काठमाडौं, १९ असार। सडक पेटीमा स्वरोजगारमूलक पेशा गर्दै आएका दृष्टिविहीनहरूले आफ्ना माग पूरा गर्न दबाब दिँदै १२औं दिन पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
विगत १२ दिनदेखि निरन्तर आन्दोलनरत उनीहरूले सरकारले आफूहरूको रोजगारीको अधिकार र जीविकोपार्जनको माध्यममाथि प्रतिबन्ध लगाएको आरोप लगाएका छन्। उनीहरूका अनुसार सडक संगीत तथा अन्य स्वरोजगारमूलक काम गर्न नदिँदा दैनिक जीवनयापन नै प्रभावित भएको छ।
प्रदर्शनकारीहरूले दृष्टिविहीनहरूको सम्मानजनक व्यवस्थापन गर्न, योग्यता, क्षमता र अनुभवका आधारमा रोजगारीको अवसर सुनिश्चित गर्न तथा त्यो सम्भव नभएसम्म हाल गर्दै आएको स्वरोजगार र सडक संगीतजस्ता पेशा निर्वाध रूपमा सञ्चालन गर्न दिन सरकारसँग माग गरेका छन्।
उनीहरूले सामाजिक सुरक्षा भत्तामा उल्लेखनीय वृद्धि गर्नुपर्ने माग पनि अघि सारेका छन्। सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै उनीहरूले तत्काल वार्ता र ठोस निर्णयको अपेक्षा गरेका छन्।
प्रदर्शनमा सहभागीहरूले माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्।


















