तत्कालीन माओवादी कार्यकर्ताहरूले २०६१ साल साउन २७ गते अपहरणपछि पत्रकार थापालाई जिउँदै खाडलमा पुरेका थिए। मेरा दाजु, पत्रकार डेकेन्द्रराज थापाको हत्या भएको साउन २७ गते २२ वर्ष पुगेको छ। तत्कालीन नेकपा (माओवादी) कार्यकर्ताहरूले अपहरणपछि उहाँलाई निर्घात कुटपिट गरेका थिए। बेहोस हुनुभएका डेकेन्द्रलाई धुकधुकी बाँकी रहँदारहँदै खाडलमा पुरेका थिए। डेकेन्द्रको हत्यामा संलग्न लक्षिराम घर्तीले साबिती बयानबाट उनको हत्या कसरी भएको थियो भन्ने विस्तृतमा सार्वजनिक भइसकेको छ।
गत जेठमा तत्कालीन माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दैलेख आउनुभएको थियो। उहाँले हाम्री ८० वर्षीया आमा गङ्गादेवी थापालाई भेट्न खोज्नुभयो। आमाले सुरुमा आनाकानी गर्नुभयो, तर परिवार र आफन्तले अनुरोध गरेपछि भेट्न तयार हुनुभयो।
सदरमुकाममा बस्नुभएका प्रचण्ड खादा बोकेर एकाबिहानै हिँडेर आमालाई भेट्न घरमा आउनुभयो। आमालाई खादा लगाउँदै, आत्मालोचना गर्दै उहाँले तत्कालीन घटनाको बेलिविस्तार लगाउनुभयो। आफ्नै छोराको हत्या विवरण सुन्दा आमा भावविह्वल बन्नुभयो।
घरनजिकै बनाइएको मेरो दाजु डेकेन्द्रको सालिकमा प्रचण्डले माला पनि लगाउनुभयो। तर हत्या भएको दुई दशकपछि घरमै पुगेर डेकेन्द्रकी आमालाई भेट्नु र डेकेन्द्रको सालिकमा माल्यार्पण गर्नु प्रचण्डका निम्ति जति सहज थियो, परिवार, आफन्त र स्थानीयका लागि जिउँदै गाडेर गरेको हत्याको पुनःस्मरण र पीडा अल्झाइदिएको भान हुन्थ्यो।
करिब डेढ महिना अपहरण गरी मानसिक र शारीरिक यातनाबाट अधमरो पारेपछि मध्याह्न समयमा क्रूरतापूर्वक खाल्डोमा पुरेको दिन थियो- २०६१ साल साउन २७ गते। त्यो दिन बिहानैदेखि एउटा विद्यालयको कोठामा बाँधी लाठीले चरम यातना दिएपछि ‘पानी-पानी’ भनिरहेको बेला घिसार्दै नजिकैको जङ्गलमा लगी पुरेको स्थान थियो नौमुले गाउँपालिका-३ द्वारी गाउँमा। प्रत्यक्षदर्शीहरूले त्यसबखत उहाँलाई दिइएको चरम यातनाको कुरा सुन्दा अहिले पनि आङ सिरिङ्ग हुन्छ।
हत्यापछि माओवादीले १० बुँदे आरोपपत्रसहित ‘सफाया किन ?’ भनेर विज्ञप्ति सार्वजनिक गरे पनि एक महिनापछि सार्वजनिक आत्मालोचना गरेको थियो। माओवादी नेता कृष्णबहादुर महराले आत्मालोचनासहितको पत्र २०६१ भदौ २५ गते पठाउँदा हत्यामा संलग्न कार्यकर्ताहरूलाई कारबाही गर्ने आशा गरिएको थियो। त्यसबेला माओवादीले उहाँको हत्या गरेर गलत कामकारबाहीविरुद्ध उठ्दै गरेको असहमतिको आवाजलाई दबाउन खोजेको प्रस्ट देखिन्थ्यो।
दैलेख सदरमुकाममा आउने खानेपानीसम्बन्धी वार्ताका लागि २०६१ असार १२ गते भवानी गाउँमा पुगेका बखत अपहरण गरी उहाँलाई घर फर्किन दिइएन। साउन अन्तिमतिर माओवादीले सार्वजनिक गरेको विज्ञप्तिबाट थाहा भो कि उहाँको हत्या भइसकेको छ।
हत्याको जानकारी आए पनि चार वर्षसम्म पत्रकार डेकेन्द्रको शव लुकाइयो। सो अवधिमा धेरै पटक ‘कि लास कि सास’ भन्दै सदरमुकाममा प्रदर्शन र पटक-पटक माओवादीसँग आग्रह गर्दा पनि सुनुवाइ भएन।
अन्ततः स्थानीय र मानवअधिकारवादी संस्था इन्सेकको पहलमा २०६५ साल भदौको पहिलो हप्ता वर्षायाममा नौमुले गाउँपालिकामा पर्ने साविकको द्वारी गाविस-१ मा रहेको नेरा निमावि नजिकको जङ्गलबाट पत्रकार थापाको चिहानस्थल फेला पर्यो। तत्पश्चात् कडा सुरक्षाका बाबजुद राष्ट्रिय मानवअधिकार आयोगको फरेन्सिक टोलीले कङ्काल मात्रको शव उत्खनन गर्न सफल भएको थियो।
पत्रकार डेकेन्द्रको कङ्काललाई धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरेपछि ‘न्यायको लडाइँ’ झन् उत्कर्षमा पुग्यो। त्यसपछि नेपाल पत्रकार महासङ्घ र एड्भोकेसी फोरमले परिवारको न्यायका लागि बलियो साथ दिए। उहाँको हत्याको राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमा चौतर्फी निन्दा हुन थाल्यो। सञ्चारमाध्यमहरूले प्राथमिकता दिएर घटनालाई कभरेज गरे।
भाउजु लक्ष्मीले ०६५ भदौ १२ गते दैलेख प्रहरीमा कटीका बमबहादुर खड्का, छिउडीपुसाकोटका बमबहादुर खड्का, केशव खड्का र द्वारीका लक्षिराम घर्तीमगरविरुद्ध जाहेरी दिनुभयो। जाहेरीलगत्तै प्रहरीले लक्षिराम घर्तीलाई घरबाट नै पक्राउ गरेपछि उनको बयानका आधारमा प्रहरीले तत्कालीन नेकपा (माओवादी) का भेरी-कर्णाली राज्य समिति सदस्य जयबहादुर शाही, हरिलाल पुनमगर, जिल्ला कमिटीका वरिष्ठ सचिवालय निरक घर्तीमगर र जिल्ला सदस्य वीरबहादुर केसीलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढायो। अदालतको फैसलाअनुसार उनीहरू अहिले सजाय भुक्तान गरी कारागारमुक्त भइसकेका छन्।
तत्कालीन सरकारका कानुनी सल्लाहकार महान्यायाधिवक्ता मुक्ति प्रधानले अनुसन्धान तथा अभियोजन रोक्न मातहतका निकायलाई लिखित उर्दी जारी गरेपछि अनुसन्धान कार्य ५ दिन रोकिएको थियो। कडा सुरक्षाका बीच प्रहरीले अभियुक्तलाई बयान तथा म्याद थपका लागि अदालत र सरकारी वकिल कार्यालय लगेको थियो।
जिल्ला अदालत दैलेखले २०७१ मङ्सिर २१ गते ‘फरार भनिएका माओवादी कार्यकर्ता मुक्ति भनिने बमबहादुर खड्का, अरुण भनिने बमबहादुर खड्का, भक्तिराम लामिछाने र केशव खड्कालाई हाजिर भएका वा पक्रिएका बखत वा अवधि पुगेपछि जगाई कारबाही र किनारा गर्ने’ आदेशसँगै गरेको फैसलाअनुसार मुक्ति भनिने बमबहादुर खड्काबाहेक ती तीन जनालाई प्रहरीले पक्राउ गरेपछि उनीहरू अहिले जिल्ला कारागार दैलेखमा कैदी रहेका छन्। हत्या घटनाका मुख्य अभियुक्त ठहरिएका तर फरार रहेका मुक्तिलाई धेरैचोटि पक्राउ गर्न खोजिएको तर फेला नपरेको जिल्ला प्रहरीले बताउँदै आएको छ।
हत्या भएको २२ वर्षमा न्यायका लागि भएका विभिन्न लडाइँहरूमा आएका धेरै व्यवधानलाई पार गर्दै सार्थकताको बिन्दुमा पुग्न लागेको छ। तर परिवार, आफन्त र शुभेच्छुकलाई अहिले पनि सो घटनाले बेलाबेलामा घोच्न र पीडा दिन रोकिएको भने छैन ।


















