बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशन नजिकिँदै गर्दा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। संघको आगामी नेतृत्वका लागि दुई समूह प्यानलसहित चुनावी मैदानमा उत्रिएपछि प्रतिस्पर्धा रोचक बनेको छ।
‘नयाँ सोच, नयाँ विचार, समावेशी साझा नेतृत्वू भन्ने मूल नारा र २० बुँदे प्रतिबद्धता पत्रसहित नरिश्वर शर्मा पौडेलको नेतृत्वमा एउटा प्यानल मैदानमा छ भने ‘परिणाममुखी संयुक्त नेतृत्व, समृद्ध बुटवलको साझा प्रतिबद्धता’ नारा र १० बुँदे प्रतिबद्धता पत्रसहित टंक प्रसाद गैरेको नेतृत्वमा अर्को प्यानल आमने-सामने भएको छ। दुबैजना अध्यक्षका प्रत्यासी लामो समय संघको विभिन्न जिम्मेवारीमा रहेर नेतृत्व अनुभव प्राप्त व्यक्तीहरु हुन् । पौडेल वर्तमान कार्यसमितिको मनोनित सदस्य हुन् । यसअघि कार्यकाल संघको वाणीज्य उपाध्यक्ष रहेका पौडेलले स्थानीय तह निर्वाचनमा बुटवलको वडा नम्बर ४ अध्यक्ष निर्वाचित भएपछि संघमा मनोनित सदस्यको रुपमा काम गर्दै आएका थिए । यसैगरी वर्तमान वरिष्ठ उपाध्यक्ष गैरेले पनि विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन् ।
यही असोज २६ गते हुने संघको निर्वाचनका लागि पौडेलको प्यानलबाट वर्तमान उद्योग उपाध्यक्ष सुरज भट्टराई वरिष्ठन उपाध्यक्षमा, वर्तमान कार्यसमिति सदस्य निर्मित कसजु उद्योग उपाध्यक्षमा र पूर्व कार्यसमिति सदस्य बाबुराम विश्वकर्माले वाणीज्य उपाध्यक्षमा प्रतिस्पर्धा गर्दै छन् । महासचिवमा बसन्त प्रसाद ढकाल (वर्तमान कोषध्यक्ष), कोषाध्यक्षमा प्रतिक पोखरेल (वर्तमान सचिव), सचिवमा दिपक प्रसाद चापागाईँ (वर्तमान कार्यसमिति सदस्य) र सह-कोषाध्यक्षमा कमला पोखरेल पराजुली (मञ्जु) (पूर्व कास) चुनावी प्रतिस्पर्धामा छन्।
त्यस्तै एसोसियट सदस्यमा भानुभक्त खत्री (भानु), उद्योग सदस्यमा सुनिता बन्जाडे, कृष्णप्रसाद माण्डे, ज्ञानबहादुर पुन, लेखनाथ भण्डारी, वाणिज्य सदस्यमा गणेश प्रसाद भट्टराई, उमेश अमात्य, जगन्नाथ न्यौपाने, रामबहादुर भण्डारी, महिला सदस्यमा रेनु श्रेष्ठ, मञ्जु पुरी गिरी र खुल्ला सदस्यमा विष्णु घिमिरे पन्त ९कमला०, दिपक घिमिरे, प्रदिप शाक्य, अलिम दिन, कृष्ण श्रेष्ठ (कलप्रसाद), शिवदेव अर्याल र विष्णु उपाध्याय उम्मेदवार रहेका छन्।
यसैगरी गैरेको प्यानलबाट वर्तमान वाणीज्य उपाध्यक्ष विमल राज भट्टराई वरिष्ठ उपाध्यक्षमा, पूर्व कार्यसमिति सदस्य दिनेश श्रेष्ठ उद्योग उपाध्यक्षमा, वर्तमान महासचिव मुक्ति प्रसाद अधिकारी वाणीज्य उपाध्यक्षका लागि प्रतिस्पर्धा गर्दै छन् । महासचिवमा जमुना पौडेल (वर्तमान कार्यसमिति सदस्य), सचिवमा काशीराम शर्मा पौडेल (वर्तमान कार्यसमिति सदस्य), कोषाध्यक्षमा टिकाराम बञ्जाडे (वर्तमान कार्यसमिति सदस्य) र सह(कोषाध्यक्षमा जाकिर हुसैन (पूर्व कार्य समिति सदस्य) चुनावी मैदानमा छन्।
सदस्य पदहरूमा बालकृष्ण पौडेल, दिपक बास्तोला, गोपाल ढकाल, प्रविण श्रेष्ठ, सुनिता अर्याल, मनिष कुमार श्रेष्ठ, मिलन कुमार भारी, राजेश भट्टराई, सुनिता गिरी, पुजा श्रेष्ठ, मनिष खनाल, गणेश प्रसाद सेढाई, लाल प्रसाद खनाल, जनक श्रेष्ठ, गोपाल अर्याल, मुक्ति प्रसाद श्रेष्ठ र ठाकुर घिमिरेले उम्मेदवारी दिएका छन्।
पौडेल प्यानलले ‘सुरक्षित उद्योग र व्यापार, समृद्ध बुटवलको आधार’ भन्ने संकल्पका साथ व्यवसायिक दर्ता तथा नवीकरण सरल बनाउने, मुख्य बजारको पार्किङ तथा ट्राफिक व्यवस्थापन सुधार्ने, विस्थापनको जोखिममा रहेका उद्योगको संरक्षण गर्ने, पूर्वाधार निर्माणमा दबाब दिने, डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने र बैंकको ब्याजदर विषयमा संवाद गर्ने जस्ता एजेन्डा अघि सारेको छ।
अर्कोतर्फ गैरे प्यानलले ‘आश्वासन होइन परिणाम, व्यक्ति होइन संस्था’ भन्ने संकल्पसहित बढ्दो व्यावसायिक लागत, बजारको मन्दी र अस्वस्थ प्रतिस्पर्धा झेलिरहेका व्यवसायीको संरक्षण, व्यवसायमैत्री नीति निर्माण, लगानीको सुरक्षा, डिजिटल व्यवसाय प्रवर्द्धन र युवा तथा महिला उद्यमशीलतामा पहुँच विस्तारलाई प्राथमिकतामा राखेको छ।
दुवै प्यानलले बुटवललाई लुम्बिनी प्रदेशको मुख्य आर्थिक केन्द्र बनाउने, साना तथा मझौला व्यवसायको संरक्षण गर्ने, पारदर्शी संस्था सञ्चालन गर्ने र व्यवसायीको अधिकार रक्षा गर्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन्। अहिले दुवै पक्षका उम्मेदवारहरू प्रतिबद्धता पत्रसहित उद्योगी-व्यवसायीहरूमाझ पुगेर मत माग्न र चुनावी प्रचारप्रसारलाई तीव्र पार्न व्यस्त बनेका छन्।













