१० असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले महेन्द्रनगरमा कार्यालय रहेको राष्ट्रिय मनी चेन्जर प्रालिको अनुमतिपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले भीमदत्तनगर–४, महेन्द्रनगर, कञ्चनपुरमा कार्यालय रहेको उक्त मनी चेञ्जरको आग्रहमा अनुमतिपत्र खारेज गरेको हो ।
मनी चेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम २२ बमोजिम मनी चेन्जरले स्वेच्छिक रुपमा कारोबार बन्द गर्न केन्द्रीय बैंकमा निवेदन पेश गरेको थियो ।
सोही निवेदन अनुसार केन्द्रीय बैंकले कारोबार बन्द गरी इजाजतपत्र खारेज गरेको जनाएको छ । साथै सो मनी चेन्जरसँग कसैको लेनदेन तथा अन्य सरोकार भएमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र सम्पर्क गर्न पनि केन्द्रीय बैंकले आग्रह गरेको छ ।
प्रतिक्रिया जनाउनुहाेस्


















