२१ जेठ, चितवन । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकाको आफ्नै नयाँ प्रशासकीय भवन निर्माण सुरु भएको छ । पूर्वी नवलपरासीका अन्य अधिकांश पालिकाका भने आफ्नै नयाँ प्रशासकीय भवन बनिसकेका छन् ।
बुलिङटार गाउँपालिकाका अध्यक्ष इन्जिनियर दीपेन्द्र सुनारीका अनुसार भ्याटसहित २ करोड ९५ लाख ८८ हजार ८७४ रुपैयाँ लागतमा आफूहरुले पनि नयाँ प्रशासकीय भवन बनाउन लागेको जानकारी दिए ।
स्थानीय तह गठन भएको झण्डै ९ वर्षसम्म पालिकाको आफ्नै भवन नहुँदा सेवाग्राहीलाई सास्ती भएको भन्दै अध्यक्ष सुनारीले अब नयाँ भवन बनेपछि सेवा प्रवाह सहज हुने विश्वास व्यक्त गरे ।
उनका अनुसार एक वर्ष भित्र नै सक्ने गरी भवन निर्माणको काम सुरु गरिएको छ । पालिकाको नाममा पर्याप्त जग्गा नहुँदा र प्राप्तीमा समस्या भएकाले भवन बनाउन ढिलाइ भएको हो ।
अहिले भैरहेको कामचलाउ भवनकै छेउमा नयाँ भवन बनाइँदै छ । २०८२ कार्तिकमा ठेक्का सम्झौता भई निर्माण कार्य अगाडि बढेको भवनको डीपीसीसम्मको काम भएको छ ।
२०८४ वैशाख महिनाभित्र निर्माण सक्नुपर्ने भवनको ठेक्का कैलाङ निर्माण कम्पनी टोखाले लिएको छ । १८ वटा कोठा, हलसहितको भवन ट्रससहित चार तलाको हुने पालिका अध्यक्ष सुनारीले जानकारी दिए ।
२०८० सालदेखि नै आफूले भवन बनाउने प्रकृया अगाडि बढाए पनि विभिन्न समस्याहरुको कारण हुन नसकेको भन्दै अध्यक्ष सुनारीले प्रशासकीय भवन नहुँदा मासिक ३० हजार भाडामा तिरेर केही कार्यालयहरु चलाउनुपर्ने बाध्यता रहेको बताए ।


















