१८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो दिन दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो १ बजे सुरु हुनेछ ।
सोमबारको पहिलो खेलमा काठमाडौंलाई ५ विकेटले हराएको चितवन भोलिपल्ट नै दोस्रो खेल खेल्न लागेको हो । पोखरा एभेन्जर्स भने आफ्नो पहिलो खेल खेल्दैछ ।
यस खेललाई दुई कुशलबीचको कौशलताको खेल भनेर पनि भन्न सकिन्छ । चितवनको कप्तानमा कुशल मल्ल छन् भने पोखराको कप्तानमा कुशल भुर्तेल छन् ।
चितवनले पहिलो खेलको जितको लयलाई निरन्तरता दिन चाहनेछ भने पहिलो खेल खेल्न लागेको पोखरा सुखद सुरूवात गर्ने दाउमा हुनेछ ।
चितवनलाई काठमाडौंसँग भएको पहिलो खेलमा भेट्रान खेलाडी शरद भेषावकर र युवा खेलाडी सन्तोष कार्कीले क्रिजमा टिकेर खेल्दै जिताएका थिए ।
काठमाडौंलाई १११ रनमै रोक्न बलरहरूले पनि राम्रो प्रदर्शन गरेका थिए । काठमाडौंसँग ५ विकेट लिएका बलर सोहेल तनविरको भूमिका महत्वपूर्ण हुनेछ ।
तनविरलाई अर्का बाँयाहाते पेसर रिजन ढकालको साथ हुनेछ भने मिडियम पेसमा अमरसिंह राउटेला र रवि बोपाराले पनि बलिङ गर्ने छन् । त्यसैगरी लेफ्ट आर्म स्पीनमा कप्तान कुशल मल्ल आफैं छन् भने उनलाई लुक बेनकेन्सटाइनले लेगस्पीनमार्फत साथ दिनेछन् ।
ब्याटिङमा चितवनले पहिलो खेलकै अर्डरलाई निरन्तरता दिने देखिन्छ । दीपक र हसनले ओपन गर्दा कुशल मल्ल, लुक, रवि बोपारा र शरद त्यसपछि आउने छन् । जान निकोल लफ्टी इटनलाई पहिलो खेलमा आराम दिइएको थियो । उनी आज खेल्न सक्छन् तर त्यसको लागि एकजना विदेशी बाहिर बस्नुपर्ने हुन्छ ।
उता पोखराका लागि दुई बलर आकाश चन्द र सागर ढकालको भूमिका महत्वपूर्ण हुन सक्छ । उनीहरूलाई बास डे लिड, रेमन रेइफर र म्याट क्रिट्लेजस्ता बलरले पनि साथ दिने छन् । घरेलु खेलाडी तृत राज दास र बिपिन खत्रीको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
पोखराको ब्याटिङमा ओपनिङ कप्तान तथा राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेलसँगै दिलीप नाथ वा माइकल लिस्कले गर्न सक्छन् । त्यसैगरी बास डे लिड, किरण ठगुन्ना, बिपिन खत्री, नारायण जोशीले मिडल अर्डर सम्हाल्नुपर्ने छ ।
टीयुको पिचमा हालसम्मका ३ खेलमा बलरहरूलाई त्यसमा पनि विशेषगरी स्पीनरहरूलाई धेरै सहयोग मिलेको देखिएको छ । कप्तानले टस जितेर बलिङको निर्णय गर्न सक्छन् ।
खेल : चितवन राइनोज भर्सेस् पोखरा एभेन्जर्स
मिति र समय : २०८१ मंसिर १८, दिउँसो सवा १ बजे
स्थान : त्रिवि क्रिकेट मैदान, कीर्तिपुर
चितवनको सम्भावित ११ : हसन एइसाखिल, दीपक बोहरा, कुशल मल्ल, लुक बेनकेन्सटाइन/जान निकोल लफ्टी इटन, बिपिन रावल, रवि बोपारा, सन्तोष कार्की, शरद भेषावकर, अमरसिंह राउटेला, सोहेल तनविर, रिजन ढकाल
पोखराको सम्भावित ११ : कुशल भुर्तेल, दिलीप नाथ, माइकल लिस्क, बास डे लिड, बिपिन खत्री, किरण ठगुन्ना, नारायण जोशी, रेमोन रेइफर, म्याट क्रिट्ले, तृत राज दास, आकाश चन्द, सागर ढकाल