३ भदौ, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले सरकारले निजी मेडिकल कलेजहरुमा मात्रै मेडिकल तथा प्यारामेडिकल सिट संख्या बढाएको भन्दै विरोध जनाएको छ ।
आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीको रोजाइमा पर्ने सरकारी मेडिकल कलेजलाई उकास्नु पर्नेमा निजीलाई मात्र प्राथमिकता दिनु असमान र अन्यायपूर्ण नहुने भन्दै स्ववियु महाराजगंज क्याम्पस समितिले आपत्ति जनाएको छ ।
चिकित्सा शिक्षाक आयोगको २१औं बैठकले गरेको निर्णयको विरोध गर्दै स्ववियुले तीन बुँदे माग अघि सारेको छ ।
सरकारी मेडिकल कलेजहरुको पूर्वाधार र गुणस्तर प्रवर्द्धनमा लगानी गरी आवश्यकता अनुसार सिट वृद्धि गर्नुपर्ने, सिट वृद्धि गर्नुअघि सबै संस्थानको गुर्णस्तर र पूर्वाधारको उचित मुल्याकंन गर्नुपर्ने, र शिक्षा प्रणालीलाई नाफामुखी सोचतर्फ धकेल्ने प्रवृत्ति अन्त्य गरी समान पहुँच र अवसर सुनिश्चित गर्नुपर्ने स्ववियुको माग छ ।

















