पोखरा । भारतीय स्थल सेना प्रमुख जनरल धिरज सेठले पोखराबाट भारतीय भूपू सैनिकहरूका लागि कल्याणकारी योजनाहरू घोषणा गरेका छन् । भूपू सैनिक र उनीहरूका परिवारको कल्याणका लागि भारतीय सेनाले नयाँ कल्याणकारी योजना अघि सारेको उनले बताए ।
पश्चिम नेपालका भूपू सैनिकहरूलाई स्वास्थ्य उपचारका लागि काठमाडौँ वा पोखरा धाउनुपर्ने बाध्यता हटाउन कोहलपुरमा नयाँ इआइएचएस पोलिक्लिनिक सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । पोखरा लगायतका अन्य पोलिक्लिनिकहरूमा पनि आधुनिक चिकित्सा उपकरणहरू थप गर्ने प्रक्रिया सुरु भएको सेठले जानकारी दिए ।
यस्तै, भूपू सैनिकहरूको माग बमोजिम सुनौलीदेखि गोरखपुरसम्मको बस सेवा सञ्चालन गर्ने प्रस्ताव आएको भन्दै यो पनि छिटै निर्णयमा पुग्ने उनले जानकारी दिए । यसबाट क्यान्टिन र स्वास्थ्य सेवा लिन सहज बनाउने भूपू सैनिकहरूको विश्वास छ ।
नेपालका विभिन्न जिल्ला सैनिक बोर्डहरू मार्फत सञ्चालित कम्प्युटर, ब्युटिसियन र फेसन डिजाइनिङ जस्ता व्यावसायिक तालिमका प्रमाणपत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता दिलाउन सिक्किमको मेधावी स्किल युनिभर्सिटीसँग सम्झौता गरिएको सेनाध्यक्ष सेठको भनाइ छ ।
उनले नेपाल र भारतबिचको सम्बन्ध दुई छिमेकी देशको भौगोलिक सीमामा मात्र सीमित नरही ऐतिहासिक, सांस्कृतिक र धार्मिक रूपमा जोडिएको बताएका छन् । पोखरामा भारतीय भूपू सैनिक र उनीहरूका परिवारलाई सम्बोधन गर्दै दुई देशको सम्बन्ध सदियौँ पुरानो भएको बताए ।
‘नेपाल र भारतबिचको सम्बन्ध सदियौँ पुरानो छ,’ उनले भने, ‘यो सम्बन्ध दुई छिमेकी देशहरूबिचको मात्र होइन । संस्कृति, परम्परा, धार्मिक आस्था र इतिहासको साझा सम्बन्ध हो ।’ भगवान राम र सीताको सम्बन्ध, पशुपतिनाथ र काशीको धार्मिक आस्था तथा खुला सीमाका माध्यमबाट दुवै देशका जनताहरूबिच रहेको सम्पर्कले दुवै देशलाई सधैँ नजिक राखेको सेठले सुनाए ।
गोर्खा सैनिकहरूको योगदानको उनले प्रशंसा गरे । ‘आज मेरा लागि यो अत्यन्तै गौरवको क्षण हो कि मैले मेरोसामु ती वीर सैनिकहरूलाई देखिरहेको छु, जसले आफ्नो जवानी भारतीय सेनाका लागि समर्पित गरे,’ अघि थपे, ‘उनीहरू बिना भारत र नेपालबिचको सम्बन्ध सायद आज यो मुकामसम्म पुग्ने थिएन ।’ कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त गर्ने सैनिकहरूप्रति उनले श्रद्धाञ्जली र वीर नारीहरूप्रति सम्मान व्यक्त गरे ।
भारतीय भूपूहरूलाई कहिल्यै एक्लो महसुस नगर्न उनको आग्रह छ ।


















