३१ असार, काठमाडौं । नेपाल आयल निगमसँग खाना पकाउने ग्यास भण्डारण क्षमता नहुँदा र उद्योगीहरुसँग पनि सीमित मात्र हुँदा सरकारले आपूर्ति व्यवस्थापनमा चुनौती महसुस गरेको छ ।
बुधबार उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सो जानकारी दिएका हुन् ।
उनका अनुसार हाल देशभर ५८ वटा ग्यास उद्योग सञ्चालनमा छन् । ती उद्योगहरूको दैनिक सिलिन्डर भर्ने क्षमता १ लाख ६२ हजार रहेको छ भने दैनिक औसत १ लाख १० हजार सिलिन्डर बिक्री भइरहेको छ ।
उद्योगहरूको कुल भण्डारण क्षमता १० हजार १६६ मेट्रिक टन मात्र रहेको र नेपाल आयल निगमसँग आफ्नै भण्डारण सुविधा नहुँदा आपूर्ति व्यवस्थापनमा चुनौती रहेको सचिव राउतले बताए ।
उनका अनुसार उद्योगहरूको कुल भण्डारण क्षमता १० हजार १६६ मेट्रिक टन मात्र रहेको छ भने नेपाल आयल निगमसँग आफ्नै भण्डारण सुविधा छैन ।
साथै, ग्यास बुलेटहरूको सीमित संख्याका कारण पनि समस्या देखिएको छ । हाल करिब ७०० ग्यास बुलेट ट्रान्जिट तथा स्ट्यान्डबाइमा रोकिँदा भारतबाट हुने लोडिङ प्रक्रियामा समेत असर परेको छ ।
सचिव राउतले औद्योगिक प्रयोजनका लागि बिक्री हुने एलपी ग्यास भने परल मूल्य (कस्ट प्राइस) मै बिक्री हुने र त्यसमा निगमलाई कुनै घाटा नहुने स्पष्ट पारे । उनले करिब ७०० ग्यास बुलेट ट्रान्जिट तथा स्ट्यान्डबाइमा रहँदा भारतबाट हुने लोडिङमा समेत असर परेको उल्लेख गर्दै आगामी चाडपर्व र जाडो याममा हुन सक्ने माग वृद्धिलाई ध्यानमा राखी आपूर्ति व्यवस्था चुस्त बनाउन मन्त्रालय सक्रिय रहेको बताए


















