१७ साउन, काठमाडौं । बजारमा उपभोक्तालाई ठग्नेगरी नक्कली र गुणस्तरहीन उत्पादनको बिगबिगी बढेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्यस्ता गतिविधिमाथि कडा निगरानी र कारबाही सुरु गरेको छ ।
उपभोक्ताको स्वास्थ्य र अधिकारमै गम्भीर असर पर्ने गरी भइरहेको यस्तो अवैध काम रोक्न मन्त्रालयले शून्य सहनशीलताको नीति अपनाएको बताएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा १०० भन्दा बढी शंकास्पद नक्कली उत्पादनहरू नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका ती सामग्रीहरू सक्कली हुन् वा नक्कली भनेर यकिन गर्न प्रयोगशालामा परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जनस्वास्थ्यमा खेलवाड गर्ने र नक्कली उत्पादन बेचेर नाफा कमाउन खोज्ने जो–कोहीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिने बताएको छ । प्रयोगशालाको रिपोर्ट आउनासाथ दोषी प्रमाणित हुने कम्पनी, वितरक र बिक्रेतालाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याइने बताइएको छ ।
वाणिज्य विभागका महानिर्देशक मोतिराम सापकोटाका अनुसार बजारमा अझै पनि केही गिरोहले लुकीछिपी नक्कली सामान बेचिरहेको गोप्य सूचना विभागलाई प्राप्त भइरहेको छ ।
अनुगमनकारी निकायको प्रयासले मात्र सबैतिर पुग्न सम्भव नहुने भन्दै विभागले उपभोक्तालाई सामान खरिद गर्दा सचेत रहन आग्रह गरेको छ ।
कुनै पनि उत्पादन हेर्दा शंकास्पद लागेमा वा नक्कली भएको आशंका भएमा तुरुन्तै विभाग वा सम्बन्धित निकायमा उजुरी दिन आम उपभोक्तालाई अपिल गरिएको छ ।


















