चितवन । चितवनको भरतपुरमा आयोजित रक्तदान महोत्सवमा एकैदिन एकैस्थानमा १,७१७ जनाले रक्तदान गर्दै नेपालमै नयाँ रेकर्ड कायम गरेका छन्। ब्लड डोनर्स सोसाइटी नेपाल चितवन शाखाले शनिबार आयोजना गरेको उक्त महोत्सवमा जिल्लाका सातवटै पालिकाका रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमबाट संकलित रगतमध्ये १,५३६ युनिट नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरमा र १८१ युनिट भरतपुर अस्पताल ब्लड बैंकमा भण्डारण गरिएको छ।
अन्तर्राष्ट्रिय रक्तदाता दिवस जुन १४ का अवसरमा कार्यक्रमको आयोजना गरिएको थियो। सोसाइटीका चितवन अध्यक्ष तथा मूल समारोह समितिका संयोजक एकराज बुर्लाकोटीले रगतको अभावलाई सम्बोधन गर्ने उद्देश्यले यस्तो बृहत् रक्तदान कार्यक्रम गरिएको बताए। उनका अनुसार उपचारका क्रममा रगतको अभाव देखिने भए पनि रक्तदान गर्न सक्ने धेरै मानिस अझै पनि पछि हट्ने प्रवृत्ति देखिएकाले जनचेतनाका लागि महोत्सव आयोजना गरिएको हो।
कार्यक्रमले एकै दिनमा एउटै स्थानबाट सबैभन्दा धेरै रगत सङ्कलन गर्ने नेपालकै कीर्तिमानी कार्यक्रमका रूपमा नयाँ राष्ट्रिय रेकर्ड बनाएको सचिव तथा प्रचार संयोजक विपिन पाठकले जानकारी दिए।
यसअघि २०७४ साल फागुन २५ गते लायन्स क्लब अफ काठमाडौँलगायत संस्थाले काठमाडौँको टुँडिखेलमा १,५०० पिन्ट रगत सङ्कलन गर्दै कीर्तिमान बनाएको थियो। अब भने चितवनको यो प्रयासले सो रेकर्डलाई पार गर्दै नयाँ माइलस्टोन बनाएको छ।


















