काठमाडौं — पछिल्लो एक साताको अवधिमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) मा परीक्षण गरिएकामध्ये पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। अस्पतालका निर्देशक डा. युवानिधि बसौलाका अनुसार, संक्रमितमध्ये एक जनालाई मात्र अस्पतालमा भर्ना गरिएको छ भने बाँकीलाई घरमै आइसोलेसनमा बस्न सुझाव दिइएको छ।
काठमाडौंस्थित एक निजी अस्पतालबाट चार दिनअघि रेफर भएका संक्रमित बिरामीलाई अहिले टेकु अस्पतालको क्याबिनमा राखेर उपचार भइरहेको छ र उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १६ रहेको छ। महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले भारतमा संक्रमण दर बढेसँगै नेपालमा समेत केही असर परेको बताएका छन्। सीमावर्ती क्षेत्रमा भारतबाट आउने यात्रुहरूमा परीक्षण गर्दा केहीमा संक्रमण भेटिएको तर हाल नयाँ केस खासै नआएको उनले स्पष्ट पारे।
जनस्वास्थ्यविद्हरूका अनुसार कोरोना महामारीको रूपमा नरहे पनि अझै पनि समयसमयमा फाट्टफुट्ट संक्रमण देखिरहन्छ। धुलिखेल अस्पतालका डा. राजीव श्रेष्ठका अनुसार कोरोना अब सामान्य रोगजस्तै रूपमा समाजमा रहने भएकाले सतर्कता आवश्यक छ।
उनले नयाँ भेरियन्टको जोखिम कायम रहेकाले खोप लगाइरहनु, व्यक्तिगत सावधानी अपनाउनु र आवश्यक परीक्षण गरिरहनु सुझाव दिएका छन्। टेकु अस्पतालले आकस्मिक कक्षमार्फत कोरोना विरुद्धको खोप सेवा पनि नियमितरूपमा दिँदै आएको छ।


















