साहन र संरक्षण गर्नु राज्यको प्राथमिक दायित्व भएको महासंघले स्मरण गराएको छ ।

साथै, उद्योगहरूलाई निर्वाध सञ्चालनका लागि सहजीकरण गर्ने दायित्व लिमिटेडको पनि भएको हुँदा यस्तो संवेदनशील समयमा विद्युत लाइन काटेर उत्पादन ठप्प पार्ने र उद्योग नै बन्द गर्नुपर्ने स्थिति सिर्जना गर्नु कुनै पनि दृष्टिकोणबाट न्यायसंगत नहुने महासंघको भनाइ छ ।

यस्ता कदमले स्वदेशी लगानीकर्ताहरूको मनोबल गिराउने र स्वदेशी तथा विदेशी लगानीलाई समेत निरुत्साहित गर्ने चेतावनी महासंघको छ ।

उद्योगको उत्पादन र उत्पादकत्वलाई प्रोत्साहन तथा संरक्षण गर्नु सबैको दायित्व भएको भन्दै महासंघले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसमक्ष उद्योगहरूलाई त्रसित नपार्न र उत्पादन प्रवाह रोक्ने खालका सबै गतिविधिहरू तत्काल रोक्न माग गरेको छ ।

कानुनी प्रक्रियाको सम्मान गर्दै संवाद र सहमतिको माध्यमबाट मात्र जग्गा भाडाको वैज्ञानिक र व्यावहारिक समाधान खोज्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्दै महासंघले यस समस्या समाधानका लागि सहजकर्ताको भूमिका निर्वाह गर्न आफू तयार रहेको समेत प्रष्ट पारेको छ

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन