विज्ञापन

पर्यटकीय गन्तव्य बन्यो तेह्रथुमको छातेढुंगा

विज्ञापन
Image
विज्ञापन

तेह्रथुम, २६ असार — तेह्रथुमको आठराई गाउँपालिका–५ मा रहेको ऐतिहासिक छातेढुंगा पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। विक्रम संवत् १९८१ साल माघ १८ गते सुकलाल कन्दङवाले निर्माण गरेको ढुंगाको छाता अहिले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ।

आठराई गाउँपालिकाको पहिचानसँग जोडिएको यस स्थलमा छाता आकारका ढुंगाहरू अवलोकन गर्न टाढा–टाढाबाट पर्यटक आउने गरेका छन्। यस्तो ऐतिहासिक सम्पदाको संरक्षण हुनु सकारात्मक कदम हो।

यो स्थल तेह्रथुमको सदरमुकाम म्याङलुङबाट करिब ७५ किलोमिटर पूर्व तथा पाँचथरको फिदिमबाट १४ किलोमिटर पश्चिममा अवस्थित छ। स्थानीय का अनुसार कन्दङवा लिम्बुका पुर्खाहरूले इतिहास जोगाउने उद्देश्यले ढुंगाका छाता निर्माण गरी गाडेका थिए। यही कारण यस क्षेत्रको नाम छातेढुंगा रहन गएको हो। विगतमा यस क्षेत्रलाई छातेढुंगा गाउँ पञ्चायत, छातेढुंगा गाविस तथा छातेढुंगा माध्यमिक विद्यालयका नामले समेत चिनिन्थ्यो।

समयसँगै पुराना ढुंगाहरू जीर्ण भएपछि स्थानीय सरकार तथा विभिन्न दातृ निकायको सहयोगमा पुनर्निर्माण गरिएको हो। पहिले तीनवटा ढुंगा रहेको स्थानमा पुनर्निर्माणपछि दुईवटा थप गरी पाँचवटा बनाइएको छ। तीमध्ये बीचको सबैभन्दा अग्लो ढुंगाको उचाइ करिब साढे सात फिट रहेको छ भने त्यसको माथि करिब साढे आठ फिट गोलाइ भएको छाता आकारको ढुंगा राखिएको छ। अन्य चारवटामा पनि साना छाता आकारका ढुंगा जडान गरिएका छन्।

छातेढुंगा घुम्न आउने पर्यटकहरूले प्राकृतिक दृश्यावलोकन, फोटो खिच्ने तथा मनोरञ्जन गर्ने गरेका छन्।

स्थानीय का अनुसार छातेढुंगासहित झाँक्री गुफा, चमेरे ओढार, याकुम्बा गढी र बगाले पार्कजस्ता ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको संरक्षण, विकास र प्रवर्द्धनका लागि गाउँपालिकाले योजना अघि बढाएको छ।

उचित संरक्षण र प्रवर्द्धन गर्न सके छातेढुंगा तेह्रथुम मात्र नभई समग्र पूर्वी नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने सम्भावना रहेको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन