विज्ञापन

हावाहुरी र वर्षाले विद्युत् आपूर्ति अवरुद्ध

विज्ञापन
Image
विज्ञापन

विराटनगर । गएराति आएको वर्षा र हावाहुरीले मोरङ र सुनसरीका विभिन्न क्षेत्रमा विद्युत पूर्वाधारमा क्षति पुर्‍याएको छ ।

मोरङको बेलबारी र सुनसरीको दुहबी क्षेत्रमा विद्युतका पोलहरू ढल्दा र तारहरू चुँडिँदा विद्युत सेवा अवरुद्ध भएको छ ।

विराटनगरमा हिजो रातीदेखि नै विद्युत् अवरुद्ध छ । कतिपय ठाउँमा विद्युत सुचारु भएपनि अझै धेरै स्थानमा विजुली आपूर्तिमा समस्या देखिएको प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण कोशी प्रदेशका प्रमुख कमल आचार्यका अनुसार मोरङको बेलबारी क्षेत्रमा मात्रै २२ वटा एचटी (हाई टेन्सन) र ४ वटा एलटी (लो टेन्सन) गरी कुल २६ वटा पोलमा क्षति पुगेको छ । बेलबारीमा ११ केभी लाइनका पोलहरूमा बढी क्षति पुगेको उनले जानकारी दिए ।

‘बेलबारीमा मात्रै २२ वटा ११ केभीका एचटी पोल र ४ वटा ४०० भोल्टका एलटी पोल ब्रेक भएका छन् । अहिले हाम्रो टोली मर्मतका लागि कार्यक्षेत्रमा खटिसकेको छ,’ आचार्यले भने ।

त्यसैगरी, सुनसरीको दुहबी क्षेत्रमा पनि विद्युत आपूर्तिमा ठूलो समस्या देखिएको छ । दुहबीमा ३३ केभीको उच्च भोल्टेज प्रसारण लाइनमै क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । हावाहुरीका कारण विद्युत सेवा अवरुद्ध भएपछि उपभोक्ताहरूलाई सास्ती भएको छ ।

प्राधिकरणका अनुसार अवरुद्ध विद्युत सेवालाई आज साँझसम्ममा अस्थायी रूपमा सुचारु गर्ने तयारी भइरहेको छ । यद्यपि, संरचनाहरूमा पुगेको क्षतिका कारण पूर्ण र स्थायी रूपमा विद्युत सुचारु हुन भने केही दिन लाग्ने देखिएको छ ।

‘लाइन सुचारु मात्र गराउन धेरै समय नलागे पनि भाँचिएका पोलहरू फेरेर पुरानै अवस्थामा ल्याउन भने दुई–चार दिनको समय लाग्छ,’ आचार्यले भने, ‘गर्मीका कारण बेलुकाको समयमा ‘पिक लोड’ बढी हुने भएकाले वैकल्पिक व्यवस्था गर्दा पनि केही ठाउँमा लोड नपुग्ने समस्या हुन सक्छ ।’ अहिले प्रदेशका अन्य क्षेत्रबाट पनि क्षतिको विवरण संकलन गर्ने काम भइरहेको र प्राविधिक टोलीले अवरुद्ध लाइन खुलाउन युद्धस्तरमा काम गरिरहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन