विज्ञापन

हराएकाे ३० वर्षपछि दोलखा फर्किए आकाश भैरवका ऐतिहासिक मुकुट

विज्ञापन
Image
विज्ञापन

करिब ३० वर्षअघि दोलखाबाट चोरी भएका ‘हाथ्व’ अर्थात् आकाश भैरवका दुई अमूल्य मुकुट अमेरिकाबाट कूटनीतिक र कानुनी प्रक्रियामार्फत स्वदेश फिर्ता भएका छन्।
यी मल्लकालीन मुकुटहरूलाई राजकीय सम्मान र परम्परागत धार्मिक विधिअनुसार दोलखामा पुनःस्थापना गरिएको छ।
वि.सं. २०५० र २०५१ सालमा चोरी भएका यी मुकुटहरूले ३० वर्षदेखि दोलखाको मौलिक जात्रा र धार्मिक परम्परालाई प्रभावित पारेका थिए।
काठमाडौँ । करिब ३० वर्षअघि दोलखाबाट चोरी भएका ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेका ‘हाथ्व’ अर्थात् आकाश भैरवका दुई अमूल्य मुकुट अन्ततः आफ्नै थातथलो दोलखा फर्किएका छन्।

अमेरिकाका विभिन्न सङ्ग्रहालयबाट कूटनीतिक र कानुनी प्रक्रियामार्फत स्वदेश ल्याइएका यी मल्लकालीन मुकुटहरूलाई बिहीबार राजकीय सम्मान र परम्परागत धार्मिक विधिअनुसार दोलखामा पुनःस्थापना गरिएको हो।

राष्ट्रिय सङ्ग्रहालय, छाउनीबाट कडा सुरक्षाबिच ल्याइएका मुकुटहरूको सदरमुकाम चरिकोटदेखि नै स्थानीय बासिन्दा, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरूको उपस्थितिमा भव्य स्वागत गरिएको थियो। चरिकोटदेखि ऐतिहासिक दोलखा बजारसम्म बाजागाजा, धूप, अबिर र फूलमालासहित नगर परिक्रमा गराइएको थियो। ३० वर्षपछि आफ्ना कुलदेवता फर्किएको ऐतिहासिक क्षणमा स्थानीयवासीहरू भावुक बनेका थिए। सडकका दुवै किनारमा लामबद्ध भएर स्थानीयले देवताको स्वागत गरेका थिए भने दोलखा बजार उत्सवमय बनेको थियो।

नगर परिक्रमा सम्पन्न भएपछि १६औँ शताब्दीका यी मुकुटहरूलाई गुरुकोट टोलस्थित नक्छे प्रधान खलकको कुलघरमा लगिएको थियो। परम्परागत र तान्त्रिक विधिअनुसार अभिषेक, स्वागत र प्राणप्रतिष्ठा पूजा गरी देवतालाई पुनःस्थापना गरिएको छ।

यी मुकुटहरू मल्लकालमा निर्मित भएको र तत्कालीन दोलखाका राजा गोविन्ददेवका पाँच सन्तानबिच अंशबन्डा हुँदा नक्छे प्रधान खलकको भागमा परेको इतिहास रहेको छ। स्थानीय द्वाल्खा भाषामा ‘हाथ्व’ भनिने यी मुकुटहरू वर्षभरि कुलघरको गोप्य कोठामा राख्ने र इन्द्रजात्राका अवसरमा मात्रै सर्वसाधारणलाई दर्शन गराउने परम्परा थियो।

वि.सं.२०५० र २०५१ सालमा दोलखाको गुरुकोट टोलस्थित नक्छे प्रधान खलकको कुलघरबाट यी मुकुटहरू चोरी भएपछि विगत ३० वर्षदेखि दोलखाको मौलिक जात्रा र धार्मिक परम्परा प्रभावित भएको थियो।

नेपालका हराएका सम्पदाको खोजी गर्ने अभियान ‘लस्ट आर्ट्स अफ नेपाल’ को अनुसन्धानबाट एउटा मुकुट अमेरिकाको टेक्सासस्थित डलास म्युजियम अफ आर्ट र अर्को न्युयोर्कस्थित रुबिन म्युजियम अफ आर्टमा रहेको पत्ता लागेको थियो।

त्यसपछि पुरातत्त्व विभाग, नेपाल हेरिटेज रिकभरी क्याम्पेन, अमेरिकी अनुसन्धान निकाय तथा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासबिचको समन्वयमा कानुनी प्रक्रिया अघि बढाइएको थियो। आवश्यक प्रमाण संकलनपछि मुकुटहरू जफत गरी नेपाल फर्काइएको थियो।नेपाल ल्याइएपछि केही समय राष्ट्रिय सङ्ग्रहालय, छाउनीमा संरक्षणमा राखिएका मुकुटहरूलाई अन्ततः नक्छे प्रधान खलकका ज्येष्ठ पुजारी ८३ वर्षीय यज्ञकुमार प्रधानको नेतृत्वमा दोलखा लगिएको हो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन