काठमाडौँ । सरकारले माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धार कार्य निरन्तर भइरहेकाे जनाएको छ । आज बिहान आयोजनास्थलमा पुनः बाढी आए पनि उद्धार कार्यलाई निरन्तरता दिने जनाइएको हो ।
प्रधानमन्त्री कार्यालयले आइतबार बिहान एक सूचना जारी गर्दै भनेको छ- ‘सरकारले पुनः पूर्ण सतर्कताका साथ आयोजना क्षेत्रको समग्र क्षति र परिस्थितिको अवलोकन गर्दै माटो तथा लेदो हटाउन पुनः डोजर र भारी उपकरणहरू परिचालन गर्ने तयारी गरेको छ।’
साथै,आयोजनास्थलमा पहिरो र माटोले पुरिएको टनेल पोर्टल तथा पावर हाउस नियन्त्रण गर्ने १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर र सेटअप बक्सहरू सुरक्षित रूपमा निकाल्न सरकारले हेलिकप्टरमार्फत ‘स्पेसल फोर्स’ परिचालन गर्ने तयारी गरिएको समेत प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
सडक पहुँच अवरुद्ध भएकाले पुरिएको भवन नजिकै हेलिकप्टरबाट टोली उतारेर ती महत्त्वपूर्ण उपकरणहरू निकाल्ने तयारी गरिएको समेत कार्यालयले जनाएको छ ।
बाढीका कारण आयोजनास्थलमा फसेका मानिसहरूको उद्धार गर्ने काम सरकारले गएको रातभरि नै निरन्तर जारी राखिएको जनाउँदै आज बिहान करिब ४ बजे आयोजना स्थलमा पुनः आएको बाढीका कारण त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको जनाइएको छ ।
नदीको सतह अत्यधिक बढेपछि त्यसले आयोजना क्षेत्रको किनार तीव्र रूपमा काट्न सुरु गरेको समेत प्रधानमन्त्री कार्यालयले जनाएको छ ।


















