विज्ञापन

गाउँपालिकाको अनुदानले बढायो खसी उत्पादन, वार्षिक कारोबार करिब पाँच करोड

विज्ञापन
Image
विज्ञापन

सल्यान, ३२ असार — सल्यानको त्रिवेणी गाउँपालिकामा व्यावसायिक बाख्रापालन किसानका लागि भरपर्दो आम्दानीको स्रोत बन्दै गएको छ। गाउँपालिकाले सञ्चालन गरेको अनुदान कार्यक्रम र सहकारीमार्फत गरिएको व्यवस्थित बजारीकरणका कारण खसी उत्पादन तथा बिक्रीमा उल्लेख्य वृद्धि भएको हो।

आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिकाका किसानले २ हजार ५८० वटा खसी बिक्री गरी ४ करोड ७० लाख ९७ हजार ५८६ रुपैयाँ बराबरको कारोबार गरेका छन्। उत्पादन र बिक्रीको यो उपलब्धिले गाउँपालिकालाई बाख्रापालनको सम्भावना बोकेको स्थानीय तहका रूपमा स्थापित गरेको छ।

‘कृषकको उत्पादन, गाउँपालिकाको अनुदान’ कार्यक्रमअन्तर्गत पाँच वटा सहकारीमा आबद्ध किसानहरूले खसी बिक्री गरेका हुन्। गाउँपालिकाको अभिलेखअनुसार ८७८ किसानमध्ये एक सय केजीभन्दा बढी खसी बिक्री गरेका ४६९ किसानलाई प्रोत्साहन अनुदान प्रदान गरिएको छ।

यस वर्ष उत्पादन बढे पनि बजेट सीमित भएकाले प्रतिकिलो २० रुपैयाँको सट्टा १२ रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ। किसान र सहकारीलाई गरी ९ लाख ७२ हजार रुपैयाँ अनुदान वितरण गरिएको छ।

गाउँपालिकाका पशु सेवा अधिकृत बसन्त रावतका अनुसार चालु आर्थिक वर्षमा सहकारीमार्फत ९८ हजार २३ केजी खसी बिक्री भएको हो। किसानलाई ९ लाख ३३ हजार ५ सय १६ रुपैयाँ प्रोत्साहन रकम तथा सहकारी संस्थालाई ३८ हजार ८९६ रुपैयाँ व्यवस्थापकीय खर्चबापत उपलब्ध गराइएको उनले जानकारी दिए।

अनुदान प्राप्त गर्ने सहकारीमध्ये नमुना सामाजिक उद्यमी महिला सहकारीका ७४ किसानले १ लाख ३० हजार २३० रुपैयाँ, त्रिवेणी पशुपालन व्यवसाय सहकारीका १८१ किसानले २ लाख ९६ हजार ८६२ रुपैयाँ, उपहार सामाजिक उद्यमी महिला सहकारीका ५९ किसानले १ लाख ९ हजार ८ रुपैयाँ प्राप्त गरेका छन्।

त्यसैगरी दुर्गा भवानी सामाजिक उद्यमी महिला सहकारीमार्फत १३८ किसानले ३ लाख ६७ हजार ११६ रुपैयाँ तथा त्रिवेणी साना किसान सहकारीका १७ किसानले ३० हजार ३०० रुपैयाँ अनुदान पाएका छन्।

पशु सेवा अधिकृत रावतका अनुसार सहकारीमार्फत बजारीकरण भएपछि किसानले उचित मूल्य पाउन थालेका छन्। यसले परम्परागत रूपमा बाख्रापालन गर्दै आएका किसानलाई व्यावसायिक उत्पादनतर्फ आकर्षित गरेको छ।

गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले सहकारी प्रणालीले किसान र बजारबीचको दूरी घटाएको उल्लेख गर्दै बजार सुनिश्चित भएपछि गाउँका युवा तथा महिलाको बाख्रापालन व्यवसायप्रतिको आकर्षण बढेको बताए। उनले उत्पादन वृद्धि, बजारीकरण र आयआर्जनलाई थप सुदृढ बनाउन गाउँपालिकाले आगामी वर्षहरूमा पनि किसानमैत्री कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन