२५ जेठ, काठमाडौं । सिन्धुलीको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय सम्पदाको दिगो संरक्षण तथा व्यवस्थापनका लागि नागरिक स्तरबाट ‘सिन्धुली सम्पदा संरक्षण र दिगो पर्यटन श्वेतपत्र–२०८३’ तयार पारिएको छ ।
आइतबार सिन्धुलीमाढीमा आयोजित उच्चस्तरीय गोलमेच संवादमा स्वेतपत्र जारी गरिएको हो । श्वेतपत्र तथा नीतिगत मागपत्र प्रमुख सम्पदाप्रेमी भीमविक्रम थापाले सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य आषिश गजुरेललाई औपचारिक रूपमा हस्तान्तरण गरे ।
श्वेतपत्र ग्रहण गर्दै सांसद गजुरेलले सिन्धुलीको ऐतिहासिक सामरिक पहिचान र पर्यापर्यटनलाई राष्ट्रिय नीति एवं बजेटमा समेट्न आफूले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
श्वेतपत्रमा कंक्रिट र व्यापारीकरणमा पूर्ण रोक
सिन्धुलीगढी, हरिहरपुरगढी र ऐतिहासिक ढुङ्गेबजार क्षेत्रमा पुरातात्त्विक मर्यादा विपरीत भइरहेका आधुनिक भौतिक निर्माण र जथाभावी सिमेन्ट प्रयोगलाई तत्काल रोक्ने माग गरिएको छ । पुराना बंकर, कोतघर, मन्दिर तथा रैथाने काठे बार्दलीलाई जस्ताको तस्तै संरक्षण गर्ने प्रतिबद्धता जनाइएको छ ।
प्रामाणिक तिथिमा विजय दिवस
इतिहासविद्हरूको तथ्यका आधारमा सिन्धुलीगढी युद्धको वास्तविक विजय तिथिलाई नै आधिकारिक रूपमा स्थापित गरी आगामी वर्षदेखि भव्य रूपमा ‘विजय दिवस’ मनाउन पालिकाहरूले नीतिगत निर्णय गर्नुपर्ने संकल्प पारित गरिएको छ ।
श्वेतपत्रमा सुनकोशीमा अवैध क्रसर दोहन रोकी साहसिक र्याफ्टिङ र माझी समुदायको डुंगा सफारी, मरिणमा दनुवार हस्तकलाका लागि ‘डिजिटल क्राफ्टिङ ल्याब’, चुरेमा चरा अवलोकन ट्रेल र बीपी राजमार्गमा बिचौलिया–मुक्त ‘स्मार्ट हाटबजार’ सञ्चालन गर्ने विषय बजेटमा समेट्न पालिकाहरूलाई आग्रह गरिएको छ ।
कार्यक्रममा होटल एसोसिएसन सिन्धुलीका अध्यक्ष चन्द्रदेश श्रेष्ठले जिल्लाका सम्पदा संरक्षण गर्दै दिगो पर्यटन विकास र ग्रिन हस्पिटालिटीका लागि वर्षभरि सञ्चालन गरिने विशेष पर्यटन प्रवर्द्धन कार्यतालिका बनाएर काम अघि बढाउने घोषणा गरे ।
सिन्धुली प्रवर्द्धन गर्नै वर्षैभरि विभिन्न कार्यक्रम गर्ने तालिका अघि सारिएको छ । जस अनुसार १५ असोजमा सिन्धुलीगढी विजय उत्सवमा ‘ग्रिन हस्पिटालिटी’ अभिमुखीकरण र परम्परागत/आदिवासी (माझी/दनुवार) खानाका परिकारको देशव्यापी प्रवर्द्धन गर्ने, मंसिर/पुसमा गोलन्जोर र फिक्कलका जुनार उत्पादक किसानसँग सिधै साझेदारी गरी ‘जुनार बगैँचा भ्रमण’ प्याकेज सहजीकरण, माघमा सिन्धुलीगढीका किल्लालाई आधार बनाएर ‘फोर्ट स्टेज राइड’ साइक्लिङ व्यवस्थापन गरिने, फागुनमा मरिण, हरिहरपुरगढी र सुनकोशी क्षेत्रका होमस्टे र होटलहरूमा ३ दिने विशेष आतिथ्य तालिम सञ्चालन गर्ने योजना छ ।
त्यसैगरी गर्मी हुने वैशाख/जेठमा फिक्कल र महाभारतका डाँडाहरूमा रिमोट कामदार आकर्षण गर्न ‘वर्क फ्रम नेचर’ प्याकेजको संस्थागत सुरुवात गर्ने योजना अघि सारिएको छ । समृद्ध सिन्धुली अभियान, स्टोरी साइकल र होटल एसोसिएसन सिन्धुलीले कार्यक्रम आयोजना गरेका हुन् ।


















