काठमाडौं, ३० असार ।यातायात व्यवस्था विभागको सर्भर लगातार दोस्रो दिन पनि अवरुद्ध हुँदा देशभरका यातायात कार्यालयबाट प्रवाह हुने अधिकांश सेवा प्रभावित भएका छन्। सर्भरमा देखिएको समस्याका कारण चालक अनुमतिपत्र (लाइसेन्स) तथा सवारीसाधनसम्बन्धी काम रोकिँदा सेवाग्राही समस्यामा परेका छन्।
आर्थिक वर्षको अन्त्यसँगै सर्भरमा अत्यधिक चाप बढेका कारण प्राविधिक समस्या देखिएको यातायात व्यवस्था विभागले जनाएको छ। विभागका अनुसार समस्या समाधानका लागि प्राविधिक टोलीले काम गरिरहेको भए पनि मंगलबार अपराह्नसम्म प्रणाली पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।
सर्भर अवरुद्ध भएपछि यातायात कार्यालयहरूले सेवाको अवस्था हेरेर विभिन्न कामहरू स्थगित गरेका छन्। यातायात व्यवस्था कार्यालय एकान्तकुनाले सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र प्रणालीअन्तर्गतको ईडीएल (Electronic Driving Licence) र भीआरएस (Vehicle Registration System) सेवा अवरुद्ध भएको जनाएको छ।
कार्यालयका अनुसार लाइसेन्स वितरण तथा दुईपाङ्ग्रे सवारीसाधनको ब्लुबुक नवीकरणबाहेक अन्य अधिकांश सेवा अर्को सूचना जारी नभएसम्मका लागि रोकिएका छन्।
त्यस्तै, यातायात व्यवस्था कार्यालय ठूलो भर्याङले पनि सर्भर समस्याका कारण सेवा प्रभावित भएको जानकारी दिएको छ। उपत्यकाबाहिरका विभिन्न यातायात कार्यालयहरूले समेत सर्भर सञ्चालनमा नआउँदा दैनिक काम प्रभावित भएको बताएका छन्।
यातायात व्यवस्था कार्यालय चाबहिलले लिखित परीक्षा, प्रयोगात्मक परीक्षा (ट्रायल) र लाइसेन्स वितरणबाहेकका सेवाहरू अवरुद्ध भएको जनाएको छ।
यता, यातायात व्यवस्था कार्यालय विराटनगरले सर्भर समस्याका कारण असार मसान्तसम्म कार्यालयका अधिकांश सेवा स्थगित गरेको सूचना जारी गरेको छ। बायोमेट्रिक विवरण संकलन, लाइसेन्स नवीकरण, लिखित तथा प्रयोगात्मक परीक्षा लगायतका कामहरू रोकिएका छन्।
त्यसैगरी यातायात व्यवस्था कार्यालय सुनसरीले पनि स्मार्ट कार्ड वितरणबाहेक अन्य सबै सेवा प्रभावित भएको जनाएको छ।
सर्भर समस्या कहिलेसम्म समाधान हुन्छ भन्ने स्पष्ट समयसीमा विभागले सार्वजनिक नगरेका कारण सेवाग्राही थप अन्योलमा परेका छन्। आर्थिक वर्षको अन्त्यमा सेवाग्राहीको चाप बढिरहेका बेला प्रणाली अवरुद्ध हुँदा यातायात कार्यालयहरूमा पुग्ने नागरिकहरू सेवा नपाई फर्किन बाध्य भएका छन्।


















