१० भदौ, काठमाडौं । रसुवामा एक्कासि आएको बाढीले ठूलो विपत्ति सिर्जना गरेको छ । रसुवासहित नुवाकोट, धादिङ लगायतका क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको छ ।
सबै सुरक्षा निकायहरू खोजी तथा उद्धारमा खटिएका छन् । नेपाली सेनाका हेलिकप्टरदेखि निजी कम्पनीका हेलिकप्टर, ड्रोन, कुकुरसहित तालिमप्राप्त दक्ष जनशक्ति खोजी तथा उद्धारमा जुटेका छन् ।
मेडिकल टिमको टोली पनि बाढी प्रभावित क्षेत्रमा खटिएको छ । अहिलेसम्म बाढीमा परेर ज्यान गुमाएका सात जनाको शव संकलन गरिएको सुरक्षा निकायहरूले बताएका छन् । केही घाइतेहरूको उद्धार गरी उपचार सुरु गरिएको छ ।
सुरक्षाकर्मीतर्फ पनि ठूलो क्षति भएको छ । अहिलेसम्म नेपाल प्रहरीका ३२ जना बेपत्ता रहेको प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्ले बताउँछन् । सशस्त्र प्रहरीतर्फ पनि ९ जना अहिलेसम्म सम्पर्कविहीन छन् ।
४१ सुरक्षाकर्मी अहिलेसम्म सम्पर्कविहीन छन् । बाढीमा परी बालबाल बाँचेका प्रहरी सहायक हवल्दार सन्तोष रिजाल अनलाइनखबरको सम्पर्कमा आएका छन् । बाढी आउँदै छ भनेर माइकिङ गर्दागर्दै एक्कासि ठूलो बाढी आएको उनले बताएका छन् ।
त्यहाँको अवस्थाबारे सहायक हवल्दार रिजालले बताएको कुरा :
म बेत्रावतीमा कार्यरत छु । बाढी आउँदै छ भनेर हामी माइकिङ गर्न निस्केका थियौं । सडक किनार तथा नदी किनारका बासिन्दाहरूलाई सुरक्षित ठाउँतर्फ जान भनेर माइकिङ गरिरहेका थियौं ।
असईसाप रामकाजी पौडेलको कमान्डमा हामी माइकिङ गर्न खटिएका थियौं । त्यही बेला एक्कासि यति ठूलो बाढी आयो, सोच्नै सकिएन । घरमा सुतेका मान्छे, बसेका मान्छे, खाँदै गरेका मान्छे बाढीमा बगे । कतिलाई बगायो यकिन छैन ।
म बाइकमै थिएँ । बाइक छाडेर जंगलतर्फ भागेर ज्यान जोगाएँ । सँगै माइकिङ गर्न जानुभएका असईसाप सम्पर्कविहीन हुनुहुन्छ । उहाँको अवस्था के छ अहिलेसम्म थाहा पाउन सकिएको छैन । अहिले म जंगलमा बसिरहेको छु । कतै जाने ठाउँ छैन । १० सेकेन्डले बाँच्न सफल भएँ । बाँच्नु नै ठूलो रैछ यस्तो बेला ।
कति बालबालिका बगायो, कति विद्यार्थी बगायो यकिन छैन । आँखै अगाडि धेरै मान्छे बगायो । हाम्रा धेरै प्रहरी पनि सम्पर्कविहीन हुनुहुन्छ । यहाँ करिब ७० जति घरहरू थिए होलान् । अहिले ती घरहरू कुनै पनि सग्लो छैनन् ।


















