Monday, December 23

उत्तरपश्चिम पाकिस्तानमा साम्प्रदायिक हमलामा ४३ को मृत्यु, केही स्थानमा कर्फ्यू

७ मंसिर, पाकिस्तान । उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक हमलामा परेर ४३ जनाको मृत्यु भएको छ । अफगानिस्तानको सीमा नजिकैको खैबर पख्तुनख्वा प्रान्तको कुर्रममा भएको हमलामा सो संख्यामा मानिसहरूको निधन भएको हो ।

अधिकारीहरूका अनुसार प्रभावित जिल्लामा कर्फ्यू लगाएको छ भने मोबाइल सेवासमेत बन्द गरिएको छ ।

प्रहरी एस्कसँग यात्रा गरिरहेका शिया मुसलमानको दुईवटा छुट्टै समुहमा बन्दुकधारीले बिहीबार गोली हानेका थिए ।

लामो समयदेखि यस क्षेत्रमा सुन्नी र शिया मुस्लिम जनजातीबीच झडप भइरहेको छ ।

वरिष्ठ प्रशासनीक अधिकारी जावेद उल्ला महसुदका अनुसार पीडितहरू मध्ये सात जना महिला र तीन जना बालबालिकासमेत रहेका छन् । त्यस्तै, आक्रमणमा १६ जना घाइते भएका छन् ।

एक वरिष्ठ प्रशासनिक अधिकारीले नाम नछाप्ने शर्तमा शुक्रबार जिल्लाभर मोबाइल सेवा बन्द गरिएको जनाउँदै मुख्य सहर पाराचिनारमा स्थानीयले धरना तथा प्रदर्शन गर्दा स्थिति तनावपूर्ण भएको बताएका छन् ।

माथिल्लो र तल्लो कुर्रम जोड्ने मुख्य सडकमा कर्फ्यू लगाइएको तथा बजार र यातायात बन्द गरिएको अधिकारीले बताएका छन् ।

हिंसाको पाकिस्तानी अधिकारी र मानव अधिकार समूहहरूले निन्दा गरेका छन् । पाकिस्तानको स्वतन्त्र मानव अधिकार आयोग (एचआरसीपी) ले विज्ञप्ति मार्फत घटनाले सरकारले नागरिकको सुरक्षा गर्न असफल भएको पुष्टि गरेको छ ।

यसैगरी हिंसाको चक्रलाई तत्काल रोकी निर्णायक कदम चाल्न माग गरिएको छ । रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *