१० जेठ, पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर (सीमा) भित्र बनेका संरचना हटाउन डोजर चलाइएको छ । वर्षौंदेखि विवाद र राजनीतिक मुद्दा बनेको फिर्केको संरचना हटाउएर महानगरले करिडोर बनाउने अभियान थालेको हो ।
पोखरा महानगरका मेयर धनराज आचार्य र सम्बन्धित वडाध्यक्षको नेतृत्वमा बिहान १० बजेदेखि फिर्के खोलाका ३ ठाउँबाट एकसाथ डोजर चलाइएको हो ।
पहिलो चरणमा जिराे किमी र सिर्जना चाेककाे बीचमा फिर्केमाथि बनेका संरचना हटाइएको छ । यहाँबाट सुरु भएको डोजरले लायन्सको भवनबाट भत्काउँदै वडानम्बर ६ तर्फ आउने छ ।
अर्को डोजरले वडा नम्बर २ र १८ को सिमाना अँधेरी कुनादेखि संरचना भत्काउन सुरु गरी वडा वडा नम्बर ४ तर्फ आउने छ । अर्को डोजरले वडा नम्बर ४ र ५ को सिमाना फिर्केपुल बूढानीलकण्ठ मन्दिरदेखि भत्काउन सुरु गरी वडा नम्बर ५ र ८ तर्फ आउने छ ।
२०८० साल असारमा गरिएको फिर्के खोला नापजाँच प्रतिवेदनअनुसार खोलाघरमा निर्माण भएका सबै प्रकृतिका संरचनाहरु हटाउन लागिएको हो । प्रतिवेदनअनुसार खोला घरभित्र १६० वटा संरचना पर्छन् । खोलाघरमा संरचना निर्माण गर्नेमा प्रदेश प्रहरीकै कार्यालयलगायत सरकारी कार्यालय, समाजघरदेखि व्यक्तिका घरसम्म पर्छन् ।
पोखरा महानगरले जेठ ३ गते पछिल्लो पटक सम्पूर्ण स्थायी तथा अस्थायी संरचनाहरू जेठ ९ गतेभित्र आफैं हटाउन सार्वजनिक सूचना जारी गरेको थियो । त्यो समयावधि सकिएलगत्तै आज डोजर चलाएर हटाउन लागिएको हो ।
महानगरले डोजर चलाउने सूचना जारी गरेसँगै फिर्के खोलाभित्र बनेका फोटो ग्राफर संघ, लायन्स क्लब र केही स्थानीयले संरचना आफैं पनि हटाएका थिए ।

















