२१ साउन, काठमाडौं । नेपालमै विकसित बहुप्रकोप पूर्वसूचना प्रणाली ‘मैना’ को परीक्षण सफल भएको छ ।
इनोभेटिभ इन्जिनियरिङ सर्भिसेस प्रालिले विकास गरेको उक्त प्रणालीले बाढी, पहिरो, डुबान, हिमताल विस्फोट, वन डढेलो, औद्योगिक दुर्घटनालगायत विभिन्न विपद्का बेला समयमै चेतावनी सूचना प्रवाह गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका डिजाइनकर्ता तथा कार्यकारी अध्यक्ष एवं प्राविधिक प्रमुख इन्जिनियर अनुप खनालका अनुसार मानिसको आवाजको नक्कल गर्न सक्ने तथा सूचना प्रवाहसँग जोडिने विशेषता भएकाले यस प्रणालीको नाम ‘मैना’ राखिएको हो ।
उनका अनुसार प्रणालीले बाढी, पहिरो, डुबान, बाँध दुर्घटना, औद्योगिक विपद् तथा अन्य आकस्मिक घटनाका बेला समुदायलाई समयमै सूचना प्रवाह गर्न सक्छ । यसमार्फत एसएमएस, इन्टरनेट, स्याटेलाइट नेटवर्क तथा वायरलेस रिमोट कन्ट्रोलमार्फत तत्काल चेतावनी सन्देश पठाउन सकिन्छ । साथै विभिन्न स्थानीय भाषामा पूर्व–रेकर्ड गरिएका वा प्रत्यक्ष (लाइभ) आवाज सन्देशसमेत प्रसारण गर्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
त्यस्तै ठूलो बाढी वा अत्यधिक वर्षा हुँदा सेन्सरबाट प्राप्त वास्तविक समय (रियल–टाइम) को सूचनाका आधारमा प्रणालीले स्वचालित रूपमा साइरन बजाएर चेतावनी दिने सुविधा पनि रहेको खनालले बताए ।
पहिलो संस्करणको ४० मुनिका उत्कृष्ट ४० युवाको सूचीमा समेत परेका इन्जिनियर खनालका अनुसार ‘मैना’ प्रणाली नेपालकै भौगोलिक अवस्था र सञ्चार पूर्वाधारलाई ध्यानमा राखेर विकास गरिएको हो ।
सौर्य ऊर्जाबाट सञ्चालन हुने तथा केन्द्रबाटै सबै उपकरणको अवस्था अनुगमन गर्न सकिने भएकाले यो प्रणाली समुदाय, स्थानीय सरकार, जलविद्युत् आयोजना, उद्योग तथा विपद् व्यवस्थापन निकायका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।
‘मैना’ परीक्षणको क्रममा प्रसारित नमूना सूचना –
नेपाल जलवायु परिवर्तन, अव्यवस्थित भू–उपयोग तथा बढ्दो मानवीय गतिविधिका कारण बाढी, पहिरो, डुबान, हिमताल विस्फोट, वन डढेलो, चट्याङ तथा औद्योगिक दुर्घटनाजस्ता विभिन्न विपद्को उच्च जोखिममा रहेको देश हो । पछिल्ला वर्षमा एकल प्रकारका विपद्सँगै बहुप्रकोप (मल्टी–हाजार्ड) का घटना पनि बढ्दै गएकाले समयमै सूचना प्रवाह गरी जनधनको क्षति न्यूनीकरण गर्न सक्षम पूर्वसूचना प्रणालीको आवश्यकता बढ्दै गएको छ ।
जलवायु परिवर्तनका कारण नेपालमा बहुप्रकोपको जोखिम निरन्तर बढिरहेको बताउँदै जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुली भन्छन्, ‘भविष्यका चुनौती सामना गर्न यस्ता बहुप्रकोप पूर्वसूचना प्रणालीको आवश्यकता दिनप्रतिदिन बढ्दै गएको छ ।’
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव गोकर्ण पन्थका अनुसार नेपालका अधिकांश जलविद्युत् आयोजना बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को प्रत्यक्ष जोखिममा छन् । यस्ता बहुप्रकोप पूर्वसूचना प्रणालीको प्रभावकारी प्रयोग गर्न सके जलविद्युत् आयोजनामा हुन सक्ने जनधनको क्षति उल्लेखनीय रूपमा न्यूनीकरण गर्न सकिने उनको भनाइ छ ।
सामुदायिक प्रकोप व्यवस्थापन समितिको राष्ट्रिय सञ्जाल नेपाल (एन–सीडीएमसी) का राष्ट्रिय अध्यक्ष श्यामबाबु कट्टेलले विपद्लाई पूर्णरूपमा रोक्न नसकिने भए पनि समयमै सूचना पुगे जनधनको क्षति उल्लेखनीय रूपमा घटाउन सकिने बताए ।
‘विपद् रोक्न सकिँदैन, तर समयमै सूचना पुगेमा धेरै जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ। त्यसैले यस्ता आधुनिक पूर्वसूचना प्रविधिको प्रयोग बढाउन आवश्यक छ,’ उनले भने ।


















