नेपालमा जनधनको ठूलो क्षतिको एउटा प्रमुख कारण सडक दुर्घटना हो। नेपाल संसारकै सर्वाधिक दुर्घटना हुने देशमा पर्छ। सडक दुर्घटनाबाट गत एक दशकमा २४ हजारभन्दा बढीको ज्यान गयो। पछिल्लो पाँच वर्षमा २ हजार ६६१ पैदलयात्रुको मृत्यु भएको छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार ५ देखि २९ वर्ष उमेर समूहका बालबालिका तथा युवाहरूको मृत्युको प्रमुख कारण सडक दुर्घटनाबाट हुने चोटपटक हो। विश्वभर सडक दुर्घटनाबाट हुने कुल मृत्युको ९२ प्रतिशत हिस्सा निम्न तथा मध्यम आय भएका देशहरूमा हुन्छ।
नेपालमा दैनिक सात जनाको ज्यान लिइरहेको दुर्घटनाको असर मानवीय क्षतिमा सीमित छैन; यसबाट सामाजिक, आर्थिक र स्वास्थ्य क्षेत्रसमेत प्रत्यक्ष रूपमै प्रभावित छन्। कतिपयले दुर्घटनाको सम्पूर्ण दोष चालकलाई दिने गर्छन्। तर यथार्थमा सुरक्षित यात्रामा सडक, सवारीसाधन र प्रयोगकर्ता (चालक, यात्री, पैदलयात्रु) जिम्मेवार हुन्छन्।
यी तीन पक्षसँग जोडिएका व्यक्तिहरूलाई सजग, सचेत र आवश्यक परे कारबाही गर्ने दायित्व राज्यको हो। सुरक्षित यात्राका लागि आवश्यक पर्ने कानुन, त्यसको प्रभावकारी कार्यान्वयन, सुरक्षित सवारी र सडक, जिम्मेवार प्रयोगकर्ता र दुर्घटनापछि प्रभावकारी उपचार तथा उपचारपछि पुनर्स्थापना अनिवार्य छ।
१५ असार, काठमाडौँ। शनिबार,आइतबार वा अन्य सार्वजनिक बिदाका दिन थापाथली चोकमा ‘ट्राफिक प्रहरी छैन’ भन्दै तपाईंले ट्राफिक नियम त मिच्नुभएको छैन ? रातो बत्तीमै हुइँकिने वा लेन मिच्ने त गर्नुभएको छैन ?
ट्राफिक प्रहरी छैन भनेर यस्तो गरिरहनुभएको छ भने तपाईं गल्ती गर्दै हुनुहुन्छ; जसबापत कि कारबाही परिसक्नुभयो वा पर्ने सम्भावना छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले पछिल्लो समय थापाथली चोकमा सार्वजनिक बिदाका दिन ‘ट्राफिकमुक्त अभियान’ चलाएको छ।
एसएसपी नवराज अधिकारीको पालमा यो अभियान सुरु गरेको करिब एक महिना भइसकेको छ। नयाँ प्रमुखका जिम्मेवारीमा आएका एसएसपी सुरेश काफ्लेले पनि यो अभियानलाई निरन्तरता दिँदै ट्राफिक निगरानीलाई व्यापक बनाएको बताएका छन्।
अन्य दिनभन्दा सार्वजनिक बिदाको समयमा सवारी चाप कम हुने र त्यस दिन निगरानी गर्न सहज हुने भन्दै सार्वजनिक बिदाको दिन थापाथली चोकमा पोसाकरहित ट्राफिक व्यवस्थापन सुरु गरिएको छ।
अहिले सादा पोसाकमा सडकमा ट्राफिक प्रहरी खटिएका हुन्छन् भने युनिफर्म लगाएका केही ट्राफिक प्रहरी भने थापाथली चोकका केही घरका छतमा बसेर समेत निगरानी गरिरहेका हुन्छन्।
कोही-कसैले ट्राफिक नियम उल्लङ्घन गरे सादा पोसाकमा बसेका ट्राफिक प्रहरीले तत्कालै जरिबानाको चिट थमाउँछन्। छतबाट पनि क्यामेराले सडकका सबै गतिविधि कैद गरेको हुन्छ। यसका साथै सीसीक्यामेराले समेत कैद गरेका दृश्यका आधारमा ट्राफिक प्रहरीले चिट थमाउँछ।
यो अभियानलाई क्रमशः निरन्तरता दिँदै सडकमा ट्राफिक नै नदेखिई सवारी व्यवस्थापन गर्ने गरी काम सुरु गरिएको एसएसपी काफ्ले बताउँछन्। ‘अपवादबाहेक संसारका कुनै पनि देशमा सडकमा ट्राफिक प्रहरी खटिएर सवारी व्यवस्थापन गरेको देखिँदैन। तर हाम्रोमा भने ट्राफिक सडकमा खटिएर सिट्ठी नफुकेसम्म नसुन्ने चलन छ। यसलाई बिस्तारै हटाउने योजनामा हामी लागेका छौँ,’ उनले अनलाइनखबरसँग भने।
प्रविधिमार्फत काठमाडौँ उपत्यकामा मात्र ट्राफिक प्रहरीले एक महिनामा ७३ हजार २९९ चालकलाई कारबाही गरेको छ। जसमा ई-चलानमार्फत सबैभन्दा बढी २४ हजार २९१ चालक कारबाहीमा परेका छन्।
नागरिक एपमार्फत ट्राफिक प्रहरीले कारबाही गर्छ। ई-चलानमा ट्राफिकले चिट काट्दैन। नागरिक एपमार्फत नै कारबाहीको विवरणबारे चालकलाई जानकारी हुन्छ। यसरी ई-चलानमार्फत गरिएको कारबाहीको सबै विवरण पनि ट्राफिकको आफ्नो सिस्टममा जान्छ।
त्यसैगरी ब्रेथलाइजरमार्फत मापसे कारबाहीको सङ्ख्या पनि ३ हजार ९६८ छ। सीसीटीभीमार्फत ट्राफिक नियम उल्लङ्घन गरेको पहिचान गरेर ३ हजार ६३२ चालकलाई जेठ महिनामा कारबाही गरिएको ट्राफिक प्रवक्ता तथा एसपी नरेशराज सुवेदी बताउँछन्। अटोमेटिक नम्बर प्लेट रिकग्निसन (एएनपीआर) क्यामेरामार्फत १ हजार ७०६ र भिडियोमार्फत ६ जना चालक कारबाहीमा परे।
ट्राफिक प्रहरी भौतिक रूपमा सडकमा खटिँदा चालकसँग ‘कन्फ्रन्टेसन’ (टकराव) हुने र यसले गर्दा ट्राफिक प्रहरीको छविमा समेत असर परेको अधिकारीहरूको बुझाइ छ। अब भने ट्राफिक प्रहरी खटिनुपर्दा क्यामेरासहित खटिने र गल्ती गर्नेलाई प्रमाण नै देखाएर चिट काट्नेसम्मका योजनाहरू अघि बढाएर काम गर्ने तयारी ट्राफिक प्रहरीको छ।
रोबोटबाट सचेतना कक्षा
प्रविधिमैत्री बन्दै गएको ट्राफिक प्रहरीले पछिल्लोपटक रोबोटको प्रयोग गर्न लागेको छ। केही दिनअघि मात्रै रोबोटको डेमोसमेत ट्राफिक प्रहरीले सार्वजनिक गरेको थियो। युनिटी नेपालको सहकार्यमा त्यसलाई अहिले परीक्षणकै रूपमा राखिएको छ।
लेन क्रस, ट्राफिक लाइटको उल्लङ्घन, मापसे (मादक पदार्थ सेवन), लापसे (लागुपदार्थ सेवन), अधिक गति जस्ता ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई दिने सचेतना कक्षामा अहिले रोबोटलाई प्रयोग गरिएको छ।
सचेतना कक्षामा कसरी प्रयोग गर्न सकिन्छ भनेर अहिले रोबोटलाई सिकाउने, टास्क दिने गरी परीक्षण भइरहेको एसपी सुवेदी बताउँछन्। सचेतना कक्षाबारे पूरै तालिम प्राप्त भएपछि रोबोटमार्फत सचेतना कक्षा सञ्चालन गर्ने गरी अहिले त्यसलाई तालिम दिइरहेको उनले बताए। ट्राफिक नियम उल्लङ्घन गर्ने करिब ६ सय चालकलाई दैनिक सचेतना कक्षा ट्राफिक प्रहरीले दिँदै आएको छ।
यसका साथै पैदलयात्रीलाई दिने सचेतना कक्षामा पनि रोबोटको प्रयोग गर्न सकिनेबारे गृहकार्य भइरहेको छ। जथाभाबी बाटो काट्ने पैदलयात्रीलाई दिने सचेतनाबारे पनि अहिले रोबोटलाई तालिम दिन सुरु गरिएको छ। तालिम प्राप्त भएपछि ट्राफिककै युनिफर्म लगाएर रोबोटलाई ट्राफिक प्रहरीकै रूपमा प्रयोग गरिने बताइएको छ।
एएनपिआर क्यामेरा
ट्राफिक व्यवस्थापनमा अटोमेटिक नम्बर प्लेट रिकग्निसन (एएनपीआर) क्यामेरा पनि प्रयोगमा ल्याइएको छ। यस्ता क्यामेरा जम्मा ६ वटा छन्।
यो क्यामेराले गाडीभित्रै बसेका चालकको ‘फेस रिड’ गर्नेदेखि गाडीको नम्बर प्लेट पहिचान गर्नेसम्मको काम गर्छ। एक ठाउँमा गल्ती गरेर भागेको सवारी अर्को ठाउँमा पुगे पनि यो क्यामेराले नम्बर प्लेट पहिचान गर्नेदेखि चालकको फोटोसहितको विवरण उपलब्ध गराउँछ।
यसलाई एक ‘स्मार्ट कम्प्युटर प्रविधि’ मानिन्छ। यसले सवारीको नम्बर प्लेटदेखि चालकको ‘फेस रिड’ गरेर त्यसको अप्टिकल क्यारेक्टर पहिचान गर्छ। सडकमा कुनै सवारीले गल्ती गरेमा त्यसको सूचना एएनपिआरमार्फत ट्राफिकले आफ्नो च्यानलमा प्राप्त गर्छ।
लापसे, मापसे
ट्राफिक प्रहरीले प्रयोगमा ल्याएको अर्को प्रविधि हो- ब्रेथलाइजर, लागुऔषध जाँच गर्ने किट। मापसे जाँचका लागि ट्राफिक प्रहरीले ब्रेथलाइजर प्रयोगमा ल्याएको छ।
गणेश राई ट्राफिक प्रमुख भएका बेला मापसे जाँच सुरु भएको थियो। अहिले मापसे जाँच गर्ने ब्रेथलाइजर काठमाडौँ उपत्यका ट्राफिक प्रहरीसँग १०० थान छन्। उपत्यकाबाहिरका जिल्लाहरूमा पनि ब्रेथलाइजरमार्फत मापसे जाँच हुँदै आएको छ।
मापसे जाँच सुरु भएसँगै मदिरा सेवन गरेर हुने दुर्घटनामा भने ५० प्रतिशतसम्मले कमी आएको एसएसपी काफ्लेको दाबी छ। पछिल्लो समय भने मापसेसँगै लागुपदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने प्रवृत्ति पनि देखिएको छ। स्कुल बसका चालकदेखि फोहोर बोक्ने सवारी चालकसम्मले लापसे गरेर गाडी चलाएको जाँचका क्रममा पुष्टि भएको छ।
सार्वजनिक सवारीमा ड्यासक्याम
१४ वैशाखबाट काठमाडौँ उपत्यकाभित्र चल्ने सार्वजनिक सवारीसाधनहरूमा अनिवार्य ड्यासक्याम/सीसीक्यामेराको व्यवस्था गरिएको छ। १४ वैशाखमै १०१ वटा साझा यातायात र अन्य ५ गरी १०६ सार्वजनिक सवारीमा ड्यासक्याम जडान गरिएको थियो।
२ असारसम्म यो सङ्ख्या ३ हजार ३०३ पुगेको छ। सीसीक्यामेरा तथा ड्यासक्याम सार्वजनिक सवारीमा सवारीधनी आफैँले जोड्नुपर्ने हुन्छ। नवीकरण तथा कर तिर्न जाँदा सार्वजनिक सवारीमा ड्यासक्याम तथा सीसीक्यामेरा जडान भएको यकिन गरेर मात्रै नवीकरण गर्न भन्दै ट्राफिकले यातायात विभागलाई पत्राचारसमेत गरेको थियो।
‘हामीले मिति नै तोकेर यति दिनभित्र ड्यासक्याम जोड्न भनेका त छैनौँ, तर नवीकरण गर्न जाँदा ड्यासक्याम भएको अनिवार्य गरेर मात्रै नवीकरण गर्न यातायातलाई पत्राचार गरेका छौँ,’ एसपी सुवेदी भन्छन्।
सीसीक्यामेरा तथा ड्यासक्याम जडान भएपछि गाडीभित्र हुने पाकेटमारी, चोरीदेखि दुर्व्यवहार, हिंसा, ब्याड टच जस्ता विषयहरूको अनुसन्धान गर्न सहज हुने बताइएको छ। त्यसैगरी चालक/सहचालकको व्यवहारदेखि दुर्घटनाबारे पनि यकिन पहिचान हुन सक्ने बताइएको छ। कसरी दुर्घटना भयो, कसको गल्ती भयो जस्ता विषयहरू पहिचान गर्न सहज हुने भएकाले ड्यासक्यामलाई अनिवार्य गरिएको हो।
सरकारले सार्वजनिक गरेको शासकीय सुधारका १०० कार्यसूचीमा समेत ‘सार्वजनिक सवारीमा सीसीक्यामेरा/ड्यासक्याम जडान’ बारे उल्लेख छ।
घरमै चिट
सोमबार ३७ वर्षीय विनय अर्याल उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सचेतना कक्षा लिन पुगेका थिए। सचेतना कक्षा लिन पुग्नुको कारण थियो- उनले रातो बत्तीमा बाइक क्रस गराए।
शनिबारको दिन ट्राफिक नदेखेपछि थापाथली चोकमा रातो बत्तीमै बाइक क्रस गराएर हुइँकिएको दुई दिनपछि उनको मोबाइलमा फोन आयो- ‘तपाईंले ट्राफिक नियम उल्लङ्घन गरेर सवारी चलाउनुभएको छ, क्लास लिन कार्यालयमा आउनुहोला।’
उनी छक्क परे। कार्यालय पुगेपछि रातो बत्तीमै मोटरसाइकल कुदाएको भिडियो फुटेज ट्राफिक प्रहरीले देखायो। त्यसपछि उनी छक्क परे; गल्ती स्विकारे, जरिबाना तिरे, अनि क्लास लिए।
पछिल्लो समय सीसीक्यामेरालगायतको निगरानीबाट प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्नेको ‘मनिटरिङ’ गर्दै चिट थमाउने गरेको छ। ‘पहिला ट्राफिक नभएको मौकामा उम्किएपछि ‘म फुत्किहालेँ’ भन्ने हुन्थ्यो। तर अहिले हामीले सीसीक्यामेराको निगरानीमा त्यस्ता चालक पहिचान गरेर जरिबाना तिराउने गरेका छौँ,’ एसपी सुवेदी भन्छन्।
ट्राफिक लाइट
काठमाडौँको सन्दर्भमा ट्राफिक व्यवस्थापनको मुख्य आधार ‘ट्राफिक लाइट’ हो। मुख्य चोकहरूमा ट्राफिक लाइटमार्फत ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन गर्दै आएको छ।
उपत्यकामा रहेका ट्राफिक लाइटमध्ये ४८ वटा ट्राफिक लाइट जेनजी आन्दोलनमा क्षति भएका थिए। ती ट्राफिकलाई मर्मत गरी अहिले उपत्यकामा ६१ ठाउँमा ट्राफिक लाइट व्यवस्थापन गरिएको छ।
तर बेलाबेलामा बिग्रने गर्दा ट्राफिक लाइटको मात्रै भर परेर ट्राफिक व्यवस्थापन गर्ने सम्भावना नरहेको ट्राफिक प्रहरी स्वयं स्विकार्छन्। त्यसमाथि जडान भएका ट्राफिक लाइटहरू उपयुक्त ठाउँमा नरहेकोदेखि ‘सिङ्क्रोनाइज’ (एकअर्कासँग तालमेल) नभएकाले ट्राफिक व्यवस्थापनमा कठिनाइ हुने गरेको बताइन्छ। उपत्यकाबाहेकका अन्य सहरहरूमा भने यो समस्या छैन।
साथै, ड्युटीमा खटिँदा ट्राफिक प्रहरीले लगाउन मिल्ने ‘बडिवर्न क्यामेरा’ देखि ‘म्याजिक लाइट’ प्रविधिको सहयोगमा ट्राफिक व्यवस्थापन हुँदै आएको छ। उपत्यका ट्राफिकसँग २० वटा बडिवर्न क्यामेरा छन् भने म्याजिक लाइट ७२१ थान छन्।
त्यस्तै ह्विल लक, राडार गन, लेजर गन, राइट कन्ट्रोल गियर, ई-चलान मोबाइल, फोटो ट्यापिङ क्यामेरा, रोड स्पाइकहरूसमेतको सहयोगमा ट्राफिक व्यवस्थापन हुँदै आएको छ।
अब महाअभियान
यद्यपि यी प्रविधिहरू काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनमा पर्याप्त नभएको गुनासो ट्राफिक प्रहरीले गर्दै आएको छ। अहिले गृहमन्त्री सुदन गुरुङ समेत केही दिनअघि ट्राफिक कार्यालयको निरीक्षण गर्दै ‘सुधार गर्नुपर्ने र आवश्यक पर्ने सामग्रीहरूको सूची ल्याउन’ भनेपछि ट्राफिकले कार्ययोजना नै बनाएर पेस गरेको बताएको छ।
पछिल्लो समय ट्राफिक प्रहरी प्रविधिमैत्री बन्दै गएको र अब प्रविधिबाटै ट्राफिक व्यवस्थापन गर्ने तयारी गरिएको ट्राफिक कार्यालयको भनाइ छ। त्यसका लागि ट्राफिक प्रहरीले मन्त्रालयसँग आवश्यक कार्ययोजनासमेत बनाएर पेस गरिसकेको छ।
‘अहिले भएका प्रविधिहरू पर्याप्त छैनन्। प्रविधिमैत्री बन्न चाहिने सामग्रीसहितको कार्ययोजना हामीले मन्त्रालयमा पेस गरेका छौँ,’ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक अधिकृतले भने।
प्रविधिमा जोड दिँदै ट्राफिकको सङ्ख्या बिस्तारै कम गर्दै लगिने योजना रहेको ती अधिकृत बताउँछन्। ‘हाम्रो योजनामा गृहमन्त्रीज्यू सहमत हुनुहुन्छ। उहाँले पनि प्रविधिमैत्री ट्राफिक हुनुपर्यो भन्दै निर्देशन दिनुभएको छ। हामीले त्यहीअनुसार कार्ययोजना अघि बढाएका छौँ,’ ती अधिकृतले भने।
१ असारबाट देशैभरि ‘एक महिने ट्राफिक सचेतना महाअभियान’ सञ्चालन गरिएको छ। यो महाअभियानमा कलाकारदेखि कन्टेन्ट क्रिएटर र समाजका अगुवाहरूमार्फत ट्राफिक सचेतना फैलाउन लगाइएको छ। महाअभियान सकिएपछि ट्राफिक नियम उल्लङ्घन गर्नेहरूविरुद्ध कडा कारबाही गर्ने तयारी अघि बढाइएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुखसमेत रहेका पूर्वएआइजी भीम ढकाल पनि ‘अब प्रविधिमैत्री ट्राफिक व्यवस्थापन हुनुपर्ने’ बताउँछन्।
‘हाम्रा नेताहरू पनि धेरै देश जानुभएको छ, घुम्नुभएको छ। कहीँ पनि सडकमा सिट्ठी फुकेर ट्राफिक बसेको हुँदैन। त्यहाँ ट्राफिक प्रहरीको सबै काम प्रविधिबाट हुन्छ,’ ढकालले अनलाइनखबरसँग भने, ‘अबको डिजिटल युगमा पनि सडकमा उभिएर सिट्ठी फुक्ने अवस्था आउनु राम्रो होइन। मुख्य सहरका नाकादेखि नै ‘डिजिटलाइज’ गरेर ट्राफिक व्यवस्थापन गर्नुपर्छ।’


















