Wednesday, January 15

सुकुटे पुगेर प्रचण्डले भने– यो सरकार आफैँ ढल्छ, हामीले बल गर्नै पर्दैन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार आफैँ ढल्ने बताएका छन् ।

मंगलबार सिन्धुपाल्चोकको सुकुटेमा प्रेस सेन्टर नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले ओली नेतृत्वको सरकार अप्राकृतिक, अपारदर्शी र असंवैधानिक भनेर आफूले आलोचना गर्दै आएको दोहोर्‍याए । उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण तथा सुशासनको काममा लागिरहेका बेला भ्रष्टाचारीलाई बचाउन रातारात सदनका दुई ठुला दल मिलेर सरकार गठन गरिएको बताए ।

‘भ्रष्टाचारीलाई बचाउने उद्देश्यका साथ नै सदनभित्रका पहिलो र दोस्रो पार्टीहरू मिलेर सरकार बनाएका हुन्’, प्रचण्डले भने, ‘प्राय पहिलो र दोस्रो ठुलो दल सरकार बनाउने कुरामा लोकतन्त्रमा मिल्दैनन् । मिल्न हुँदैन यदि लोकतन्त्रलाई सुदृढ बनाउने हो भने ।’ उनले लोकतन्त्रमा पहिलो दलले सरकार बनाउने र दोस्रोले खबरदारी गर्नुपर्ने बताए ।

अध्यक्ष प्रचण्डले वर्तमान सरकार गठनका क्रममा राष्ट्रपति रामचन्द्र पौडेललाई ठुलो दबाब परेको पनि बताए ।

‘अन्तिम समयसम्म संविधानको उपधारा ३ मा सरकार बनाउन तयार हुनुहुन्थ्यो राष्ट्रपतिजी, तर राष्ट्रपतिमाथि यस्तो दबाब दिइयो कि निकै ठुलो धर्मसंकटमा परियो । त्यसो भएपछि उहाँले थाहा पाएरै’, प्रचण्डले भने, ‘तर हामी तुरुन्तै यो सरकार गिराउने र सरकारमा जाने भनेका छैनौँ ।’

सरकारबाट हटेर जनतामा जान पाउँदा आफूलाई रिल्याक्स महसुस भएको पनि प्रचण्डले बताए ।

‘अहिले हामीले पनि रिल्याक्स गरेका छौँ । प्रधानमन्त्री हुनुभन्दा अहिले बढी सहज महसुस गरेको छु’, प्रचण्डले भने, ‘जनताको विश्वास, भरोसा र माया पनि बढेको महसुस हुन्छ ।’

यसो भन्दै गर्दा यो सरकार टिकिराखोस् भन्ने चाहाना आफूले नराखेको प्रचण्डले बताए । ‘अप्राकृतिक भएकाले यो सरकार अन्ततः ढल्नु नै छ । हामीले धेरै बल गर्नुपर्दैन । यसको आयु धेरै छ जस्तो लाग्दैन’, उनले भने, ‘मैले मिति तोक्नु त ठिक नहोला तर कांग्रेसका संस्थापन पक्षकै नेताहरूमा असन्तुष्टि आइरहेको छ ।’

साथै उनले सरकार जसरी चलेको छ त्यसले पनि सरकारको आयु छोट्याउँदै लगेको बुझ्न सकिने बताए ।

विद्युत प्राधिकरणका एमडी हटाउने, संवैधानिक आयोगमा उपसभामुख हटाउन हस्ताक्षर गर्ने, बाढी पहिरोमा जनतालाई राहत दिन नसक्ने तथा सदनबाट बनाउनुपर्ने कानुन अध्यादेशबाट अघि बढाएर सरकारले कुबाटो रोजेको बताए । ‘सदन बोलाउन ढिलो गर्ने र अध्यादेशबाट शासन सत्ता चलाउन खोजिरहेको छ सरकार । सदनबाट सजिँदै पास गर्न सक्ने विधेयकहरू अध्यादेशको बाटो किन हिँडनुपर्यो भन्दा नियत नै खराब छ । सरकारसँग दुई तिहाइ बहुमत भएपनि फेस गर्ने साहस छैन’, प्रचण्डको भनाइ छ । कमजोर, निरीह र गैरजिम्मेवार सरकारले मुलुकको निकास दिन नसक्ने प्रचण्डको ठहर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *