विज्ञापन

जब युद्धमा प्रयोग भएका ड्रोनको तार समेटेर चराले गुँड बनायो

विज्ञापन
Image
विज्ञापन

सामान्यतः युद्ध हुनु भनेको ध्वंस हो । धुवाँले ढाकिएको आकाश, बमले चिरिएको जमिन, उजाडिएका बस्ती, र अनिश्चित भविष्य । जहाँ युद्ध हुन्छ, त्यहाँ जीवनको सम्भावना क्रमशः साँघुरिँदै जान्छ । तर, यो धारणालाई एउटा सानो जीवले गलत सावित गरिदिएको छ । युक्रेनको डोनबास क्षेत्रमा केही दिनअघि फेला परेको एउटा चराको गुँड अहिले विश्वभर चर्चाको विषय बनेको छ ।

पहिलो नजरमा यो साधारण गुँडजस्तै देखिन्छ । तर नजिकबाट हेर्दा थाहा हुन्छ, यसको भित्री संरचनामा हरियो घाँस र सुकेका पातसँगै चम्किला, पातला फाइबर–अप्टिक तारहरू पनि बुनिएका छन् ।

ती तार कुनै सञ्चार कम्पनीका होइनन्, कुनै घरका विद्युत् लाइनका पनि होइनन् । ती युद्धमा प्रयोग भएका फाइबर–अप्टिक एफपीभी ड्रोनका तार हुन्।

अर्थात्, मानिसले एक–अर्कालाई मार्न बनाएको प्रविधिको अवशेष प्रयोग गरेर चराले आफ्नो सन्तान हुर्काउने घर बनाएको थियो ।

यो एउटा गुँड मात्र होइन । यो युद्ध र जीवनबीचको सबैभन्दा गहिरो संवाद हो ।

जुन २३, २०२६ । युक्रेनी भ्रष्टाचारविरोधी अभियन्ता ओलेना ट्रेगुबले सामाजिक सञ्जालमा एउटा तस्वीर सार्वजनिक गरिन् । तस्वीरमा एउटा चराको गुँड थियो । सुरुमा धेरैले सामान्य तस्वीर ठाने । तर ध्यान दिएर हेर्दा सबैको नजर एउटै कुरामा अडियो, गुँडभित्र घाँससँग मिसिएका फाइबर–अप्टिक तारहरू ।

यो कुनै कलात्मक सजावट थिएन । यी तार युद्धमा प्रयोग भएका ड्रोनबाट छरिएका केबल थिए । ट्रेगुबले लेखेकी थिइन्, ‘युद्धले सबै कुरा नष्ट गर्न खोज्छ, तर जीवनले त्यही विनाशबाट पनि नयाँ सुरुवात गर्छ ।’

इजरायलको द जेरुसालेम पोस्ट अनुसार उनको पोस्ट केही घण्टामै हजारौं पटक शेयर भयो ।

धेरैले त्यसलाई ‘लाइफ फाउण्ड द वे अर्थात् ‘जीवनले बाटो खोज्छ’ भन्ने सन्देशसँग जोडेर हेरे । यो वाक्यांश हलिउड चलचित्र जुरासिक पार्कबाट लोकप्रिय बनेको हो, जसको मूल अर्थ हो, परिस्थिति जति कठिन भए पनि जीवनले बाँच्ने उपाय खोजिहाल्छ ।

डोनबासको त्यो सानो गुँडले यही वाक्यलाई वास्तविकतामा उतारेको देख्न सकिन्छ ।

यो गुँड बनाउने चरा कुन प्रजातिको हो भन्ने आधिकारिक रूपमा पुष्टि भएको छैन । तर गुँडको बनावट हेर्दा पन्छीविद्हरूले यो सम्भवतः युरेसियन च्याफिन्च वा त्यससँग मिल्दोजुल्दो सानो गीत गाउने चराको हुन सक्ने अनुमान गरेका छन् ।

युद्धको भग्नावशेषमा भेटिएको घर

यो गुँड भेट्टाउने व्यक्ति थिए युक्रेनी अनुसन्धानकर्ता तथा सैनिक, ओलेह मालचेंको ।

उनी डोनबासको अग्रिम मोर्चामा खटिएका थिए । केही समयअघि भएको रूसी ग्लाइड बम आक्रमणपछि एउटा ठूलो रूख भुइँमा ढलेको थियो । विस्फोटपछिको क्षेत्र निरीक्षण गर्ने क्रममा मालचेंकोको नजर रूखको हाँगामा अडिएको एउटा सानो गुँडमा पर्‍यो ।

पहिलो नजरमा त्यो सामान्य गुँड नै लाग्यो । तर जब उनले नजिकबाट हेरे, उनी आफैं अचम्ममा परे । घाँस, सुकेका पात, काठका रेशा र तिनको बीचमा चम्किरहेका फाइबर–अप्टिक केबल । मानिसले युद्धका लागि बनाएका तारलाई चराले जीवनका लागि प्रयोग गरेको थियो ।

मालचेंकोले गुँडलाई सावधानीपूर्वक क्यामेरामा कैद गरे । पछि उनले भने, ‘हामी यहाँ हरेक दिन मृत्यु देखिरहेका छौँ । तर यही ठाउँमा एउटा चराले प्रकृति अझै बाँचिरहेको छ भनेर उदारहण दियो ।’

डोनबास : आकाशमा ड्रोन, जमिनमा विस्फोट

पूर्वी युक्रेनको डोनबास क्षेत्र अहिले विश्वकै सबैभन्दा तीव्र युद्धक्षेत्रमध्ये एक हो ।

एक समय हरियाली जंगल, गहुँका खेत र गाउँहरूले भरिएको यो भू–भाग आज विशाल खाडल, ध्वस्त भवन र जलेका रूखहरूको दृश्यमा बदलिएको छ ।

यहाँ दिनरात बम विस्फोटको आवाज सुनिन्छ । आकाशमा हेलिकप्टरभन्दा धेरै ड्रोन देखिन्छन् । जमिनमा सैनिकभन्दा धेरै विस्फोटका अवशेष भेटिन्छन् । युद्धले यहाँको वातावरण मात्र परिवर्तन गरेको छैन, जीवजन्तुको बासस्थान पनि पूर्णरूपमा बदलिदिएको छ ।

तर यही बदलिएको संसारमा एउटा चराले नयाँ विकल्प खोज्यो ।

घाँस हराए । रुखका हाँगा भाँचिए । तर युद्धले छोडेका फाइबर–अप्टिक तार भने प्रशस्त थिए । र, त्यसैले उसले त्यही प्रयोग गर्‍यो ।

चराहरू किन यस्ता सामग्री रोज्छन् ?

चराहरू अत्यन्तै अनुकूलनशील जीव मानिन्छन्

अध्ययनहरू अनुसार चराहरूले आफ्नो वरिपरि उपलब्ध सामग्री प्रयोग गरेर गुँड बनाउँछन् । कतै प्लास्टिकका धागो, कतै माछा मार्ने जालो । कतै कागजका टुक्रा । कतै तार।

शहरमा बस्ने धेरै चराहरूले त सिगरेटका ठुटा, कपडाका धागो र प्लास्टिकसमेत प्रयोग गरेको देखिएको छ । तर फाइबर–अप्टिक ड्रोनको तार प्रयोग भएको घटना भने निकै दुर्लभ मानिएको छ ।

यसका केही कारण छन् । यी तार अत्यन्तै हलुको र लचिलो हुन्छ । पानीले छिट्टै बिगार्दैनन् । र, सजिलै बुन्न सकिन्छ । चराको दृष्टिले हेर्दा यी गुँड मजबुत बनाउन उपयोगी सामग्री हुन् । तर विडम्बना के छ भने मानिसका लागि यो युद्धको अवशेष हो ।

फाइबर–अप्टिक ड्रोन अब युद्धको नयाँ हतियार

रुस–युक्रेन युद्धले आधुनिक युद्धको स्वरूप नै बदलिदिएको छ । पहिले युद्धमा ट्याङ्क, तोप र लडाकु विमान निर्णायक मानिन्थे । आज त्यो स्थान ड्रोनले लिएको छ ।

सामान्य ड्रोन रेडियो सिग्नलमार्फत सञ्चालन हुन्छन् । त्यसैले इलेक्ट्रोनिक जामिङ प्रणालीले तिनलाई रोक्न सक्छ । तर, फाइबर–अप्टिक ड्रोन फरक छन् । यी ड्रोनसँग हजारौँ मिटर लामो अत्यन्तै पातलो फाइबर–अप्टिक तार जोडिएको हुन्छ।

उडिरहेको बेला यही तारमार्फत नियन्त्रण सिग्नल आदानप्रदान हुन्छ । यसका कारण रेडियो जामिङले काम गर्दैन । ड्रोन लक्ष्यसम्म पुगेर विस्फोट हुँदा वा खस्दा ती तार जमिनभर फैलिन्छन् ।

डोनबासका जंगल, खेत र सडकहरू अहिले यस्ता हजारौँ केबलले भरिएका छन् । र, चराहरूले त्यही सामग्री आफ्नो संसारमा लगिरहेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन