विज्ञापन

बाढीपछिको जीवन : रोशी–कोलाँतीको बिर्सिन नसकिने पीडा

विज्ञापन
Image
विज्ञापन

पनौती नगरपालिका–१२ अन्तर्गतको रोशी–कोलाँती क्षेत्र, कहिल्यै नथाक्ने खोला र हरियालीले ढपक्कै ढाकिएको रमणीय गाउँ, अहिले उजाड देखिन्छ। एक वर्षअघिको बाढीले यहाँको मुहार मात्र होइन, जीवन नै बदलिदिएको छ। आज पनि, खोलाको छेउ उभिँदा त्यो दिनको त्रास अझै सजीवझैँ लाग्छ—भत्किएको भान्सा, छतविहीन घर, र खोलामा झुन्डिएको जस्तापाता।

०८१ सालको असोज १० देखि लगातार परेको भीषण वर्षाले रोशीको बहावलाई रौद्र बनायो। खोलाले आफ्नो सीमा नाघ्यो, गाउँको मुटु नै च्यातेजस्तो गर्‍यो। घर, पुल, सडक, खानेपानीको पाइप सबै बगायो। सपना र सम्झना समेत खोलाको भेलमा हराए। अहिले पनि राति पानी पर्न थाल्यो भने बालबालिकाको अनुहार डरले मलिन हुन्छ, वृद्धहरू सुत्न सक्दैनन्।

स्थानीयहरू भन्छन्–उनीहरूलाई खोला होइन, क्रसर उद्योगले डुबाएको हो। खोलाको पेटीमै घर बनाउनु बाध्यता थियो, तर खानी र क्रसर उद्योगहरूले खोलाको बहाव असन्तुलित बनाए। जहाँ खोलाले शान्त ढंगले बग्नुपर्ने थियो, त्यहीँ क्रसर उद्योगबाट निकालिएको बालुवा, ढुंगाको थुप्रो बाढीको सहायक बन्यो। खोलामा थुपारिएको ग्रावेल पानीसँगै बगेर विनाश ल्याउने शक्ति बन्यो।

बुद्धवीर तामाङको भनाइमा, सरकारलाई थाहा थियो कि बर्खा आउँदै छ। तटबन्धको योजना पहिले नै बनाउन सकिन्थ्यो। तर बर्खा आउन कुर्दै योजना बनाइन्छ, अनि असार मसान्तमा कागजमा मात्रै काम हुन्छ। बाढी गएको एक वर्ष भइसक्दा पनि कतिपय ठाउँमा खानेपानीको पाइप अझै झुन्डिएको छ, सडकहरू आवतजावत गर्न जोखिमपूर्ण छन्, र घरको ठाउँमा टहरोमा गुजारा चलिरहेको छ।

माइली आमाको अनुभव अझै हृदयविदारक छ। बाढी आउँदा बच्चाहरूले तानेर ज्यान बचाइन्, तर त्यसपछि चार दिनमै श्रीमानको निधन भयो। अहिले छाप्रोमै जीवन बिताउँदै उनले भनिन्, “घर त बग्यो, बाँच्ने आधार पनि गयो।” यस्तै पीडा बोकेका सयौं विस्थापित छन्, जसले अझैसम्म राहतभन्दा बढी उपेक्षा पाएका छन्।

विजय लामा तामाङको ८० लाख मूल्यको घर बग्दा सरकारले दिएको राहत मात्र ५० हजार थियो। उनले क्रसर उद्योगहरू नियमविपरीत सञ्चालन भइरहेकोमा गम्भीर चिन्ता व्यक्त गरे। उनका अनुसार, खोलाको बहाव बाधिएपछि बाढी विनाशकारी भयो, तर न राज्यले नियन्त्रण गर्‍यो, न क्षतिपूर्ति दियो।

नगरपालिका वडा अध्यक्ष जयराम केसी खत्रीको भनाइमा, केही संरचनागत काम गरिएको छ—जस्तै तटबन्ध, वाल निर्माण, खोला गहिर्याउने काम, राहत वितरण। तर उनले पनि माने कि काम अझै बाँकी छ। उनी भन्छन्, “भाडामा बस्नेहरूको अवस्था चिन्ताजनक छ। असोज महिनासम्म सुरक्षित बस्ती बनाउने योजना बनाएका छौँ।”

तर स्थानीयहरू यसलाई केवल कागजमा सीमित योजना ठान्छन्। उनीहरूको भनाइमा, डोजरले बाटो सफा गर्न सक्छ तर मनका घाउ सफा गर्न सक्दैन। वास्तविक सुरक्षा, पुनर्निर्माण र न्यायबिना उनीहरूको त्रास मेटिँदैन।

बर्खा फेरि सुरु भइसकेको छ। खोला फेरि भरिन थालेको छ। रोशी–कोलाँतीवासीहरू फेरि अर्को रात, अर्को बाढी र अर्को विस्थापनको त्रासमा बाँचिरहेका छन्। एक वर्ष बितिसकेको छ, तर उनीहरूको आँखाको आँसु सुकिएको छैन। यस वर्षको साउन–भदौ शान्त रहेन भने, उनीहरूका लागि पुनर्निर्माण होइन, पुनर्विनाशको कथा दोहोरिन सक्छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन