७ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएर नयाँ राजनीतिक यात्रामा अघि बढिरहेका डा. धवल शमशेर जबराले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । भेटघाटको क्रममा समसामयिक विषयमा कुराकानी भएको जबराले बताए ।
जबराले दिएको जानकारी अनुसार ज्ञानेन्द्र शाहसँग लामो समयको अन्तरालपछि भएको भेटमा देशको वर्तमान अवस्था, राजनीतिक गतिविधि लगायतका विषयमा ‘लामो कुराकानी’ भएको थियो ।
त्यसक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले सबैलाई समेटेर अगाडि बढ्न आफूलाई शुभकामना दिएको जबराले बताए ।
ज्ञानेन्द्र शाहसँगको भेटपछि उत्साहित देखिएका जबराले देशभर संगठन विस्तार गर्ने र आगामी स्थानीय तह निर्वाचनमा भाग लिने बताए ।
राप्रपा छाडेर ‘जय नेपाल पार्टी’ गठन गरेका जबरासँग आज बिहान अनलाइनखबरले गरेको संक्षिप्त कुराकानी–
तपाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको फोटो सार्वजनिक गर्नुभएको छ । भेट कहिले भएको हो ?
हिजो साँझ भेट भएको हो ।
कहाँ भेट भयो ?
हिजो सोल्टी होटलमा हिमानी ट्रस्टको कार्यक्रम थियो । त्यहीँ भेट भएको हो ।
भेटमा के विषयमा कुराकानी भयो ?
समसामयिक विषयमा कुराकानी भयो । खासगरी देशको अहिलेको राजनीतिक र सामाजिक अवस्थाबारे कुराकानी भयो । देशमा के भइरहेको छ, कस्तो अवस्था छ भन्ने विषयमा भलाकुसारी भयो ।
लामो कुराकानी भयो ?
धेरै दिनपछि भेट भएको थियो । त्यसैले कुराकानी लामै भयो । राजसंस्था र हिन्दू अधिराज्यको पक्षमा जनमत सिर्जना गर्दै अगाडि बढ्ने हाम्रो पार्टीको निर्णयबारे जानकारी पनि गराएँ ।
देशको विषयमा पूर्वराजा चिन्तित हुनुहुन्छ । देश अगाडि बढोस्, सबै नेपाली जनता सुखी होउन् भन्ने उहाँको सकारात्मक सोच छ ।
यसमा पूर्वराजाको प्रतिक्रिया के थियो ?
उहाँले ठिक छ, गरिरहनुस् । राम्ररी गर्नुस् । सबैलाई मिलाएर अघि बढ्नुस् भनेर शुभकामना दिनुभयो ।
उहाँको मुख्य चासो र चिन्ता केमा थियो ?
देशको विषयमा पूर्वराजा चिन्तित हुनुहुन्छ । देश अगाडि बढोस्, सबै नेपाली जनता सुखी होउन् भन्ने उहाँको सकारात्मक सोच छ । देशमा के भइरहेको छ, हामी के गरिरहेका छौँ, कसरी अगाडि बढिरहेका छौँ भन्ने उहाँको चासो हुनु स्वाभाविक हो ।
राप्रपा छाड्नुभयो । अनि दुर्गा प्रसाईंसँग मिल्ने प्रयास गर्नुभयो । त्यसमा पनि कुरा नमिलेपछि तपाईं अलग पार्टी बनाएर अघि बढ्न खोज्दै हुनुहुन्छ । त्यसबारे पनि पनि केही कुरा भयो कि ?
त्यस्तो खासै भएन । मैले आफ्नो गतिविधिबारे जानकारी गराएँ । राप्रपासँग अब मेरो सम्बन्ध छैन । मैले राप्रपा छोडिसकेको छु । मैले राप्रपाबारे कुरा गरिनँ । दुर्गा प्रसाईंसँग कुरा नमिलेको जानकारी गराउँदा हाँस्नु मात्र भयो । कुनै टिप्पणी गर्नु भएन ।
पूर्वराजाले तपाईंलाई कसरी अगाडि बढ्न सुझाव दिनुभयो ?
उहाँले कसैलाई पनि व्यक्तिगत रूपमा यसरी अगाडि बढ्नुस् भनेर भन्नुहुन्न । उहाँले त सबैलाई समेटेर अगाडि बढ्नुपर्छ भन्ने सोच राख्नुहुन्छ । सबै जातजाति, संस्कृति र समुदायलाई समेटेर हिँड्नुपर्छ भन्ने उहाँको सकारात्मक धारणा छ ।
पूर्वराजाले अरूको विषयमा नकारात्मक कुरा गर्नुहुन्न । सबै धर्म, संस्कृति र सबै समुदायलाई समेटेर जाने कुरा गर्नुहुन्छ । अरूको विषयमा नेगेटिभ कुरा गर्ने उहाँको बानी छैन ।
अहिले सरकारको कामकारबाहीलाई तपाईंले कसरी हेरिरहनुभएको छ ?
यो सरकारप्रति जनताले जसरी आशा र अपेक्षा गरेका थिए, त्यो आशा बिस्तारै न्यून हुँदै गएको छ । धेरै कुरा गर्छौँ भनेर अगाडि बढ्छन्, तर फेरि बीचमै ब्याक हुनुपर्ने स्थिति देखिन्छ । अहिलेको बालेन सरकार असफलतातर्फ गएको जस्तो हामी सबैले महसुस गरिरहेका छौँ । अनुभवको कमी हो कि अरू केही कारण हो, यो सरकारले डेलिभरी गर्न सकिरहेको देखिँदैन ।
म आफैँ स्थानीय निकायको निर्वाचनमा निर्वाचित भएका अनुभवका अनुसार भन्नसक्छु– स्थानीय तहमा धेरै काम गर्न सकिन्छ । वास्तवमा जनताको सेवा स्थानीय तहबाटै प्रभावकारी रूपमा गर्न सकिन्छ । त्यसैले हामीले स्थानीय तहलाई प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाउँछौं ।
उहाँहरू आफ्नै तरिकाले हिँडिरहनु भएको छ । हामीलाई सबै थाहा छ, हामी सबै गर्छौँ भन्ने खालको घमण्ड रास्वपाका नेताहरूमा देखिन्छ । मैले थाहा पाएसम्म कसैसँग सल्लाह लिएको पनि देखिँदैन ।
यदि तपाईंसँग सल्लाह मागे भने के सल्लाह दिनुहुन्छ ?
देशको हितका लागि राम्रो कुरा गर्न जोसुकैले गरे पनि सकारात्मक हुनुपर्छ । म सकारात्मक मान्छे हुँ । तर कसैले सल्लाह नमागीकन ‘मेरो सुझाव यस्तो हो, मेरो सल्लाह यस्तो हो’ भन्दै हिँड्ने मेरो बानी छैन ।
तपाईंको पार्टीको अबको प्राथमिकता र कार्यक्रम के हो ?
हाम्रो प्राथमिकता अब देशभर संगठन निर्माण गर्ने हो । भदौ र असोज महिनाभित्र ७७ जिल्लामा तदर्थ जिल्ला कार्यसमिति गठन गर्ने, युवा, महिला तथा जेनजी सहितका जनवर्गीय संगठन विभाग र समितिहरू गठन गर्ने लगायतका निर्णय गरिसकेका छौं ।
त्यससँगै स्थानीय तहको निर्वाचनमा स्वच्छ छवि भएका, इमानदार र आफ्नो स्थानीय तहमा केही गर्छु भन्ने क्षमता तथा इच्छाशक्ति भएका व्यक्तिहरूलाई अगाडि ल्याउने हाम्रो योजना छ । हामी त्यस्ता व्यक्तिहरूलाई हाम्रो पार्टीमा आबद्ध भएर स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न आह्वान गरिरहेका छौँ ।
म आफैँ स्थानीय निकायको निर्वाचनमा निर्वाचित भएका अनुभवका अनुसार भन्नसक्छु– स्थानीय तहमा धेरै काम गर्न सकिन्छ । वास्तवमा जनताको सेवा स्थानीय तहबाटै प्रभावकारी रूपमा गर्न सकिन्छ । त्यसैले हामीले स्थानीय तहलाई प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाउँछौं ।
त्यसो भए तपाईंको पार्टी आगामी स्थानीय तह निर्वाचनमा सहभागी हुने तयारीमा छ ?
एकदमै । हामी स्थानीय तहको निर्वाचनमा सहभागी हुने तयारीका साथ अगाडि बढिरहेका छौँ । देशभर संगठन विस्तार गरेर स्वच्छ छवि र इमानदार व्यक्तिहरूलाई उम्मेदवारका रूपमा अगाडि बढाउने हाम्रो तयारी हो ।


















