Monday, December 23

थाइल्यान्डको बिमस्टेक सत्रमा परराष्ट्र टोलीको भर्चुअल सहभागिता

४ पुस, काठमाडौं । ‘बिमस्टेक’ सदस्य राष्ट्रका वरिष्ठ अधिकारीहरूको थाइल्यान्डको बैंककमा जारी बैठकको २४औं सत्रमा कार्यवाहक परराष्ट्र सचिव अमृतबहादुर राई नेतृत्वको नेपाली प्रतिनिधिमण्डल भर्चुअल माध्यमबाट सहभागी भएको छ ।
‘बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यमा बंगालको खाडीको प्रयास’ (बिमस्टेक) को उक्त सत्रको अध्यक्षता थाइल्यान्डको परराष्ट्र मन्त्रालयका डेपुटी स्थायी सचिव पैसान रुपानिच्किजले गरेका छन् । उनी हाल बिमस्टेकका अध्यक्ष पनि हुन् ।

उक्त सत्रमा कार्यवाहक सचिव राईले बिमस्टेकको बडापत्रको दृष्टिकोण र उद्देश्यप्रति नेपालको प्रतिबद्धता दोहोर्‍याएका छन् । त्यसैगरी क्षेत्रीय सहकार्यका उपलब्धिमाथि प्रकाश पार्दै राईले जनता–जनताबीच सम्पर्क क्षेत्र र तिनका उपक्षेत्र संस्कृति, पर्यटन, गरिबी निवारणका साथै सम्पर्क मञ्चबीच भएका प्रगतिको अवस्थाबारे जानकारी दिए । यिनमा नेपाल एक अग्रणी देश रहेको उनले बताए ।

यसैबीच राईले विद्यमान् कानुनी प्रावधान प्रभावकारी लागु गर्न, समतामूलक जलवायु वित्तपोषणमा मिलेर काम गर्न र बिमस्टेक क्षेत्रभित्र सहज पहुँच र संस्थागत प्रक्रियामा बढावा दिनुपर्ने धारणा राखे ।

उक्त सत्रमा विभिन्न समझदारीपत्र, प्रतिवेदन, सहमति भएका प्राथमिकताका क्षेत्रमा सहकार्यका लागि कार्ययोजना माथि छलफल गरी यस्ता नीतिगत दस्ताबेजलाई आगामी बिमस्टेक मन्त्रीस्तरीय बैठकमा अनुमोदनका लागि सिफारिस गर्ने निर्णय गरिएको छ ।

सत्रमा थाइल्यान्डमा हुने छैटौं बिस्टेक शिखर सम्मेलन पूर्वतयारीका बारेमा पनि छलफल गरेको थियो ।

समग्रमा उक्त सत्रले बिमस्टेक ढाँचामा क्षेत्रीय सहयोगतर्फ भएको प्रगति विवरण समीक्षा गरी प्रतिवेदन ग्रहण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *