विज्ञापन

लागू औषध तथा अवैध तस्करी विरुद्ध रूपन्देहीमा चार संस्थाको संयुक्त अभियानः ८ सय विद्यार्थीमाझ सचेतना, प्रहरीसँग सहकार्य

विज्ञापन
Image
विज्ञापन


बुटवल, १४ असार ।
लागू औषध तथा अवैध तस्करी विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा रूपन्देही जिल्लामा विभिन्न चरणबद्ध सचेतनामूलक तथा संस्थागत कार्यक्रमहरू भव्यताका साथ सम्पन्न भएका छन्। लुम्बिनी सामाजिक सचेतना संस्था, कानुन विद्यार्थी समाज, भैरव सामाजिक सचेतना संस्था र पब्लिक भ्वाईस नेपालको संयुक्त आयोजनामा यो बृहत् अभियान सञ्चालन गरिएको हो।
अभियानको प्रथम चरण अन्तर्गत बेलवासमा चारवटै संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षसहित १६ जना पदाधिकारीहरूको विशेष उपस्थितिमा संस्थागत रणनीतिबारे महत्त्वपूर्ण छलफल भयो। उक्त छलफलमा रूपन्देही जिल्लामा पछिल्लो समय बढ्दै गएको लागू औषधको भयावह समस्यालाई न्यूनीकरण गर्न सामाजिक संस्थाहरूले कसरी प्रभावकारी र नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छन् भन्ने विषयमा सघन विचार–विमर्श गरिएको थियो।
इलाका प्रहरी कार्यालय बुटवलसँग रणनीतिक भेटघाट र प्रतिबद्धता
अभियानको दोस्रो चरण अन्तर्गत टोलीले इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी निशान्त श्रीवास्तवसँग भेटघाट गरी लागू औषध नियन्त्रण तथा रोकथामका लागि नागरिक समाज र प्रहरीबीचको सहकार्यबारे छलफल गर्‍यो। सो अवसरमा संस्थाहरूका तर्फबाट विद्यालय क्षेत्रको वरपर सुर्तीजन्य पदार्थ तथा गुट्खाहरू खुलमखुल्ला बिक्री गर्ने पसलहरूलाई कडा कानुनी कारबाही गर्न र विद्यालय पोसाकमै लागू औषध सेवन गर्ने विद्यार्थीहरू फेला परेमा तत्काल नियन्त्रणमा लिई सुधार्न अनुरोध गरिएको थियो।
सो अनुरोधप्रति ऐक्यबद्धता जनाउँदै डिएसपी श्रीवास्तवले भोलिदेखि नै बुटवल क्षेत्रका विद्यालय वरपरका पसलहरूको अनुगमन र विद्यालय पोसाकका विद्यार्थीहरूमाथि विशेष निगरानी बढाउँदै कडाइका साथ कानुन कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
४ विद्यालयका ८ सय विद्यार्थी प्रत्यक्ष लाभान्वित
तेस्रो चरण अन्तर्गत जिल्लाका विभिन्न पालिकाहरूमा रहेका माध्यमिक विद्यालयहरूमा पुगेर विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा सचेत गराउने कार्य गरियो। जसअन्तर्गत तिलोत्तमाको श्री जनजागृति माध्यमिक विद्यालय, बुटवलको श्री नयाँ गाउँ माध्यमिक विद्यालय, तथा सैनामैनाका श्री सैनामैना नमुना माध्यमिक विद्यालय र श्री पशुपति माध्यमिक विद्यालयमा विशेष कक्षा सञ्चालन गरियो। यी कार्यक्रमहरू मार्फत करिब ८ सय जना विद्यार्थीहरूलाई लागू औषधको दलदल, यसले जीवन र परिवारमा पार्ने घातक असर, कानुनी व्यवस्था र रोकथामका उपायहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
लुम्बिनी सामाजिक सचेतना संस्थाका अध्यक्ष शंकर भुसालको अध्यक्षतामा सम्पन्न भएका यी शृङ्खलाबद्ध कार्यक्रमहरूको कुशल सञ्चालन लक्की अधिकारीले गर्नुभएको थियो।
लागू औषधमुक्त स्वस्थ समाज निर्माण गर्ने संकल्पका साथ सुरु भएको यस अभियानलाई आगामी दिनमा पनि स्थानीय प्रशासन, विद्यालय र सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय गर्दै थप प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता आयोजक संस्थाहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन