५ असार, काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२ को प्रदेशगत नतिजा सार्वजनिक गरिएको छैन ।
शुक्रबार बिहान समग्रमा नतिजा सार्वजनिक गर्दा प्रदेश अनुसारको नतिजा भने सार्वजनिक नगरिएको हो । बोर्डका अनुसार १ हप्तापछि प्रदेशगतरुपमा सार्वजनिक गरिनेछ ।
‘पहिला विद्यार्थीलाई प्राथमिकता दिएका हौँ । प्रदेश अनुसारको १ सातापछि आउँछ,’ परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ।
विषयगत भने सार्वजनिक गरिएको उनले बताए । सार्वजनिक नतिजा अनुसार नियमिततर्फ ६९.७५ विद्यार्थी ग्रेडेड भएका छन् । नियमितमा ३ लाख ३२ हजार २४१ जना परीक्षामा सहभागी भएका थिए ।
जसमा २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् भने १ लाख ४७१ जना ननग्रेड भएका छन् । आंशिकतर्फ ८५ हजार ९२९ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ३६ हजार ४२० जना ग्रेडेड भएका छन् ।
यो आंशिकतर्फ मात्र ४२.३८ प्रतिशत ग्रेडेड भएका छन् । समग्रमा नियमति र आंशकि गरी ४ लाख १८ हजार १७० जना विद्यार्थीले परीक्षा दिएका थिए । नियमित र आंशिक जोड्दा भने ग्रेडेड प्रतिशत ६४.१३ प्रतिशत हुन्छ । नियमिततर्फ ३० र आंशिकतर्फ १० गरी ४० जनाको परीक्षा रद्द गरिएको छ ।
‘अघिल्लो वर्षको तुलनामा नतिजामा सुधार आएको छ,’ नियन्त्रक शर्माले भने । परीक्षा २०८३ वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको थियो ।


















