Monday, December 23

निकासी पैठारी संघमा अग्रवाल नेतृत्वको नयाँ कार्यसमिति

८ पुस, काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघ अध्यक्षमा शिवकुमार अग्रवाल चयन भएका छन् । आइतबार काठमाडौंमा सम्पन्न संघको ४४औं वार्षिक साधारणसभाबाट आगामी कार्यकालका लागि अग्रवालको नेतृत्वमा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन भएको हो ।

नयाँ कार्यसमिति प्रथम उपाध्यक्षमा अनिलकुमार अग्रवाल, द्वितीय उपाध्यक्ष गौरव शारडा र महासचिवमा जयन्तकुमार अग्रवाल चुनिएका छन् । त्यसैगरी प्रथम सचिवमा स्वाती रुंगटा अग्रवाल, द्वितीय सचिव विष्णुकुमार जोशी र कोषाध्यक्षमा ऋषिराज मोर चुनिएका छन् ।

त्यसैगरी सदस्यमा आकाश गोल्छा, कुमारबहादुर कार्की, गोविन्दलाल संघई, दिपेश खेतान अग्रवाल, निर्मल पौडेल, प्रदीप राजगाढिया, प्रभातकुमार सर्राफ, बसन्त अग्रवाल, मदन मित्तल, मयंक केडिया, रामचन्द्र खेतान, विमलसिद्धार्थ वैद, सुमितकुमार वंशल र सञ्जय अग्रवाल छन् ।

कार्यसमितिको परामर्शमा अध्यक्ष शिवकुमार अग्रवालले अभिनव चुरिवाल, पंकल जालान, रुपाली सिकारिया र डिल्लीरत्न तुलाधरलाई कार्यसमितिमा मनोनीत गरेका छन् । संघको विधानमा कार्यसमितिमा २० सदस्य प्रत्यक्ष निर्वाचन र चार सदस्य अध्यक्षले निर्वाचित कार्यसमितिको परामर्शमा मनोनीत गर्ने प्रावधान छ । निवर्तमान अध्यक्ष र त्यसअघिका अध्यक्ष कार्यसमितिमा पदेन सदस्यका रूपमा रहने व्यवस्था विधानमा छ ।

नवनिर्वाचित अध्यक्ष अग्रवालले ‘सशक्त व्यवसाय, समृद्ध राष्ट्र निर्माण’ नारा निर्देशक सिद्धान्त मानेर व्यवसायमैत्री वातावरण अझ मजबुत बनाउने र व्यवसायीको हकहितका पक्षमा पैरबी गर्नेतर्फ नयाँ कार्यसमितिको प्रयास केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

साधारणसभा उद्घाटनमा प्रधानमन्त्रीका आर्थिक एवं विकास सल्लाहकार तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. युवराज खतिवडाले पछिल्लो ५/६ वर्षमा सरकारले लिएको नीतिले नै अर्थतन्त्रको अवस्था बिग्रिएको भन्दै त्यसलाई सही बाटोमा ल्याउन वर्तमान सरकार लागिपरेको बताए । संघले उठाएका थुप्रै मुद्दामा आफ्नो सहमति रहेको भन्दै उनले त्यसमा सुधार गरिने तर सुधार प्रक्रियाले समय लिन सक्ने बताए ।

त्यसैगरी निवर्तमान अध्यक्ष विनोद सेठियाले आयात–निर्यात व्यापार एवं समग्र अर्थतन्त्रका विविध विषय उठाएका थिए । त्यसैगरी कार्यसमिति सदस्य जयन्तकुमार अग्रवालले व्यवसायको वर्तमान अवस्था र सुधारका लागि चाल्नुपर्ने कदमबारे सशक्त प्रस्तुति दिएका थिए ।
नीतिगत र प्रक्रियागत कमजोरीका कारण व्यावसायिक क्षेत्रले भोग्नुपरेका समस्यालाई मिहिन ढंगले उतारिएको प्रस्तुतिमा समस्या समाधानको उपायसमेत सुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *