११ भदौ, काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार तथा उपचारका लागि त्रिशूली अस्पताल पुर्याइएका घाइतेको उपचार जारी छ । तर बाढीले सडक र पुलमा क्षति पुर्याएपछि घाइतेलाई अस्पतालसम्म ल्याउन कठिन भएको चिकित्सकले बताएका छन् ।
त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामाका अनुसार बुधबार १६ जना घाइते उपचारका लागि आएका थिए । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले अस्पतालमै भर्ना गरेर उपचार भइरहेको छ ।
बिहीबार थप एक जना २१ वर्षीय पुरुषलाई उद्धार गरी अस्पताल ल्याइएको छ । उनको पनि अवस्था गम्भीर रहेकाले सिटी स्क्यानसहित आवश्यक उपचार भइरहेको लामाले बताए ।
उनका अनुसार बाढी प्रभावित क्षेत्रबाट घाइते ल्याउने सबैभन्दा ठूलो समस्या यातायात अवरुद्ध हुनु बनेको छ । सडक र पुलको सम्पर्क टुटेपछि अस्पतालसम्म सवारी साधनबाट बिरामी ल्याउन सकिने अवस्था छैन ।
‘अहिले हामी हुम्लाभन्दा पनि विकट अवस्थामा पुगेका छौं,’ लामाले अनलाइनबरसँग भने, ‘हेलिकोप्टरबाहेक बिरामी ल्याउने अर्को उपाय नै छैन ।’
अस्पतालको आसपास करिब पाँचदेखि सात किलोमिटर क्षेत्रभित्र रहेका घाइतेलाई भने उद्धार गरेर अस्पताल पुर्याउन सकिएको छ । तर त्यसभन्दा टाढाका बस्तीमा रहेका बिरामी तथा घाइतेलाई अस्पतालसम्म ल्याउन कठिन भएको उनले बताए ।
‘नजिकका जति बिरामीलाई हिजै उद्धार गरेर ल्याउन सकियो,’ उनले भने, ‘तर टाढा रहेका घाइतेलाई अस्पतालसम्म ल्याउन सम्भव भइरहेको छै न। हेलिकोप्टरबाट उद्धार गर्न सकिए मात्र उपचारका लागि ल्याउन सकिने अवस्था छ ।’
बाढीपछि प्रभावित क्षेत्रमा खानेपानी, बिजुली र यातायात सेवा प्रभावित भएको उनले बताए । विशेषगरी विदुर र त्रिशूलीबीचको यातायात सम्पर्क तत्काल पुनःस्थापित गर्नुपर्ने आवश्यकता रहेको लामाले बताए ।
उनका अनुसार ठूलो सडक र पुल तत्काल निर्माण गर्न नसकिए पनि मानिस हिँड्न तथा मोटरसाइकलसम्म आवतजावत गर्न सक्ने अस्थायी पुल वा बाटो बनाउन सके उद्धार र उपचारमा ठूलो सहयोग पुग्नेछ ।
‘सानो भए पनि मानिस हिँड्ने पुल बनाइदिए बिरामीलाई बोकेर पारि पुर्याउन सकिन्थ्यो,’ उनले भने, ‘त्यसपछि बिरामीलाई काठमाडौंसम्म पुर्याउन पनि सहज हुन्थ्यो ।’
उनले बाढी प्रभावित क्षेत्रमा फसेका घाइतेलाई तत्काल अस्पतालसम्म पुर्याउने व्यवस्था मिलाउन तथा राहत केन्द्रमा रहेका मानिसका लागि सुरक्षित खानेपानी, स्वास्थ्य सेवा र सरसफाइको व्यवस्था गर्न सरकारसँग आग्रह गरे ।


















