Monday, December 23

कच्चा मार्बल तथा ग्रेनाइटमा घट्यो भन्सार र अन्तःशुल्क

१० मंसिर, काठमाडौं । उद्योगहरूले ठूलो ढुंगाकै स्वरूपमा ल्याउने मार्बल, एलवास्टर र ग्रेनाइटमा लगाइएको भन्सार र अन्तःशुल्क घटेको छ ।

ढुंगाकै रूपमा आउने कच्चा मार्बल, ग्रेनाइट र तयारी मालमा समान भन्सार दर लागेका कारण उद्योगीहरू मारमा परेको बताउँदै आएका थिए । सरकारले उद्योगीको माग सम्बोधन गर्दै भन्सार र अन्तःशुल्क घटाएको हो ।

ढिक्का वा पाताका रूपमा आयताकार काटिएका मार्बल तथा एलवास्टरमा ३० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क लगाउने काम यसअघिको सरकारले गरेको थियो । अहिले सरकारले भन्सार दरलाई १० प्रतिशतमा झारिदिएको छ भने अन्तःशुल्क शून्य प्रतिशत पारिएको छ।

त्यस्तै, ढिक्का वा पाताका रूपमा आयताकार काटिएका ग्रेनाइटमा भन्सार २० प्रतिशत र अन्तःशुल्क २५ प्रतिशत लगाइएकोमा त्यसलाई घटाएर भन्सार १० प्रतिशतमा झारिएको छ भने अन्तःशुल्क शून्य पारिएको छ ।

यस अतिरिक्त सुन र चाँदीको भन्सार दर घटाएर समान १० प्रतिशत बनाइएको छ । यसअघि सुनको भन्सार दर २० प्रतिशत र चाँदीको दर १५ प्रतिशत थियो ।

सुनका गरगहनाको भन्सार दर १५ प्रतिशत रहेकोमा त्यसमा हेरफेर गरिएको छैन । अब काँचो सुनको तुलनामा गहनाको भन्सार दर ५ प्रतिशत बढी हुने भएको छ । यसअघि ५ प्रतिशत बिन्दुले कम थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *