१ साउन, काठमाडौं । निरन्तरको वर्षापछि आएको बाढी र पहिरोका कारण शुक्रबार बिहानसम्म प्रमुख राजमार्गका विभिन्न खण्ड प्रभावित भएका छन् ।
नेपाल प्रहरीले आज बिहान ६ बजे सार्वजनिक गरेको विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ ।
कोशी प्रदेशको इलाम नगरपालिका–९ राजदुवाली (झापा–तालतुङ सडक) खण्डमा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त सडकको वैकल्पिक मार्ग भने सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।
यसैगरी भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ । त्यहाँ वैकल्पिक मार्गसमेत प्रयोगमा रहेको जनाइएको छ ।
बागमती प्रदेशमा सबैभन्दा बढी प्रभाव परेको छ । काभ्रेपलाञ्चोकस्थित खुर्कोट–नेपालथोक–काभ्रेभञ्ज्याङ सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण बिहीबार साँझ ६ बजेदेखि सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
मकवानपुरको हेटौंडा–भिमफेदी–बागमती–ललितपुर (कान्तिलोकपथ) सडकखण्डमा पनि सम्भावित बाढी र पहिरोको जोखिमका कारण अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोकिएको छ । भिमफेदी गाउँपालिका–८ भैँसेडाँडादेखि ललितपुरतर्फ भने एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।
यही जिल्लाको बकैया गाउँपालिका–११ घट्टेपाखा क्षेत्रमा पहिरो खसेपछि कान्तिलोकपथ पूर्ण रूपमा बन्द भएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा पहिरो खस्दा अरनिको राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले
गण्डकी प्रदेशमा कास्कीको अन्नपूर्ण गाउँपालिका–८ सार्दीखोला क्षेत्रमा अविरल वर्षाका कारण नयाँपुल–घान्द्रुक सडकखण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।
बागलुङको काठेखोला गाउँपालिका–६ इनारपानीस्थित मध्यपहाडी लोकमार्गमा पनि पहिरोका कारण एकतर्फी सवारी सञ्चालन गरिएको छ ।
लुम्बिनी प्रदेशअन्तर्गत अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ डुङ्गेखोला क्षेत्रमा पहिरोका कारण सालझण्डी–ढोरपाटन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
गुल्मीमा भने तीन स्थानमा पहिरोका कारण सडक प्रभावित भएका छन् । कालीगण्डकी गाउँपालिका–२ रानीवास तथा वडा नं. ५ पुर्तिघाट क्षेत्रमा कालीगण्डकी करिडोरमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ । त्यस्तै, रुरु गाउँपालिका–२ साउने क्षेत्रमा रिडी–वामी सडकखण्ड पनि एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले वर्षाका कारण प्रभावित सडकमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन तथा यात्रा अघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ ।


















