९ असोज, काठमाडौं । तेरापन्थ युवक परिषद्, काठमाडौंले रक्तदान तथा मरणोपरान्त नेत्रदान महाअभियान घोषणा गरेको छ। परिषद्ले आगामी असोज १ देखि ७ गतेसम्म सप्ताहव्यापी बाँचुन्जेल रक्तदान, मरणोपरान्त नेत्रदान’ अभियान आह्वान गरेको हो ।
वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई अभियानको सद्भावना दूत तोकिएको छ । रक्तदान र नेत्रदानसम्बन्धी देशभर जनचेतना फैलाउँदै अभियान सञ्चालन गर्न लागिएको परिषद्का अध्यक्ष निश्चल लालवानीले जानकारी दिए ।
महजोडीको सामाजिक प्रभाव, जनस्तरसम्मको पहुँच तथा मानवीय अभियानप्रतिको प्रतिबद्धताले अभियानलाई सफल बनाउन थप मद्दत
गर्ने उनले बताए ।

परिषद्ले उक्त रक्तदान/नेत्रदान कार्यक्रममा सहभागिताका लागि व्यवसायिक प्रतिष्ठान, शैक्षिक संस्था, सामाजिक संगठन, धार्मिक समुदाय र आमनागरिकतासँग सहकार्यको आह्वान गरेको छ । प्रत्येक स्वस्थ नागरिकलाई नियमित रक्तदान गर्न लालवानीले आग्रह गरे ।
‘यसपटक हामी रक्तदान कार्यक्रममात्रै गराउँदैनौँ, नियमित रक्तदानका लागि सचेतना पनि फैलाउँछौँ’ उनी भन्छन्, ‘त्यससँगै प्रत्येक परिवारलाई मरणोपरान्त नेत्रदानबारे चिया चौतारा, बैठक, भेला र छलफलहरूमा कुराकानी गर्न आग्रह गर्छौँ ।’
उनका अनुसार २५ वर्षदेखि सामाजिक कार्यमा सक्रिय परिषद्ले यसअघि २५० भन्दा बढी रक्तदान शिविर सञ्चालन गरेको छ भने १४ जनाले मरणोपरान्त नेत्रदान गरेका छन् । परिषद्ले पशुपतिनाथ परिसरमा दैनिक तथा बौद्धनाथ परिसरमा प्रत्येक शनिबार रक्तदान शिविर सञ्चालन गर्दै आएको जनाएको छ ।
परिषद्को पहलमा धादिङका ५२ वर्षीय एकराज परियारको उपचारका लागि परिषद्का संरक्षक तथा समाजसेवी ज्योति कुमार बेंगानी र चन्दा देवी बेगानीका तर्फबाट एक लाख २५ हजार रुपैयाँ सहयोग गरेका थिए । मेरुदण्डमा गम्भीर चोट लागेका परियारको लोकन्थलीस्थित सक्षम हेल्थ केयरमा पुनःस्थापना उपचार तथा फिजियोथेरापी भइरहेको छ ।
परिषद्ले आगामी २५ अगस्टदेखि ८ सेप्टेम्बरसम्म ‘नेत्रदान पखवाडा २०२६’ सञ्चालन गर्ने जनाएको छ । अभियानअन्तर्गत नेत्रदान सङ्कल्प, परिवार परामर्श, विद्यालय तथा कलेजस्तरीय अन्तरक्रिया, डिजिटल जनचेतना, विशेषज्ञ संवाद र नेत्रदानी परिवार सम्मानलगायत कार्यक्रम सञ्चालन गरिनेछन् । परिषद्ले नेत्रदान व्यक्तिगत इच्छामात्र नभई परिवारको साझा निर्णयका रूपमा विकास गर्नुपर्नेमा जोड दिएको छ । मृत्युको संवेदनशील समयमा परिवार र आई बैंकबीच समयमै समन्वय गरी नेत्रदानको प्रक्रिया सहज बनाउने उद्देश्यसमेत अभियानको रहेको जनाइएको छ ।
त्यसैगरी १७ देखि २३ सेप्टेम्बरसम्म ‘रक्तदान कर्तव्यम् २०२६’ सञ्चालन गरिने भएको छ । अखिल भारतीय तेरापन्थ युवक परिषद्को मेगा ब्लड डोनेसन ड्राइभअन्तर्गत नेपालमा पनि विभिन्न रक्तदान शिविर सञ्चालन गर्ने तयारी गरिएको परिषद्ले जनाएको छ ।
परिषद्ले आगामी दिनमा रक्तदानलाई विशेष अवसरमा मात्र गरिने कार्यक्रम नभई स्वस्थ नागरिकको नियमित सामाजिक कर्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।


















