विज्ञापन

सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ । मुद्दा अभियोजनका सन्दर्भमा सरकारी वकिलको निर्देशन मान्नु प्रहरी कार्यालय वा पदाधिकारीको दायित्व हो, तर सरकारी वकिल कार्यालयले दिएको निर्देशन प्रहरी कार्यालय वा प्रहरी अधिकारीले मानेनन् भने के हुन्छ ?

यस्तै भएको छ जिल्ला सरकारी वकिलको कार्यालय ललितपुर र ललितपुर प्रहरीमा ।

विषय हो– तुल्सी (तुलसा) अधिकारी जोडिएको आपराधिक लाभ अर्थात् हनी ट्रयाप, सम्पत्ति शुद्धीकरण र संगठित अपराध जोडिएको मुद्दा । यो मुद्दामा प्रहरीले चयनमुखी अनुसन्धान र अभियोजन गरेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले अभियुक्त तुल्सी अधिकारीकी साथी लक्ष्मी खतिवडामाथि पनि अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

तर जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोले सरकारी वकिलको निर्देशनको अवज्ञामात्रै गरेका छैनन्, अनुसन्धानका लागि कुनै पत्र नै नआएको भन्दै झुटो बोलिरहेका छन् ।

प्रहरी वृत्त सातदोबाटोको प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले टिकटकर तुल्सी अधिकारी लगायतका ९ जना व्यक्ति र प्राकृतिक व्यक्तिका रूपमा तुल्सा कलेक्सन समेतलाई विपक्षी बनाई ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सरकारी वकिलको कार्यालयले आपराधिक लाभ, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा दायर गर्दा तुल्सीको आपराधिक क्रियाकलापमा सहयोगी देखिएको भन्दै सरकारी वकिलको कार्यालयले नेपाली कांग्रेसकी नेतृ लक्ष्मी खतिवडामाथि पनि अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरका सहायक जिल्ला न्यायाधिवक्ता भरत कुमार मैनालीले २०८२ साल चैत १९ गते नै प्रहरी वृत्त सातदोबाटोलाई पत्र लेखी लक्ष्मी खतिवडामाथि थप अनुसन्धान गर्न निर्देशन दिएका थिए ।

२०८२ चैत १९ गते लेखिएको पत्रको पत्र सङ्ख्या ०८२।८३, चलानी नम्बर ७२७९ रहेको छ ।

हेर्नुहोस् पत्र


जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले प्रहरी वृत्त सातदोबाटोलाई चैत १९ गते नै पत्र पठाए पनि ललितपुर प्रहरीले लक्ष्मी खतिवडामाथि हालसम्म कुनै अनुसन्धान सुरु गरेको छैन ।

पहिले तुल्सी अधिकारी जोडिएको आपराधिक लाभ, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा के हो र यसमा लक्ष्मी खतिवडाको कस्तो संलग्नताको आरोप छ, त्यो बुझौँ ।

जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले ललितपुर जिल्ला अदालतमा दायर गरेको ४७५ पृष्ठ लामो अभियोगपत्रमा नेपाली कांग्रेसकी नेतृसमेत रहेकी लक्ष्मी खतिवडामाथि पनि थप अनुसन्धान गर्नुपर्ने राय दिएको थियो । अभियोग पत्रमा कांग्रेस नेतृ लक्ष्मी खतिवडा र तुल्सी अधिकारीको निकट सम्बन्ध देखिएको, उनीहरू सँगै विदेश भ्रमणमा गएको देखिएको, तुल्सीले नेलिका लामिछानेमार्फत् लक्ष्मी खतिवडाको बैंक खातामा ९ लाख ८७ हजार रुपैयाँ पठाएको र पर्सा जिल्ला अदालतमा चलेको एक मुद्दामा पनि शङ्कास्पद भूमिका देखिएको उल्लेख छ ।

कांग्रेस नेतृ खतिवडा र तुल्सी अधिकारीको सम्बन्ध देखिएको र आपराधिक क्रियाकलापमा पनि उनीहरूको संलग्नता हुनसक्ने भए पनि प्रहरीले लक्ष्मी खतिवडाको हकमा बचाउने उद्देश्यले अनुसन्धान नै नगरेको पाइएको थियो । आर्थिक कारोबार हुनु, तुल्सीकै पैसामा विदेशमा घुमघाम गर्नु आदि कारण भए पनि अपराधमा संलग्नताको सम्बन्धमा प्रहरी वृत्त सातदोबाटोले कुनै अनुसन्धान नगरेपछि सरकारी वकिलको कार्यालयले लक्ष्मी खतिवडाको हकमा थप अनुसन्धान गर्न भनेको थियो ।

तुल्सी अधिकारी र लक्ष्मी खतिवडाको सम्बन्ध के हो ?
टिकटकर तुल्सी अधिकारी र कांग्रेस नेतृ लक्ष्मी खतिवडाको सम्बन्ध सतहमा दिदीबहिनीका रूपमा रहेको देखिन्छ । तुल्सीको पक्षमा निरन्तर वकालत गर्दै आएकी खतिवडाले जाहेरवाला रहेका कुमार चिमोरियालाई निजकै कार्यालयबाट अपहरण गरी धम्क्याएको जाहेरवालाले यसअघि विभिन्न मिडियामा दिएका अन्तर्वार्तामा उल्लेख छ । अधिकारीको आपराधिक लाभ, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा लक्ष्मी खतिवडाको समेत संलग्नता रहेको जाहेरवाला कुमार चिमोरियाले समेत आरोप लगाएका थिए ।

टिकटकर तुल्सी अधिकारीसँग नजिक रहेकी नेतृ खतिवडा तुल्सासँगै विदेश भ्रमणमा समेत जाने गरेको पाइएको छ भने तुल्सीले नेलिका लामिछानेमार्फत लक्ष्मी खतिवडालाई झन्डै १० लाख रुपैयाँ दिएको देखिएको छ ।

प्रहरीको अनुसन्धानमा तुल्सी अधिकारीले नेलिका लामिछानेमार्फत लक्ष्मीको मोबाइलमा पटक–पटक रिचार्ज गरिदिएको, किनमेल गरिदिएको, रकम ट्रान्सफर गरिदिएको देखिएको छ, जुन कुरा नेलिका लामिछानेले प्रहरीसँगको बयानमा समेत खुलाएकी थिइन् ।

त्यस्तै नेलिका लामिछानेको प्राइम कमर्सियल बैंकको खाताबाट सन् २०२३ देखि २०२५ को अवधिमा लक्ष्मी खतिवडाको बैंक खाता, फोन नम्बर तथा व्यक्तिगत नाममा ९ लाख ७९ हजार ८०४ रुपैयाँ ३५ पैसा पठाइएको र रिचार्ज समेत गरी कुल ९ लाख ८७ हजार १०४ रुपैयाँ ६० पैसा दिइएको प्रमाण प्रहरीले रायसहितको प्रतिवेदनमा पेस गरेको थियो ।

त्यस्तै रिमार्क्समा ‘लक्ष्मी खतिवडा’ लेखेर २०२५ मे २ मा मञ्जु राईको नाममा ३६ हजार ३९३ रुपैयाँ, २०२५ अगस्ट ८ मा फेरि ३६ हजार ३९२ रुपैयाँ र २०२५ नोभेम्बर १२ मा सञ्जय सिलवालमार्फत ८० हजार रुपैयाँ पठाइएको भेटिएको थियो ।

call detail laxmi

पर्सा जिल्लामा चलेको मुद्दामा पनि लक्ष्मीको चलखेलको आशङ्का !
टिकटकर तुल्सी अधिकारीको आपराधिक लाभ र सम्पत्ति शुद्धीकरणको मुद्दामा मात्रै नभई कांग्रेस नेतृ लक्ष्मी खतिवडाले अदालतमा चलेको मुद्दामा समेत चलखेल गरेको हुन सक्ने अनुसन्धानबाट देखिएको थियो ।

तुल्सा कलेक्सन, तुल्सी अधिकारी र नेलिका लामिछानेसँग कनेक्सन देखिएका सन्तोषकुमार घिमिरेले गरेको बयानमा लक्ष्मी खतिवडाले अदालती मुद्दाको प्रक्रियामा सहयोग गरेको र रकम ‘फिर्ता’ गर्ने प्रयोजनका लागि रकम दिएको भनी उल्लेख गरेको पाइएको छ ।

ललितपुर जिल्ला अदालतमा दायर भएको अभियोगपत्रमा घिमिरेले भनेका छन्–

‘सन्तोष सुवेदी मैले सञ्चालन गरेको ग्रीनतारा इन्टरनेशनल ओभरसिज प्रालिमा म्यानेजरको रूपमा कार्यरत कर्मचारी हुन् । मेरो श्रीमती नेहा पौडेलको विरुद्धमा सहकारी ठगी मुद्दा जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता भई अनुसन्धान पश्चात् सम्मानित जिल्ला अदालत पर्सामा पेस हुँदा सम्मानित अदालतबाट रु. १ करोड १० लाख रुपैयाँ धरौटी माग भएको र बैंकिङ कारोबार गर्ने समय समेत सकिएकोले माग बमोजिम धरौटी बुझाउन अप्ठ्यारो परेकोले म सँगै रहनु भएको मैले चिनाजानेको दिदी भनी सम्बोधन गर्ने लक्ष्मी खतिवडा दिदीले आफ्नो चिनजानमा रहेको दीपेन्द्र कुमार उपाध्याय मार्फत पर्सा वीरगन्जका कुनाल कुमार जयसवाल र अजय कुमार चौरसिया समेतलाई अनुरोध गरी रु. २४ लाख रुपैयाँ नगदै मलाई उपलब्ध गराइदिनु भएको हुँदा सो रकम फिर्ता गर्न म सँग रकम अभाव भएकोले लक्ष्मी खतिवडा दिदीको चिनजानमा रहेकी प्रतिवादी तुलसा भन्ने तुल्सी अधिकारीमार्फत माथिका व्यक्तिहरूलाई सापटी फिर्ता स्वरूप रु. १० लाख रुपैयाँ कुनाल कुमार जयसवालको बैंक खातामा, रु. १० लाख अजय कुमार चौरसियाको बैंक खातामा र आदित्य इन्टरनेशनलको बैंक खातामा रु. ४ लाख गरी जम्मा रु. २४ लाख रुपैयाँ फिर्ता गरिएको थियो । उक्त फिर्ता गरिएको रकम मैले तुल्सी अधिकारीलाई फिर्ता गर्नुपर्ने भएकोले केही दिनपछि मेरो ससुरा भूपेन्द्र पौडेल मार्फत रु. ४ लाख रुपैयाँ नगद तुल्सा अधिकारीले सञ्चालन गरेको तुल्सा कलेक्सनको बैंक खातामा नगद जम्मा गरेको र मेरो प्रालिमा काम गर्ने सन्तोष सुवेदीले आफ्नो नाममा सञ्चालन रहेको बैंक खाताबाट रु. २० लाख रुपैयाँ मेरो श्रीमतीको गरगहना धरौटी राखी कर्जा लिई सोही लिएको कर्जाबाट निज तुल्सी अधिकारीले सञ्चालन गरेको तुल्सा कलेक्सन प्रालिको खातामा ट्रान्सफर गरी फिर्ता गरिएको हो ।’

त्यसैगरी सन्तोष सुवेदीले गरेको घटना विवरण कागजमा पनि सो रकम दिइएको स्वीकार गरेका छन् । सन्तोष सुवेदीको बयानमा पनि लक्ष्मी खतिवडाले अदालती मुद्दा प्रक्रियामा सहजीकरण गरेको उल्लेख छ ।

सन्तोष सुवेदीले प्रहरीमा गरेको बयानमा भनेका छन्,

‘म ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नम्बर १४ कुसुन्ती स्थितमा रहेको ग्रिनतारा इन्टरनेशनल ओभरसिज प्रालिमा म्यानेजरको रूपमा कार्यरत रहेको छु । उक्त प्रालिका सञ्चालक सन्तोष कुमार घिमिरे हुन् । मैले काम गर्ने गरेको प्रालिका सञ्चालक सन्तोष कुमार घिमिरेले मलाई समस्या परेको छ, तपाईंले मेरो श्रीमतीको गर–गहना धितो राखेर पैसा निकाल्नु पर्ने भयो भन्ने कुरा गर्नु भएको हुँदा मैले प्रालिको सञ्चालकले भने अनुसार नेपाल बैंकको न्यूरोड शाखामा गई सुनका गर–गहना धितो राख्दा रु. २० लाख रुपैयाँ कर्जा लिई मेरो आफ्नो नाममा रहेको खातामा जम्मा हुन आएको र उक्त रकम प्रालिका सञ्चालकले आफ्नो श्रीमतीको सहकारी ठगी सम्बन्धी मुद्दा जिल्ला अदालत पर्सामा भएकोले अदालतबाट तोकेको धरौटी राख्न साथी मार्फत रकम लिएको हुँदा साथीले उक्त पैसा तुल्सा कलेक्सन प्रालिमा जम्मा गर्नको लागि खाता नम्बर समेत दिएको छ, उक्त खातामा रकम जम्मा गरी दिनुहोस् भनेको हुँदा मैले सोही बमोजिम तुल्सा कलेक्सन प्रालिको खाता रहेको कुमारी बैंकको खातामा दुई पटक गरी जम्मा रु. २० लाख रुपैयाँ जम्मा गरी दिएको हुँ ।’

यसरी सन्तोषकुमार घिमिरे र सन्तोष सुवेदीका दुई बयानले उक्त रकम पर्सा जिल्लामा चलेको सहकारी ठगी सम्बन्धी मुद्दामा धरौटी राख्ने प्रयोजनका लागि लिइएको र त्यसमा लक्ष्मी खतिवडाले समन्वय गरेको दाबी गरिएको छ ।

स्मरणीय के छ भने त्यतिबेला नेपाली कांग्रेसका नेता अजय कुमार चौरसिया कानुनमन्त्री थिए र उनी पर्सा जिल्लाबाटै निर्वाचित जनप्रतिनिधि थिए । यद्यपि यहाँ नाम उल्लेख गरिएका अजयकुमार चौरसिया र रकम लिइएको वा दिइएको भनिएका अजयकुमार चौरसिया एकै व्यक्ति हुन् कि फरक व्यक्ति हुन् भन्ने सम्बन्धमा पनि प्रहरीले कुनै अनुसन्धान नै गरेको छैन ।

लक्ष्मीमाथि थप अनुसन्धान र अभियोजन गर्न निर्देशन
जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले आफ्नो अभियोग पत्रमा कांग्रेस नेतृ लक्ष्मी खतिवडाको सम्बन्धमा थप अनुसन्धान आवश्यक रहेको र पछि पूरक अभियोग पत्र ल्याउन सक्नेतर्फ इंगित गरेको थियो । यसअघि दर्ता भएको मूल अभियोगमा लक्ष्मीमाथि अनुसन्धान र अभियोजन नै नभएपछि सम्पत्ति शुद्धीकरण र आपराधिक लाभको कसुरमा थप प्रमाण प्राप्त भएमा मुलुकी फौजदारी अपराध संहिता, २०७४ को दफा ३५ बमोजिम पूरक अभियोग पेस गर्ने तयारीका साथ थप अनुसन्धान गर्न भनेको थियो ।

सरकारी वकिलको कार्यालयले लक्ष्मी खतिवडा, तुल्सी अधिकारी र नेलिका लामिछानेबिच लगातार सम्पर्क भएको कल डिटेल रिपोर्ट, टिकटकका भिडियो, सँगै विदेशमा घुमघाम गरेका प्रमाणहरू, नेलिकाको बैंक खाताबाट लक्ष्मीको खातामा ९ लाख ८७ हजार रुपैयाँ ट्रान्सफर गरिएको प्रमाण, सन्तोषकुमार घिमिरे र सन्तोष सुवेदीको बयान कागजमा लक्ष्मीको मौखिक निर्देशनमै ठुलो रकम स्थानान्तरण गरिएको, लक्ष्मीले जाहेरवालालाई धम्की दिएको आदि तथ्यहरूलाई हेरी लक्ष्मी खतिवडामाथि थप अनुसन्धान गर्न निर्देशन निर्देशन दिएको थियो ।

मूल अभियोगपत्रको ‘अन्य कुरा खुलाउनु पर्ने भए सो कुराहरू’ उपशीर्षकमा भनिएको छ,

‘यसै गरी अनुसन्धानको क्रममा नाम खुल्न आएका लक्ष्मी खतिवडाले मुख्य प्रतिवादी तुलसा भन्ने तुल्सी अधिकारीसँग निज यस मुद्दामा फरार भए पश्चात् पनि निरन्तर र पटक–पटक फोन तथा अन्य टिकटक लगायतका सोसल मिडिया तथा सामाजिक सञ्जालमा सम्पर्कमा रहेको, अनुसन्धानको क्रममा प्राप्त भएको सीडीआर विश्लेषण तथा मिसिल संलग्न भएका टिकटक भिडियो समेत देखिएको, अर्का प्रतिवादी नेलिका लामिछानेसँग समेत सोही अनुसार निरन्तर सम्पर्कमा रहेको देखिएको, निज लक्ष्मी खतिवडा प्रतिवादी तुलसा भन्ने तुल्सी अधिकारी र प्रतिवादी नेलिका लामिछानेसँगै विदेश भ्रमण गर्ने र नेपालमा समेत सँगै रहने गरेको देखिएको, अनुसन्धानको क्रममा बुझिएका मानिस सन्तोष घिमिरेको कागजमा निज लक्ष्मी खतिवडाले भने अनुसार आफ्नो लागि प्रतिवादी तुल्सी अधिकारीले अजय कुमार चौरसिया र कुनाल कुमार जैसवालको खातामा रु. १०।१० लाख रकम जम्मा गरेको भनी खुलाएको हुँदा प्रतिवादी तुलसा भन्ने तुल्सी अधिकारीसँग निजको अप्रत्यक्ष कारोबार देखिएको, प्रतिवादी नेलिका लामिछानेले अनुसन्धानको क्रममा बयान गर्दा समेत म, प्रतिवादी तुल्सी अधिकारी समेतसँग विदेश घुम्न जाँदा मेरो टिकट सन्तोष घिमिरेले काटी दिएको भनी खुलाएको र टिकटक भिडियोमा निज प्रतिवादी नेलिका लामिछाने, तुल्सी अधिकारी र निजको छोरी …. न्यौपाने र लक्ष्मी खतिवडासँग विदेश प्रमाणमा गएको देखिएको, प्रतिवादी नेलिका लामिछानेले निजको मुक्तिनाथ विकाश बैंक लिमिटेडमा रहेको खाता नम्बर ००४२०६००ऽऽऽऽ०१ बाट लक्ष्मी खतिवडालाई निजको मोबाइल नम्बर ९८०११ऽऽऽऽ४ र ९८५११ऽऽऽऽ४ मा १२ पटक गरी रु. ७,३००.२५ को मोबाइल रिचार्ज गरेको देखिएको, प्रतिवादी नेलिका लामिछानेले निजको प्राइम कमर्सियल बैंकमा रहेको खाता न. ००२०१००००ऽऽऽऽ२०१३३ बाट लक्ष्मी खतिवडाको लागि पटक–पटक गरी रु. ९,८७,१०४.६० रकम मोबाइल बैंकिङ मार्फत भुक्तानी गरी खर्च गरेको बैंक स्टेटमेन्टबाट देखिएको, प्रतिवादी नेलिका लामिछानेले जाहेरवालसँग भेट गरी डर त्रास पार्ने क्रममा ‘म आएको कुरा लक्ष्मी खतिवडा दिदी’लाई नभन्नु भन्ने संवाद सुनिने अडियो समेत मिसिल संलग्न रहेको देखिएकोले निजको हकमा अनुसन्धान जारी नै राखी आपराधिक लाभ र सम्पत्ति शुद्धीकरण कसुरमा पछि थप प्रमाण खुल्न आएका बखत मुलुकी फौजदारी अपराध संहिता, २०७४ को दफा ३५ बमोजिम थप अभियोग पेस गर्ने गरी मागदाबी लिनुहुन समेत अनुरोध छ ।’

यी तथ्य र अपराधमा संलग्नताको आशंका हुँदा हुँदै पनि टिकटकर तुल्सी अधिकारी जोडिएको आपराधिक लाभ, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा प्रहरीले लक्ष्मी खतिवडालाई बचाएको भन्दै सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्न प्रहरी वृत्त सातदोबाटोलाई निर्देशन दिएको थियो ।

प्रहरी भन्छ– कुनै निर्देशन आएको छैन
यता जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्तासमेत रहेका एसपी गौतम कुमार मिश्रले लक्ष्मी खतिवडाको सम्बन्धमा सरकारी वकिलको कार्यालयबाट कुनै पत्र नआएको दाबी गरे । उनले लक्ष्मी खतिवडामाथि थप अनुसन्धान गर्नुपर्ने कारण नभएको र सरकारी वकिलको कार्यालयबाट त्यस्तो पत्रसमेत नआएको बताए ।

मिश्रले कांग्रेस नेतृ खतिवडाको सम्बन्धमा अनुसन्धान गर्न कुनै पत्र नै प्राप्त नभएको दाबी गरे पनि रातोपाटीलाई प्राप्त पत्रमा भने थप अनुसन्धान गर्न स्पस्ट भनिएको छ । प्रहरीले भने खतिवडामाथि कुनै अनुसन्धान नै नगरी चयनमुखी अनुसन्धान गरी कुनै व्यक्ति विशेषलाई चोख्याउन भूमिका खेलेको पाइएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन