Tuesday, January 14

गर्भावस्थामा एचपीभी खोप लगाउन हुन्छ ?

पाठेघरको मुखको क्यान्सरलाई एचपीभी भाइरस अर्थात् ह्युमन प्यापिलोमा भाइरसबाट हुने क्यान्सर भनिन्छ । यो क्यान्सर विश्वभरका महिलामा धेरै लाग्नेमा चौथो नम्बरमा पर्छ । यसकै कारण हरेक वर्ष तीन लाख महिलाको ज्यान जाने गरेको छ ।

ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) यौन सञ्चारित रोगको सूचीमा पर्ने सबैभन्दा सामान्य समस्या हो । एचपीभी संक्रमण सङ्क्रमित व्यक्ति (पुरुष वा महिला)को सम्पर्कमा आउँदा हुन्छ । जसकारण शरीरका केही विशेष अङ्ग खासगरी यौनाङ्गमा मुसा बन्न थाल्छ । यदि यो भाइरस लामो समयसम्म शरीरमा रह्यो भने यसले क्यान्सर निम्त्याउन सक्छ ।

तर यस क्यान्सरबाट बच्न एचपीभी खोप लगाउन सकिन्छ ।

किन जरुरी छ यो खोप ?

ह्युमन प्यापिलोमा भाइरसका कारण महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्छ । यसले मलद्वार, भल्ब, योनी र घाँटीको पछाडिको भागमा छिटो आक्रमण गर्छ ।

ह्युमन प्यापिलोमा भाइरस विरुद्ध सुरक्षा गर्न खोप निर्माण भएको हो । एचपीभी भ्याक्सिन बी प्रकारको ह्युमन प्यापिलोमा भाइरसबाट जोगाउन सहयोगी भएको देखाइएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनमा प्रकाशित प्रतिवेदनअनुसार महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिमलाई ध्यानमा राख्दै एचपीभी भ्याक्सिन बालिकाका लागि अनिवार्य घोषणा गरिएको छ ।

यस अनुसन्धान प्रतिवेदनमा भारतको तथ्याङ्कको चर्चा गरिएको छैन, तर सन् २०१६ मा संयुक्त राज्य अमेरिकामा १२ हजार महिलामा पाठेघरको मुखको क्यान्सर भएको पत्ता लागेको थियो । यी १२ हजार महिलामध्ये चार हजार महिलाको पनि यही कारणले मृत्यु भएको थियो । यो संख्या प्रकाशित गर्नुको उद्देश्य यस रोगबारे सचेत गराउनु र एचपीभी खोपको आवश्यकता बुझाउनु हो ।

एचपीभी भाइरससँग सम्पर्कमा आउनुअघि नै खोप पाउन सके त्यसले सबभन्दा राम्रो परिणाम दिन्छ ।

कुन उमेरका महिलालाई एचपीभी खोप सिफारिस गरिन्छ ?

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनमा प्रकाशित प्रतिवेदन अनुसार विभिन्न उमेरका युवतीहरुलाई एचपीभी खोप दिन सकिन्छ । जसमा ११ देखि १२ वर्षका किशोरी र १३ देखि २६ वर्षका किशोरी र युवतीहरुका लागि एचपीभी खोप लगाउन सिफारिस गरिन्छ ।
यी दुई फरक चरणमा खोप सिफारिस गरिन्छ । यसबाहेक एचपीभी खोप नौ वर्षको उमेरमा पनि दिन सकिन्छ । तर अनुसन्धान रिपोर्टअनुसार ११ देखि १२ वर्षको उमेरभित्रमा एचपीभी खोप दिइयो भने क्यान्सरको सम्भावना कम गर्न बढी प्रभावकारी हुने देखिन्छ ।
गर्भावस्थामा एचपीभी खोप लगाउनु उचित हुन्छ ?

एचपीभी खोप गर्भवती महिलालाई दिइँदैन । महिलालाई कुनै रोग लागेमा त्यस्तो अवस्थामा पनि खोप दिइँदैन । नेसनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेसनमा प्रकाशित प्रतिवेदन अनुसार एलर्जीको समस्याबाट पीडित व्यक्तिले एचपीभी भ्याक्सिन लिनुअघि चिकित्सकलाई जानकारी गराउनुपर्छ । साथै, अन्य कुनै स्वास्थ्य समस्या भएका महिलाले पनि खोप लगाउनुअघि चिकित्सकको परामर्श लिनुपर्छ ।

उच्च जोखिम कसलाई ?

अत्यधिक मदिरा सेवन गर्ने, एकभन्दा बढी व्यक्तिसँग यौन सम्पर्क गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका महिला र पुरुषमा उमेरसँगै एचपीभीको जोखिम बढ्छ ।

एचपीभी खोपको साइड–इफेक्ट ?

एचपीभी खोप लगाएपछि सामान्य असुविधाको सामना गर्नुपर्ने हुनसक्छ । जस्तै- दुखाइ, सुई लगाएको ठाउँमा सुन्निने रातो हुने हुन्छ । यी समस्याबारेमा चिन्ता गर्नुपर्दैन, किनकि ती साइड-इफेक्ट दुई-तीन दिनमा आफैं निको हुन्छ । तर यो समस्या लामो समयसम्म रह्यो वा अन्य कुनै शारीरिक समस्या देखिएमा ढिलो नगरी चिकित्सकको सल्लाह लिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *