Monday, December 23

विद्यार्थी कम भएपछि छत्रकोटका ९ विद्यालय समायोजन, १ खारेज

४ वैशाख, गुल्मी । विद्यार्थी संख्या कम भएपछि गुल्मीको छत्रकोट गाउँपालिकामा ९ वटा विद्यालय समायोजन गरिएको छ । पालिकामा रहेको एउटा विद्यालय खारेज भएको छ भने सात वटा विद्यालयको कक्षा घटाइएको छ ।

वडा नं २ मा रहेको पिपलडाँडा आधारभूत विद्यालय, १ को जनचेतना आधारभूत विद्यालय, २ कै ठूलापोखरा आधारभूत विद्यालय र वडा नं ३ मा रहेको भगवती आधारभूत विद्यालयलाई समायोजन गरिएको छ ।

त्यस्तै वडा नं ३ को खड्गदेवी आधारभूत विद्यालय र भानु आधारभूत विद्यालय, ५ को जनता आधारभूत विद्यालय, ६ को आलम आधारभूत विद्यालय र कालिका आधारभूत विद्यालय समायोजना गरिएको गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक विनोद न्यौपानेले बताए ।

छत्रकोट वडा नं ४ मा रहेको कालिका बाल विकास केन्द्र भने खारेज भएको छ ।

गाउँपालिकाले बुद्धिविनोद आधारभूत विद्यालय छत्रकोट–१, पिपलपोखरा आधारभूत विद्यालय छत्रकोट–१, जनशिक्षा आधारभूत विद्यालय छत्रकोट–३ को कक्षा घटाएको छ ।

त्यस्तै सरस्वती आधारभूत विद्यालय छत्रकोट–५, देविस्थान आधारभूत विद्यालय छत्रकोट–३, जनज्योति आधारभूत विद्यालय छत्रकोट–४ र ज्योति आधारभूत विद्यालय छत्रकोट–५ को कक्षा घटाइएको छ ।

न्यौपानेका अनुसार यीमध्ये विद्यार्थी संख्याका आधारमा कुनै विद्यालयलाई ५ कक्षासम्म र कुनैलाई ६ कक्षासम्म मात्रै पढाइ हुने व्यवस्था गरिएको छ । यसअघि यी विद्यालमा ८ कक्षासम्म पढाइ हुँदै आएको थियो ।

गाउँपालिकामा रहेका ३७ वटा विद्यालयमध्ये ९ वटा मावि र २८ वटा आधारभूत विद्यालय थिए । समायोजन र खारेजीपछि ९ वटा मावि र १८ वटा आधारभूत विद्यालय गरी २७ वटा विद्यालय कायम भएका छन् ।

विद्यालयहरूमा विद्यार्थी संख्या अत्यन्तै न्यून हुँदै गएपछि समायोजन गरिएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । समायोजन भएर अर्को विद्यालयमा जाने विद्यार्थीहरूको लागि यातायात खर्च वापतको रकम गाउँपालिकाले व्यहोर्ने अध्यक्ष पाण्डेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *