तिलोत्तमा, असार २०। विपद् तथा आकस्मिक परिस्थितिमा तत्काल र प्रभावकारी उद्धार तथा सेवा प्रवाह गर्ने उद्देश्यले तिलोत्तमा नगरपालिकाका स्वयंसेवक र नगरप्रहरीलाई लक्षित गरी प्राथमिक उपचार सम्बन्धी क्षमता विकास तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

Namaste Kapilbastu Solution को आयोजनामा सम्पन्न तालिममा प्राथमिक उपचारका आधारभूत सिद्धान्त, आकस्मिक अवस्थाको व्यवस्थापन, प्राथमिक उपचार सामग्रीको सही प्रयोग विधि, घाइतेको सुरक्षित उद्धार तथा सुरक्षित स्वास्थ्य अभ्यास (Safe Health Tips) सम्बन्धी सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रममा सहजीकरण गर्दै डा. विशाल काफ्लेले दुर्घटना, प्राकृतिक विपद् वा अन्य आकस्मिक घटनामा स्वास्थ्यकर्मी पुग्नुअघि प्रदान गरिने प्राथमिक उपचारले घाइतेको जीवन बचाउन निर्णायक भूमिका खेल्ने बताउनुभयो। उहाँले सही समयमा सही तरिकाले गरिएको प्राथमिक उपचारले मृत्यु तथा दीर्घकालीन जटिलताको जोखिम उल्लेखनीय रूपमा कम गर्न सक्ने उल्लेख गर्दै रक्तस्राव नियन्त्रण, हड्डी भाँचिएको अवस्थामा अपनाउनुपर्ने सावधानी, घाइतेको सुरक्षित स्थानान्तरण, बेहोस भएका व्यक्तिको व्यवस्थापन तथा आपत्कालीन अवस्थामा अपनाउनुपर्ने आधारभूत सुरक्षा उपायबारे सहभागीलाई व्यावहारिक रूपमा प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रमबारे जानकारी दिँदै आयोजक संस्थाका सागर पाण्डेले विपद् व्यवस्थापनको अग्रपङ्क्तिमा खटिने स्वयंसेवक र नगरप्रहरीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार विपद् वा दुर्घटनाको प्रारम्भिक चरणमा उद्धारकर्ताले देखाउने दक्षता र तत्परताले मानवीय क्षति न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने भएकाले यस्ता तालिम समयको आवश्यकता बनेका छन्।

तालिममा सहभागी स्वयंसेवक तथा नगरप्रहरीहरूले प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा लागू गर्दै समुदायमा अझ सुरक्षित, जिम्मेवार र प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
विपद् जोखिम बढ्दै गएको वर्तमान अवस्थामा स्थानीय तहका स्वयंसेवक र नगरप्रहरीलाई समयानुकूल सीपमूलक तालिम प्रदान गरिनु समुदायको सुरक्षा सुदृढ बनाउन महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। यस्ता कार्यक्रमले आकस्मिक अवस्थाको सामना गर्ने क्षमता अभिवृद्धि गर्नुका साथै विपद् व्यवस्थापन प्रणालीलाई अझ प्रभावकारी र भरपर्दो बनाउन टेवा पुग्ने अपेक्षा गरिएको छ।

















