विज्ञापन

कफीको जन्मस्थल गुल्मीमा व्यावसायिक खेती विस्तार, २७० हेक्टरमा पुग्यो क्षेत्रफल

विज्ञापन
Image
विज्ञापन

नेपालमा कफी खेतीको उद्गमस्थल गुल्मीमा सरकारी प्रोत्साहन र बढ्दो अन्तर्राष्ट्रिय मागका कारण पछिल्लो समय व्यावसायिक कफी खेती उल्लेखनीय रूपमा विस्तार हुँदै गएको छ ।
जिल्लाका एक हजार ८०५ कृषकले करिब २७० हेक्टर क्षेत्रफलमा कफी खेती गर्दै आएका छन् भने थप ४० हेक्टरमा यस वर्ष खेती विस्तार हुने अनुमान गरिएको छ ।
अर्गानिक कफीको माग उच्च रहे पनि सेतो गबारो रोगको प्रकोप र लामो समयसम्म प्रतिफल नआउने चुनौतीले गर्दा कृषकहरूले वैज्ञानिक व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता छ ।

१४ असार, गुल्मी । नेपालमा कफी खेतीको उद्गमस्थल मानिने गुल्मीमा पछिल्ला वर्षहरूमा व्यावसायिक कफी खेती उल्लेखनीय रूपमा विस्तार हुँदै गएको छ । सरकारी प्रोत्साहन, अनुसन्धान तथा बढ्दो अन्तर्राष्ट्रिय मागका कारण जिल्लामा कफी खेती गर्ने किसान र खेतीको क्षेत्रफल दुवै बढिरहेका छन् ।

हाल जिल्लामा करिब २७० हेक्टर क्षेत्रफलमा कफी खेती भइरहेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ, गुल्मीको सहयोगमा हालसम्म १५० हेक्टर क्षेत्रफलमा नयाँ बगान विस्तार गरिएको छ भने यस वर्ष मात्रै थप ४० हेक्टर क्षेत्रफलमा कफी खेती विस्तार हुने अनुमान गरिएको छ । जिल्लाभर करिब एक हजार ८०५ कृषक कफी खेतीमा आबद्ध छन् ।

जिल्लामा व्यावसायिक कफी खेती विस्तार गर्ने कृषकमध्ये मुसिकोट नगरपालिका–५ आँपचौरका युवा कृषक श्रीधर पाण्डे पनि एक हुन् । उनले आँपचौर कफी एण्ड एग्रो रिसर्च प्रालिमार्फत विगत दुई वर्षदेखि व्यावसायिक कफी खेती गर्दै हालसम्म करिब ५०० रोपनी क्षेत्रफलमा कफीका बिरुवा रोपिसकेका छन् । यस वर्ष मात्रै ६० हजार कफीका बिरुवा उत्पादन गरेका उनले आगामी वर्ष डेढ लाखभन्दा बढी बिरुवा उत्पादन गर्ने लक्ष्य लिएको बताए ।

कफीको अन्तर्राष्ट्रिय बजारमा बढ्दो माग र नेपाली अर्गानिक कफीको लोकप्रियतालाई अवसरका रूपमा लिँदै पाण्डेले आगामी वर्षहरूमा कम्तीमा पाँच हजार रोपनी क्षेत्रफलमा कफी खेती विस्तार गर्ने दीर्घकालीन योजना बनाएका छन् ।

उनका अनुसार स्वाद, गुणस्तर र सुगन्धका कारण नेपाली अर्गानिक कफीले विश्व बजारमा छुट्टै पहिचान बनाउँदै गएको छ । गुणस्तरीय उत्पादन र वैज्ञानिक व्यवस्थापन गर्न सके कफी खेती ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधार बन्न सक्ने उनको विश्वास छ ।

सरकारी सहयोगले बढ्यो विस्तार

कफी खेती विस्तारमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ, गुल्मीले विभिन्न कार्यक्रममार्फत सहयोग गर्दै आएको छ ।

कार्यालय प्रमुख नवराज पण्डितका अनुसार चक्लाबन्दी प्रणालीमार्फत आधुनिक शैलीको खेती प्रवर्द्धन गरिएकाले पछिल्ला वर्षहरूमा कफी खेतीको क्षेत्रफल उल्लेखनीय रूपमा बढेको छ ।

उनले उत्पादन लागत घटाउने, बगान व्यवस्थापन सहज बनाउने र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले आधुनिक प्रविधिमा आधारित कफी खेतीलाई प्राथमिकता दिइएको बताए । उत्पादनदेखि प्रशोधन र बजारीकरणसम्म किसानलाई प्राविधिक तथा संस्थागत सहयोग उपलब्ध गराउँदै आएको उनको भनाइ छ ।

कफी खेतीको जन्मस्थल

गुल्मीलाई नेपालमा कफी खेतीको जन्मस्थलका रूपमा चिनिन्छ। इतिहासअनुसार वि.सं. १९९५ सालमा हिरा गिरीले तत्कालीन बर्मा (हाल म्यानमार) बाट ल्याएको कफीको बीउ मुसिकोट नगरपालिका–५ आँपचौरमा रोपेपछि नेपालमा पहिलो पटक कफी खेती सुरु भएको मानिन्छ ।
त्यसयता गुल्मीले नेपाली कफीको विकास, विस्तार र प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । जिल्लामा कफी विकास बोर्ड तथा कफी अनुसन्धान कार्यक्रम कार्यालय स्थापना भई कफीको अनुसन्धान, उन्नत जातको विकास, रोग व्यवस्थापन र गुणस्तर सुधारका क्षेत्रमा निरन्तर काम हुँदै आएको छ ।

अनुसन्धान केन्द्रको उपस्थितिले किसानलाई उन्नत बिरुवा, नयाँ प्रविधि र प्राविधिक परामर्श उपलब्ध गराउन सहयोग पुगेको सरोकारवालाहरू बताउँछन् ।

उत्पादन बढे पनि माग धान्न कठिन

जिल्लामा कफी उत्पादन क्रमश: बढ्दै गए पनि बजारको मागअनुसार उत्पादन हुन सकेको छैन । युरोप, अमेरिका, जापानलगायतका अन्तर्राष्ट्रिय बजारमा नेपाली अर्गानिक कफीको माग बढ्दै गएको व्यवसायीहरू बताउँछन् ।

रासायनिक मल तथा विषादीको न्यून प्रयोग गरी स्वच्छ वातावरणमा उत्पादन हुने भएकाले नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा विशेष प्राथमिकता पाउने गरेको उनीहरूको भनाइ छ । गुल्मीमा उत्पादित अधिकांश कफी सहज रूपमा बिक्री हुने र बजारको माग उच्च रहेकाले किसानहरू कफी खेती विस्तारतर्फ आकर्षित भइरहेका छन् ।

चुनौती पनि उत्तिकै

उज्ज्वल सम्भावनाका बाबजुद कफी खेतीले केही चुनौती पनि सामना गरिरहेको छ । विशेषगरी सेतो गबारो रोग किसानका लागि प्रमुख समस्या बनेको छ ।

साथै, कफी रोपेपछि उत्पादन लिन केही वर्ष कुर्नुपर्ने भएकाले तत्काल आम्दानी खोज्ने कृषकहरू अन्य नगदे बालीतर्फ आकर्षित हुने गरेका छन् ।

कृषि विज्ञहरूका अनुसार कफी दीर्घकालीन नगदे बाली भएकाले यसको वैज्ञानिक व्यवस्थापन, रोग नियन्त्रण, प्रशोधन र बजार व्यवस्थापनमा निरन्तर लगानी आवश्यक छ ।

कफी खेतीको ऐतिहासिक पृष्ठभूमि, अनुकूल हावापानी, अनुसन्धान केन्द्र, सरकारी सहयोग र बढ्दो बजार मागका कारण गुल्मीमा कफी खेती विस्तार हुने सम्भावना देखिएको सरोकारवालाहरू बताउँछन् । उनीहरूका अनुसार उत्पादन, प्रशोधन र बजारीकरणमा थप सुधार गर्न सके जिल्लालाई नेपालको प्रमुख कफी उत्पादन केन्द्रका रूपमा स्थापित गर्न सकिनेछ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन