Saturday, January 4

कांग्रेस–एमालेमात्रै मिलेर संविधान संशोधनमा जानु गलत हुन्छ : कोइराला

१४ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधनको एजेन्डामा सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमाले मात्रै अघि बढ्दा गलत बाटोमा पुगिने बताएका छन् ।

आइतबार बिहान जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले माओवादी, मधेशका दल, रास्वपा र अन्य दलहरूसँग मिलेर संविधान सुधारका कुरा अघि बढाउनुपर्ने जिकिर गरे ।

‘माओवादी, मधेशका दलहरू, रास्वपा अन्य दलहरूसँग मिलेर संविधान सुधारका कुरा गर्नुपर्छ,’ कोइरालाले भने, ‘नेपाली कांग्रेस र एमाले मात्रै मिलेर सोच्यौँ भने त्यो फेरि गलत बाटोतिर हामी जान थाल्छौँ ।’

साथै, उनले कोइरालाले पटक पटक सरकार बदलिँदा विकासका काममा बाधा परेकाले अहिलेको सरकार विकासलाई गति दिनका लगि बनेको बताए ।

‘दुई ठूला दल एक ठाउँमा उभिएर हामी निर्वाचनमुखी भएर अघि बढिरहेका छौँ । ०८४ को निर्वाचनका लागि हामी अघि बढेका छौँ,’ कोइरालाले भने, ‘राजनीतिक स्थायित्वका निम्ति हामीले यो नेपाली कांग्रेस र एमालेको गठबन्धन गरेर चुनावमा हामी जाने भन्ने हो ।’

उनले वर्तमान सरकारले भ्रष्टाचारका विषय नियन्त्रण गर्न नसकेको पनि बताए ।

‘भ्रष्टाचारका कुराहरू पनि हामीले नियन्त्रण गर्न सकिरहेका छैन । सँगसँगै संविधानमा केही सुधारहरू ल्याउनुपर्छ भन्ने कुराहरू नेपाली कांग्रेस र एमालेमा भएको थियो ।’

नेता कोइरालाले यो सरकारलाई असफल हुने छुट नरहेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *