विज्ञापन

राज्यकै संरक्षणमा जथाभावी गाडी तेर्स्याउने काम भयो : सुमना श्रेष्ठ

विज्ञापन
Image
विज्ञापन

३० असार, काठमाडौँ । पूर्वमन्त्री सुमना श्रेष्ठले सडकमा जथाभावी गाडी तेर्स्याएर अवरोध गर्ने कार्यलाई राज्यले नै संरक्षण गरेको भन्दै त्यसलाई आसेपासे पोस्ने प्रवृत्तिको संज्ञा दिएकी छन्।

सोमबार फेसबुकमार्फत् धारणा राख्दै उनले हालै काठमाडौँमा सञ्चार माध्यमदेखि सडकमा जथाभावी पार्किङ गरेर सन्देश दिने रणनीतिले राज्य र जनताबीचको विश्वासलाई जबर्जस्ती क्षयीकरण गरिरहेको बताएकी हुन्। राज्यको माथिल्लो तहमा बस्नेहरूले ‘पाठ सिकाउने’ नाममा गरिरहेको बुलिङ अर्थात् धम्क्याउने प्रवृत्तिले लोकतन्त्र र विधिको शासनमाथि नै प्रश्न उठाएको उनको निष्कर्ष छ।

पूर्वमन्त्री श्रेष्ठले नेतृत्व तहमा बस्नेहरूले फरक मत राख्नेहरूलाई पेल्ने र पाठ सिकाउने शैली अपनाएको भन्दै कडा आलोचना गरेकी छन्।

‘हिजो हामीले जथाभावी पार्किङ गरिएका गाडीहरूबाट सास्ती भोग्यौँ। गाडीहरू पहिचान गर्न सजिलो छ, तर जसले सडकको बीचमा गाडी छाडे, उनीहरूले जे गरे पनि आफू पूर्ण रूपमा सुरक्षित रहेको महसुस गरे। यो नै क्रोनिजम (आसेपासे पोस्ने प्रवृत्ति) हो,’ उनले लेखेकी छन्।

नेतृत्वले सबैको सेवा गर्नुपर्ने कुरा महसुस गर्नुको साटो फरक सोच र कार्यशैली भएकाहरूमाथि बुलिङ गरिरहेको उनको भनाइ छ। शक्तिमा रहुन्जेल जे पनि गर्न सकिन्छ भन्ने अल्पकालीन सोचले दीर्घकालीन समृद्धिका योजनाहरू कहिल्यै सफल नहुने उनले दाबी गरेकी छन्।

श्रेष्ठले जनता र सुरक्षाकर्मीबीच अविश्वास पैदा हुनु कसैको हितमा नभएको स्पष्ट पारेकी छन्। स्थानीय सरकारपछि जनताको सबैभन्दा नजिकको राज्यको प्रतिनिधि प्रहरी नै भएको भन्दै उनले प्रहरीलाई दोष दिन नहुने बताएकी छन्।

श्रेष्ठले शान्ति सुरक्षालाई अर्थतन्त्रको जगका रूपमा व्याख्या गर्दै भनेकी छन्, ‘जसरी उद्योग फस्टाउन स्थिर बृहत् अर्थतन्त्र चाहिन्छ, त्यसरी नै स्थिर अर्थतन्त्रका लागि शान्ति सुरक्षा पहिलो आधार हो।’

‘हामीलाई यति छिटो पक्ष लिन बाध्य पारिन्छ कि हामी बिर्सन्छौँ- हाम्रो लडाइँ कहिल्यै बर्दीमा भएका सुरक्षाकर्मीसँग थिएन। यो लडाइँ सधैँ माथिल्लो तहमा बस्नेहरूसँग हो,’ श्रेष्ठले लेखेकी छन्।

श्रेष्ठले सांसदहरूको भूमिकामाथि पनि गम्भीर प्रश्न उठाएकी छन्। राज्य र जनताबीच निरन्तर घर्षण भइरहँदा जनप्रतिनिधिहरूले पुलको काम गर्न नसकेको उनको गुनासो छ।

‘हामी सधैँ आश्चर्यमा पर्छौँ, के उनीहरू साँच्चै जनप्रतिनिधि हुन् वा केवल पार्टी प्रतिनिधि ? कि उनीहरू राज्यसत्ताको पालो कुर्दै चुपचाप बसेका छन् ?’ उनले प्रश्न गरेकी छन्।

सांसदहरूले सुरक्षाकर्मीलाई घातक नहुने हतियार खरिद गर्ने बजेट, उनीहरूको मानसिक स्वास्थ्य र गुनासो सुन्ने संयन्त्रका बारेमा कहिल्यै कुरा नउठाएको भन्दै उनले सुरक्षाकर्मीलाई केवल दमनकर्ता बन्न बाध्य पारिएको श्रेष्ठको टिप्पणी छ ।

नेता श्रेष्ठको प्रश्न छ, ‘के तपाईंहरूले हामीलाई ठेगान लगाउनुपर्ने मानिसको रूपमा हेर्नुभन्दा अघि नेपालीको रूपमा देख्न सक्नुहुन्न ?’

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन