७ मंसिर, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कबीचको मित्रता जगजाहेर नै छ । मस्क र ट्रम्प विभिन्न ठाउँमा सँगै देखिने गरेका पनि छन् ।
यतिसम्म कि डोनाल्ड ट्रम्पलाई आउने फोनकलमा समेत एलन मस्क छिर्ने गरेका छन् । हालै गुगल सीईओ सुन्दर पिचाइले ट्रम्पलाई बधाई दिनका लागि फोनकल गर्ने बेलामा समेत यस्तै घटना भएको छ ।
एलन मस्कलाई नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै एउटा विशेष भूमिका प्रदान गरिसकेका छन् । ट्रम्पले सरकारी दक्षता विभाग (DOGE) को जिम्मेवारी मस्कलाई सुम्पिएका छन् ।
ट्रम्पले चुनावी अभियानकै क्रममा उक्त पदको संकेत गरेका थिए । मस्कले विवेक रामास्वामीसँगै उक्त विभागको नेतृत्व गर्नेछन् । मस्क र रामास्वामीलाई दिइएको जिम्मेवारीका बारेमा ट्रम्पले भनेका छन्– यी दुईजना अमेरिकी मिलेर मेरो कार्यकालमा सरकारी निकायहरुको भारत कम गर्ने, अतिरिक्त नियमहरुमा कटौती, अनावश्यक खर्च कटौतीसँगै संघीय एजेन्सीहरुको पुनर्संरचना गर्नमा पनि सहयोग गर्नेछ । अमेरिका बचाउ अभियानमा यो आवश्यक छ ।
चुनावका बेला गुगलमाथि गम्भीर आरोप
एलन मस्कले अमेरिकी राष्ट्रपतीय चुनावका बेला गुगलमाथि आक्रमण गरेका थिए । गुगल सर्चमा डोनाल्ड ट्रम्प सर्च गर्दा कमला ह्यारिससँग सम्बन्धित समाचार देखाइने गरेको आरोप उनको थियो ।
हुनत ट्रम्पसँगै फोनकलमा एलन मस्क पनि सामेल भएको यो पहिलोपटक होइन । ट्रम्पसँग उनको मित्रता तथा निकटता देखेर उनलाई राष्ट्रपतिको ‘फर्स्ट बडी’ भन्न थालिएको छ । ट्रम्प र मस्कलाई हालै एकसाथ स्पेस एक्सको अन्तरीक्षयान प्रक्षेपणका बेला तथा युएफसी समारोहका क्रममा समेत सँगै देखिएका थिए ।
हालै गुगल सीईओ पिचाइले चुुनावी जितका लागि ट्रम्पलाई बधाई दिनका लागि फोनकल गरेको बेलामा एलन मस्क पनि अनलाइनमा रहेको र उनले दुईबीचको कुराकानीलाई चुपचाप सुनेको बताइएको छ ।
– एजेन्सी