२० असोज, काठमाडौं । आइतबार नेपालमा पहिलो पटक एपमार्फत सेयर कारोबार भएको छ । हालसम्म एपमार्फत सेयर कारोबारको सुविधा थिएन ।
आइतबारदेखि सेक्योर्ड सेक्युरिटिज (३६) ले कारोबारमा आफ्नै टीएमएस प्रयोग गरेसँगै यसको एप भर्सनबाट पनि कारोबार सुरु भएको हो । नेपालमा पहिलो पटक एपमार्फत कारोबार भएको सेक्योर्ड सेक्युरिटिजका अध्यक्ष सन्तोष मैनालीले बताए ।
‘एट्र्याड डीजी ट्रेड नेपाल’ नामक एपमार्फत कारोबार सुरु भएको हो । यो एप एन्ड्रोइड तथा आईओएस दुवैमा उपलब्ध छ । ‘यसअघिसम्म एपमार्फत कारोबार हुँदैनथ्यो, यो पहिलो पटक हो’ अध्यक्ष मैनालीले भने ‘मोबाइल फ्रेन्ड्ली हुने भएकाले एपमार्फत कारोबार सहज छ ।’
विश्वका हरेक बजारमा कारोबार प्रणाली र त्यसको संयन्त्र ब्रोकर कम्पनीहरुले नै विकास गर्ने भएकाले हालसम्म कारोबारमा एप प्रयोग भएको थिएन । ‘अन्य मुलुकमा पनि कारोबारका लागि एप बनाउने कार्य स्टक एक्स्चेन्जले गर्दैनन्, ब्रोकरले नै गर्ने हो’ नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने ।
नयाँ टीएमएस एप, वेब र डेस्कटप भर्सनबाट सहज रुपमा आइतबार कारोबार सम्पन्न भएको मैनालीले बताए । ‘नयाँ प्रणालीमा कारोबार गर्न अभ्यस्त नभएकाले केहीलाई सुरुका दिन असहज लागेको हुन सक्छ, तर अभ्यस्त भइसकेपछि सहज हुनेछ’ उनले भने ।
आइतबार मात्रै करिब ६ सय जनाले नयाँ टीएमएस (टीएमएस डट्एसएसएल डट् कम डट् एनपी) लगिन गरेको उनले बताए । करिब साढे २ सयले कारोबार गरेका छन् । नयाँबाट कारोबार गर्न नसकेकालाई ब्रोकर कम्पनीले नै खरिदबिक्री गरिदिएका छन् ।
आइतबार सेक्योर्डले आफ्नै टीएमएसबाट मात्रै कारोबार ग¥यो । नयाँ टीएमएस मात्रै प्रयोग हुँदा पनि ब्रोकर कम्पनीको कारोबार पहिलेकै हाराहारीमा छ । यस दिन सेक्योर्डमार्फत कुल ६ करोड ४९ लाखको खरिद हुँदा ६ करोड ६५ लाख रुपैयाँ बराबरको बिक्री भएको छ ।
@अनलाइनखबर