Monday, December 23

टिमका लागि भरपर्दो अलराउण्डर बोपारा

१३ मंसिर, काठमाडौं । रविन्दर सिंह बोपारा अर्थात् रवि बोपारा २०१५ अघि इंग्ल्याण्डको क्रिकेट सेटअपमा चिनिने नाममध्येकै एक थिए । सन् १९८५ मा लण्डनको एक ब्रिटिश-पञ्जाबी परिवारमा जन्मिएका बोपारालाई सानै उमेरमा क्रिकेटप्रति रुचि बढ्यो। उनी स्थानीय क्रिकेट क्लबहरूमा जान थाले र क्रिकेटका आधारभूत सीपहरू विकास गरे।

बोपाराले आफ्नो क्रिकेट प्रतिभा फ्रेनफोर्ड क्लबमा निखार्न थाले। दाँयाहाते ब्याटिङ तथा मिडियम पेस बलिङ गर्ने उनको क्रिकेट यात्रा एसेक्स ब्वाइज क्लबको तर्फबाट यू-१४ प्रतियोगितामा प्रतिनिधित्व गर्ने क्रममा सुरु भयो। एसेक्स क्लब बोपाराको करियरभरि घरजस्तै बन्यो, जहाँ उनले क्रमिक रूपमा प्रगति गर्दै इंग्ल्याण्ड क्रिकेटमा आफ्नो पहिचान बनाए।

बोपाराले एसेक्स ब्वाइज क्लबबाट उमेर समूह क्रिकेटमा फड्को मारे । १७ वर्षको उमेरमा उनले प्रतिष्ठित काउन्टी क्रिकेटमा एसेक्सको तर्फबाट डेब्यू गरे। यसले उनलाई विभिन्न उमेर समूहका तहमा इंग्ल्याण्डको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर दिलायो। बोपारा २००४ को यू-१९ विश्वकपका लागि इंग्ल्याण्डको टोलीमा मध्यक्रमका ब्याटरको रूपमा समावेश भए।

२००५ को सिजन बोपाराको क्रिकेट करियरको लागि निर्णायक बन्यो। २० वर्षीय बोपाराले ८८० फर्स्ट-क्लास रन बनाए, जसमा उनको पहिलो फर्स्ट-क्लास शतक पनि समावेश थियो। यो प्रदर्शनले उनलाई पहिलो पटक इंग्ल्याण्ड ए टोलीमा स्थान दिलायो र इंग्ल्याण्डको २००६ च्याम्पियन्स ट्रफीको प्रारम्भिक टोलीमा पनि स्थान दिलायो।

तर बोपाराले इंग्ल्याण्डको सिनियर टोलीबाट डेब्यू गर्न भने अझै पर्खनु पर्यो। केभिन पिटरसनलाई दुर्भाग्यपूर्ण रूपमा लागेको चोटका कारण उनी २००७ मा अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजबाट बाहिरिएपछि पिटरसनको विकल्पका रूपमा बोपारा टोलीमा समावेश भए। उनले २ फेब्रुअरीमा सिड्नीमा अस्ट्रेलियाविरुद्ध टेस्टमा डेब्यू गरे। आठौं नम्बरमा ब्याटिङ गर्दै उनले रन धेरै नबनाएपनि बलिङबाट माइक हसीको विकेट लिए।

यसपछि बोपारालाई २००७ को एकदिवसीय विश्वकप टोलीमा पनि समावेश गरियो। सुपर एट चरणमा श्रीलंकाविरुद्ध अर्धशतक प्रहार गर्दै उनले म्यान अफ द म्याच पुरस्कार जिते। उनले क्यानडा र श्रीलंकाविरुद्ध केही महत्त्वपूर्ण साझेदारी गरे। तर इंग्ल्याण्ड सुपर ८ बाट बाहिरिएको थियो ।

२००९ मा उनले टेस्ट क्रिकेटमा नयाँ उचाइ हासिल गरे। वेस्ट इन्डिजविरुद्ध लगातार तीन टेस्ट शतक प्रहार गर्दै उनले यस्तो कीर्तिमान रच्‍ने पाँचौं इंग्लिस खेलाडी बने। उनी २००९ को टी२० विश्वकप टोलीमा पनि समावेश भए। प्रतियोगितामा उनले वेस्ट इन्डिजविरुद्ध ५५ रन बनाए।

विश्वकपपछि बोपाराले अस्ट्रेलियाविरुद्धको एसेज सिरिजमा राम्राे प्रदर्शन गर्न सकेनन् । यसका बाबजुद बोपारा एकदिवसीय टोलीमा भने नियमित रूपमा समावेश भइरहे ।

बोपारालाई इंग्ल्याण्डको २०१० टी२० विश्वकपको अन्तिम टोलीमा समावेश गरियो। उनले न्यूजिल्याण्डविरुद्ध एक खेल खेले तर अन्य खेलहरूमा प्लेइङ ११ मा परेनन्।

इंग्ल्याण्डले फाइनलमा अस्ट्रेलियालाई हराउँदै प्रतियोगिता जितेको थियो।भारत, श्रीलंका र बंगलादेशले संयुक्त रूपमा आयोजना गरेको २०११ को एकदिवसीय विश्वकपका लागि बोपारालाई इंग्ल्याण्डको टोलीमा राखियो। २०११ को एकदिवसीय विश्वकपमा उनको दक्षिण अफ्रिकाविरुद्ध ९९ रनको साझेदारीले इंग्ल्याण्डलाई महत्त्वपूर्ण समूह चरणको खेल जित्न मद्दत गर्यो। ६० रनको पारीले उनलाई प्लेयर अफ द म्याच बनायो। राम्रो प्रदर्शनका बावजुद बोपारालाई विश्वकपभरि टोली व्यवस्थापनले स्पिनरलाई समायोजन गर्नका लागि उनलाई नियमित टोलीमा राखिएन।

बोपाराले २०१२ मा आयरल्याण्डविरुद्ध आफ्नो पहिलो एकदिवसीय शतक बनाए। २०१३ को च्याम्पियन्स ट्रफीमा, बोपाराले इंग्ल्याण्डलाई फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेले। उनले फाइनलमा तीन विकेट लिए र ३० रन बनाए, तर इंग्ल्याण्ड भारतसँग हार्यो।

२०१५ मा इंग्ल्याण्डको ‘बिर्सनलायक’ एकदिवसीय विश्वकपपछि बोपारालाई टोलीबाट बाहिर राखियो । टिम व्यवस्थापनले नयाँ खेलाडी र आक्रमक खेल शैलीलाई प्राथमिकता दिने भन्दै इंग्ल्याण्डको एकदिवसीय टोलीमा धेरै परिवर्तनहरू गर्न थाल्यो।

बोपाराको व्यापक अनुभव र सर्वाङ्गीर्ण क्रिकेट कौशलले उनलाई आउँदो नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजको लागि महत्त्वपूर्ण खेलाडी बनाउन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *