Tuesday, December 24

जङ्गली हात्तीले गर्‍यो धान र केराखेती नष्ट

रौतहट । जिल्लाका विभिन्न गाउँमा जङ्गली हात्ती पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । जङ्गली हात्ती गाउँ छिरेपछि अहिले जिल्लाको गुजरा, वृन्दावन र चन्द्रपुर नगरपालिकाका स्थानीय त्रसित बनेका हुन् । हात्तीले भित्र्याउने बेलाको धान नष्ट गर्न थालेपछि किसान चिन्तित छन् । गत आइतबार मात्रै रौतहटको गुजरा नगरपालिका–२ को चोचा, मैरालगायत गाउँमा हात्तीले भित्र्याउने बेला भएको धानबाली नष्ट गरेको थियो ।

करिब पाँच बिघाभन्दा बढी खेतमा लगाइएको धानबाली हात्तीले नष्ट गरेको गुजरा–२ का वडाध्यक्ष अशोककुमार चौधरीले जानकारी दिए । हात्तीले लक्ष्मी चौधरी, रामविश्वास चौधरी, जगदीश माझी, खहेरु साहलगायत स्थानीयको धान नष्ट गरेको उनले बताए । केहीदिनअघि मात्रै चन्द्रपुर नगरपालिका–२ वनटोलमा जङ्गली हात्ती पसेर धान तथा उखुबाली नष्ट गरेको थियो । बिहानै धानबारीमा हात्ती देखेपछि स्थानीय त्रसित भएका थिए । हात्तीले वनटोलको धान तथा उखुबाली पूर्ण रुपमा नष्ट गरेको स्थानीय बाबुराम घिसिङले जानकारी दिए । चन्द्रपुर–३ गैँडाटारमा हात्तीले केराखेतीमा क्षति गरेको छ ।

गाछी टोलमा दर्जनाँै हात्ती केरा बारीमा प्रवेश गरी क्षति पु¥याएको स्थानीय गोपाल फुँयालले जानकारी दिए । सो गाउँको एक बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको केराखेती हात्तीले नष्ट गरेको उले बताए । त्यसैगरी वृन्दावन नगरपालिका–१ बलेरी क्षेत्रमा पनि जङ्गली हात्तीको आतङ्कले स्थानीय त्रसित बनेका छन् । साँझ पर्ने वित्तिकै सधैँ गाउँ आउने जङ्गली हात्तीको समूहले किसानको धानबालीमा क्षति पु¥याउन थालेपछि स्थानीय चिन्तित बनेका हुन् । स्थानीय सुरेन्द्र पटेलका अनुसार श्री भगवान् ठाकुर, ठाकुर राउतसहित दर्जनौँ किसानका खेतमा लगाइएको धान हात्तीले नष्ट गरेको छ । उक्त गाउँका बासिन्दा हात्तीका कारण रातभरि जाग्रम बस्न बाध्य छन् । गत साता मात्रै फतुवा विजयपुर–११ बुटुवा राँगीमा हात्तीको आक्रमणबाट पातलीमाया तामाङको ज्यान गएको थियो ।

गत शुक्रबार बिहानै फतुवा विजयपुर–११ राँगीमा बस्ने ७० वर्षीया तामाङको हात्तीको आक्रमणबाट ज्यान गएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ । घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा तामाङको ज्यान गएको थियो । जङ्गली हात्तीले एक्कासि घरमाथि आक्रमण गर्दा मृतकका श्रीमान् भागेर ज्यान बचाउन सफल भएका थिए । धान पाक्ने बेला भएपछि पर्सा राष्ट्रिय निकुन्जबाट बर्सेनि हात्ती रौतहटको गैँडाटार, जुडिबेला, पौराई, चन्द्रनिगाहपुर, गुजराको चोचा, मैरा, जङ्गलसहिया गाउँ, वृन्दावनको बलरी, फतुवा विजयपुर नपाको राँगी बुटुवालगायत गाउँमा पस्ने गर्दछन् ।

हात्तीले खासगरी उखु, धान, केराखेतीमा क्षति पु¥याउँदै आएका छन् । गतवर्ष मात्रै हात्तीको आक्रमणबाट चन्द्रपुरमा घाँसदाउँरा गर्न गएका दुईजना महिलाले ज्यान गुमाएका थिए । हात्ती आतङ्कले गर्दा यहाँका नागरिक घाँसदाउँरा गर्न जङ्गल जानसमेत छाडेका छन् । हात्तीले क्षति पु¥याएकाको परिवारलाई डिभिजन वन कार्यालयले क्षतिपूर्ति दिने निर्णय गरेको छ । डिभिजन वन कार्यालयमा हात्तीले क्षति पु¥याएका पीडितपरिवारले राहतका लागि निवेदन दिएका छन् । हालसम्म करिब २० जनाले राहतका लागि निवेदन दिनुभएको डिभिजन वन प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिए ।

हात्तीको आक्रमणबाट ज्यान गुमाएका, घाइते भएका, घर भत्किाएका, बाली क्षति भएकाको यकिन विवरण सङ्कलन गरेर क्षतिपूर्ति दिने प्रावधान रहेको उहाँले उल्लेख गर्नुभयो । कानुन अनुसार पीडित परिवारलाई क्षतिपूर्ति दिइने भन्दै क्षतिको विवरण सङ्कलन भइरहेको साहले जानकारी दिए । हात्तीको आक्रमणबाट बच्न जङ्गलको छेउछाउमा बस्ने स्थानीयलाई डिभिजन वन कार्यालयले सचेत गराउँदै आएको बताउँदै उनले सर्वसाधारण आफैँ पनि सचेत र चनाखो भएर बस्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *