जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न आज दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक अझै सञ्चालन हुन सकेको छैन ।
प्रदेश सभाको बैठक केही ढिलो गरी सुरु हुने भएको छ । विभिन्न दलबिच छलफल जारी रहँदा बैठक समयमै सुरु हुन नसकेको प्रदेश सभा सचिवालय स्रोतले जनाएको छ ।
यसैबिच, जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश सभा सचेतक रामअशिष यादवले विपक्षी दलहरू विश्वासको मतका सम्बन्धमा तटस्थ बस्ने बताए ।
सचेतक यादवले भने, ‘यदि मतदान प्रक्रियामा जाने निर्णय भयो भने प्रतिपक्षमा रहेका जसपा नेपाल, नेकपा माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी लगायतका दलहरू तटस्थ बस्ने निर्णय भएको छ ।’
यता, कांग्रेस, एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतका दलहरू भने अझै आन्तरिक छलफलमै व्यस्त छन् । यी दलहरूले विश्वासको मतमा कसरी उभिने भन्ने विषयमा अन्तिम निर्णय सार्वजनिक गरेका छैनन् ।


















